भारतीय टिभी च्यानलको हर्कत: टीआरपी बढाउन धन्धा चलाइँदै, प्रहरीको अनुसन्धान सुरु
नयाँदिल्ली : भारतका केही टेलिभिजन च्यानलले अवैध तरिकाले आफ्नो टीआरपी बढाउने गरेको भन्दै मुम्बइ प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले फल्स टीआरपी गिरोहको भण्डाफोर गरिने पनि घोषणा गरेको छ ।
प्रहरीका अनुसार अर्नव गोस्वामी प्रधान सम्पादक रहेको रिपब्लिक टिभीसहित अरु तीन टिभी च्यानल पनि अनुसन्धानको घेरामा छन् । प्रहरीले चार जनालाई पक्राउ गरी सोधपुछ गर्न थालिसकेको छ ।
प्रहरी कमिस्नर परमवीर सिंहले ती टिभी च्यानलले टीआरपी बढाउन दर्शकहरुलाई पैसा बाँड्ने गरेको अनुसन्धानबाट थाहा भएको बताए । रिपब्लिक टिभीले भने प्रहरीले आफूहरुमाथि गलत आरोप लगाएको दावी गरेको छ । हिरासतमा रहेका व्यक्तिले भने पैसा दिएर रिपब्लिक टिभीले टीआरपी किन्ने गरेको आरोप सही भएको बयान दिए ।
प्रहरीका अनुसार ती टिभी च्यानलले टीआरपी बढाउन केही घरलाई दुरुपयोग गर्दैआएका छन् । जहाँ उनीहरुले घरमालिकलाई पैसा तिरेर दिनभरी एउटै च्यानल हेर्न लगाएका थिए। साथै टीआरपी मिटर जडान गरी केही खाली घरमा दिनभर टिभी च्यानल खोलेर छाडिदिने गरेको पनि पाइयो । यसरी घर प्रयोग गरेवापत र टिभी च्यानल हेर्न लगाए वापत घरमालिकलाई टिभी च्यानलका मालिक वा एजेन्सीले केही रकम दिने गरेको पनि खुलासा भएको छ ।
मुम्बइमा हन्सा नामक एजेन्सीका मान्छेहरुले च्यानलसँग मिलेर यस्तो धन्धा चलाउने गरेको प्रहरीले खुलासा गरेको हो । केही रिपोर्टले बताए अनुसार भारतमा पछिल्लो समय टीआरपी बढाउन मूलधारका टिभी च्यानलले गम्भीर र संवेदनशील प्रकृतिका विषयमा पनि सौदावाजी गर्ने गरेका छन् ।
हालैको एक रिपोर्ट अनुसार आजतक च्यानललाई रिपब्लिक टिभीले पछि पारेको थियो । रिपब्लिक च्यानल थुप्रै विषयमा असन्तुलित अभिव्यक्ति दिएर विवादित च्यानल बनेको छ । भारतको ३४ हजार करोडको विज्ञापन बजारमा टीआरपीको महत्व आर्थिक आम्दानीका हिसावले प्राथमिकतामा पर्ने गर्छ । व्यवसायीले टिभीमा विज्ञापन दिनुअघि त्यस टिभीको 'टेलिभिजन रेटिङ प्वाइन्ट' (टीआरपी) हेर्ने भएकाले टिभी सञ्चालकलाई विज्ञापन प्राप्त गर्न टीआरपी बलियो आधार मानिन्छ ।