लुम्बिनी प्रदेश : राजधानी पूर्वाधार प्राधिकरणले थाल्यो काम
दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानीको व्यवस्थापनका लागि राप्ती गाउँपालिकाका, शितगंगा नगरपालिका र गढवा गाउँपालिकाको विभिन्न स्थानको अध्यन सुरु गरिएको छ।
शनिबार पूर्वाधार विकास प्राधिकरणसहितको टोलीले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी, लालमटियाँ, घण्टदेव, पाँखापानी, शितगंगा नगरपालिकाको लापे, सातमारा गढवा गाउँपालिकाको कालाकाटे पश्चिमका क्षेत्रको अवलोकन गरेको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, प्रदेश सांसद इन्द्रजित चौधरी र पूर्वाधार विकास प्राधिकरण सहितको टोलीलाई सम्भावित क्षेत्रको अवलोकन गरेको हो।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको व्यवस्थापनका लागि पूर्वाधार विकास प्राधिकरणको कार्यालय सुचारु गर्नका लागि विभिन्न स्थानको भौतिक संरचना तथा कार्यालय क्षेत्रको सम्भाव्यता समेत खोजी गरिएको छ।
प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैया, मुख्यमन्त्री तथा मन्त्रालयका सचिव भरतमणि सुवेदी, प्रदेश पूर्वाधार प्राधिकरणका वासु पौडेल, गौतम बुद्ध विमानस्थल भैरहवाका निर्देशक टेकराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, तीनै पालिकाका जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागीता रहेको अवलोकनको क्रममा अबको राजधानीको स्वरुपलाई भर्जिन ल्याण्डबाट दीर्घकालीन योजनाका साथ मास्टर प्लान निमार्ण गरेर व्यवस्थित सहर बनाउने भन्दै जग्गा विक्री वितरणमा पूर्ण रोक लगाइएको छ।