मुस्ताङमा भेडा-च्यांग्राको भाउ महंगियो
जोमसोम : विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिम यथावत रहिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा दसैं लक्षित भेडा-च्याङ्ग्रा खरिद/बिक्रीको व्यापार बुधबारदेखि गर्मिन थालेको छ । भेडा/च्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर /खोरमै धाउन थालेका छन् ।
बिहीबारसम्म करिब ३ दर्जन बढी भेडा/च्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ । पोखरा-काठमाडौंलगायतका सहरमा पुर्याउने उद्देश्यले भेडा-च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् ।
कोरोना माहामारीका कारण उत्तरी कारलानाकाबाट तिब्बती भेडा/च्याङ्ग्रा नआएपछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडा/च्याङ्ग्राको मुल्य गर्मिएको हो । उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु पशुपालकको खोरमा पुगेर खरित्ने गरिएकाले स्थानीय भेडा-च्याङ्ग्राको भाउ बढेको हो । भेडा—च्याङ्ग्रा खरिद गर्न पोखरा/काठमाडौं,पर्वत,तनहुँ ,स्याङ्जा ,बाग्लुङ र म्याग्दीलगायतका जिल्लाबाट मुस्ताङ आएका हुन् ।
गतवर्ष मुस्ताङमा २३ हजार भेडा/च्याङ्ग्रा जिल्ला बाहिरिएको थियो । तर, यसवर्ष कोरोना कहरका कारण गतवर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडा—च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको जोमसोमका स्थानीय पशुपालक किसान भुपेन्द्र शेरचनले जानकारी दिए ।
यसवर्ष तिब्बतबाट भेडा-च्याङग्रा नआएकाले मुस्ताङमा च्याङ्ग्राको भाउ महंगिएको उनले बताए । उनका अनुसार यसवर्ष ९ हजार भन्दा बढी च्याङ्ग्रा जिल्लाबाट नजाने उल्लेख गरे । 'यो वर्ष एकदमै न्युन संख्यामा भेडा/च्याङ्ग्रा जोमसोम झरेको छ ।मुस्ताङको ३ स्थानीय तहबाट करिब ७ हजार र डोल्पाबाट करिब १५ सय भेडा-च्याङ्ग्रा आउन सक्छ,' शेरचनले भने ।
हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य प्रर्वधक र स्वादिलो हुने शेरचनले जानकारी दिए । उनले हिमाली लेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा लगायतका चौपायाले हिमाली वन्य जटिबुटी सेवन गर्ने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिएको हो । उनले यसवर्ष किसानले कोरोना कहरकै कारण पशुपालकले भेडा—च्याङग्राको सुहाउँदो मुल्य पाएको बताए ।' गत वर्ष जोमसोममै खरिद बिक्री गर्ने प्रचलनले बिचौलियाले नाफा खाने चलन थियो , उनले भने, 'तर ,यस वर्ष व्यापारी किसानको खोरमै पुगेकाले बिचौलियाले खाने नाफा किसानलेनै पाएका छन् ।'
काठमाडौं नयाँ बसपार्कबाट भेडा—च्याङ्ग्रा खरिद गर्न मुस्ताङ आएका अर्जुन ठकुरी भन्छन्, 'तिब्बतबाट भेडा/च्याङ्ग्रा आएन ,यहाँका किसानको खोरमा ७/८ हजार मात्रै च्याङ्ग्रा रहेछन् , उनले भने, 'पशुपालकको खोरमै च्याङ्ग्राको मुल्य २७ देखि २८ हजार सम्म तिर्नु पर्यो । ढुवानी जोडेर काठमाडौं पुर्याउँदा छोइसक्नु हुँदैन ।'
