टिकटकमाथि पाकिस्तानले प्रतिबन्ध लगायो
इस्लामाबाद : चिनियाँ एप टिकटकमाथि पाकिस्तान सरकारले पनि प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमा टिकटकले अनैतिक कन्टेन्ट रोक्न असफल भएकोमा प्रतिबन्ध लगाइएको शुक्रबार सरकारी अधिकारीहरुले जानकारी दिए । भारत सरकारले प्रतिबन्ध लगाएको केही महिनामै पाकिस्तानले पनि उक्त एपमाथि प्रतिबन्ध लगाएको हो ।
टिकटकमा आउने भिडियो तथा अन्य सामग्रीलाई लिएर यसअघि पनि अन्य देशमा पनि विवाद हुने गरेको थियो । यद्यपि पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाइएपछि ट्वीटरमा दिनभर ह्यासट्याग टिकटक नै चलाइएको छ ।
चीनसँग निकट सम्बन्ध रहेको भनिएको पाकिस्तानले अचानक टिकटकमाथि प्रतिबन्ध लगाएकोमा विभिन्न कोणबाट टिप्पणी आएका छन् । पाकिस्तानमै केहीले सरकारको यस्तो कदमको प्रशंसा गरेका छन् भने केहीले विरोध पनि गरे । यद्यपि भारतले टिकटकमा प्रतिबन्ध लगाएको निर्णयलाई सीमा विवादका कारण उत्पन्न दुई देशबीचको मनमुटावसँग जोडेर पनि व्याख्या गरिएको थियो । तर पाकिस्तानका लागि चीन एक बलियो सहयोगी मुलुक हो ।