उनले मुस्ताङमा काठमाडौंका खसी बोका व्यापारीसग समन्वय गरी यहाँ आएको भएपनि यही च्याङ्ग्राको मुल्य बढी परेकाले काठमाडौंमा बिक्री गर्न समस्या पर्ने बताए ।जोमसोमका स्थानीयका अनुसार शुक्रबारसम्म जोमसोमबाट करिब ३ हजार भेडा/च्याङ्ग्रा झरेको जनाएका छन् ।
अब उपल्लो मुस्ताङबाट बढीमा ५ हजारको संख्यामा भेडा/च्याङ्ग्रा झर्ने अनुमान उनीहरको ठम्याइ छ ।म्याग्दी घाराका च्याङ्ग्रा व्यापारी बलबहादुर बडुवालले मुस्ताङमै पर्याप्त भेडा—च्याङ्ग्रा नभएको बताए । उनले गत वर्ष १९ हजारमा रोजा च्याङ्ग्रा खरिद गरेको भएपनि यसवर्ष च्याङ्ग्राको मुल्य सुन्दै सातो गएको जानकारी दिए ।उनले भने, 'गतवर्ष ९० गोटा भेडा च्याङ्ग्रा लिएको थिए । तर, च्याङ्ग्राको मुल्य चर्को भएकाले अहिले ४५ गोटा च्याङ्ग्रा मात्र खरिद गरेको छु ।'
कोरोना कहरले गालेको यसवर्षको दसैंमा सहर/बजारमा एकदमै न्युन भेडा/च्याङग्रा पुग्ने संकेत गरिएको छ । मुस्ताङबाट झरेका भेडा /च्याङग्रा पनि केही म्याग्दी,पर्वत र बाग्लुङ र करिब १५ सय भेडा/च्याङग्रा काठमाडौं र पोखराका लागि ३ हजार मात्र भेडा/च्याङग्रा पुग्ने लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आकंलन गरे ।
उपल्लो मुस्ताङको लोमान्थाङमा ३ हजार ,लोघेकरबाट २ हजार र वारागुङ मुक्तिक्षेत्रबाट २ हजार भेडा/च्याङग्रा बिक्री भएको अध्यक्ष बिष्टको अनुमान छ । यसवर्ष चिनियाँ पक्ष र नेपाल पक्षले सीमानाका कडाइ गरेकाले तिब्बतबाट भेडा/च्याङ्ग्रा नझरेको उनको भनाई छ । कोरोना कहरका कारण पर्यटन व्यवसाय सुस्ताएपनि मुस्ताङका कृषि तथा पशुपालक किसानले भेडा/च्याङग्रा,स्याउ र आलु लगायतका कृषि जन्य वस्तुको बिक्रीबाट राम्रो आम्दानी लिएको अध्यक्ष बिष्टले बताए । उनले मुस्ताङका ३ स्थानीय तहको करिव ३ दर्जन गाउहरुमा भेडा/च्याङग्रा पालन गरेको जनाए ।
पशुपंक्षीजन्य पदार्थको आन्तरिक ओसार/पोसार तथा बिक्री वितरणका लागि पशु निरोगिताको भेटनरी प्रमाणपत्र आवश्यकता पर्छ । यसवर्ष स्याउ परियोजना इकाइ जोमसोम र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकले भेटेनरी प्रमाणपत्र उपलब्ध गराएको वरिष्ठ पशु चिकित्सक सुरेश थापाले जानकारी दिए । उनले प्रति गोटा भेडा/च्याङ्ग्राको रु २० का दरले प्रमाणपत्र दिएको उल्लेख गरे । सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले सरकारले भेटेनरी परिक्षण अनिवार्य गराएको पशु चिकित्सक डा. थापाको भनाइ छ ।
यस्तै ,लोघेरक दामोदरकुण्ड गापाले भेडा/च्याङ्ग्रा बिक्री गरे वापतको कर पशुपालकबाट प्रति गोटा ५ रुपैयाको दरले उठाएको छ । वारागुङ मुक्तिक्षेत्रले भेडा/च्याङग्रा निकासी करका लागि १ लाख ५० हजारमा टेन्डर गरेको गापाले जनाएको छ । मुस्ताङमै भेडा/च्याङग्राको मुल्य महकिएपछि मुस्ताङीले भेडा/च्याङ्ग्रा किनेका छैनन् ।