गाउँलेलाई हात्तीले हैरान: खेदाउने उपाय शंख-घण्टा र झ्यालीकै भर
झापा : भद्रपुर नगरपालिका वडा नम्बर १० की लक्ष्मी भट्टराईको पक्की घर बिहानीपख ३ बज्नै लाग्दा भूकम्प गए झैँ गरी हल्लियो । लक्ष्मीले घरको भित्री ढोका खोलेर बाहिर हेर्दा त घर भन्दा ठूलो हात्ती ठिङ्ग उभिएको देखिन् ।
लक्ष्मीले हेर्दै गर्दा हात्तीले सुँड घरभित्रै छिराएर घर अगाडीको सिङ्गो पर्खाल नै ढलायो । पिँढीमा छोडाएर राखेका २ बोरा दाना मकै आँगनभरी छरिएका थिए । लक्ष्मी भन्छिन्, ‘एकल महिला छु कराम भने आफैँलाई सुँडले बेर्लान् भन्ने डर ।’ उज्यालो हुँदै थियो । करिब १ घण्टापछि छिमेकीले पनि हात्ती आएको थाहा पाए । सबैले शंख बजाउन थाले । लक्ष्मीले पनि झ्याली बजाउन थालिन् । आँखा भरी आँसु पार्दै लक्ष्मी भन्छिन्, ‘बल्ल हात्ती बाटो तिर मोडिएर आफु थचक्क भुँइमा बसेर धन्न बाँचे भन्दै रुन थालेँ ।’
झापाका केही भागमा जंगली हात्तीको मानव बस्तीमा आक्रमण दैनिक रुपमा बढ्दो छ । एकातिर कोरोनाले दैनिक मजदुरी खोसेको अवस्था छ । अर्कोतिर घरमा अलिकति भएको अन्न र घर वरिपरीको खेती पनि हात्तीले कुल्चिएर केही राखेको छैन ।
देशमा स्थानीय र क्षेत्रीय चुनाव भए । चुनावमा हात्ती प्रभावित क्षेत्रका नेताहरुले उठाउँदै आएका मुल मुद्दा पनि हात्तीको समस्या सधैँको लागि निवारण गरिदिने भन्ने थिए । जंगली हात्तीको दैनिकको आक्रमणले नेताका भाषण एकादेशको कथामा मात्र सिमित भएका छन् । अन्ततः हात्ती पीडित क्षेत्रका बासिन्दाको पीडा भने उस्तै छन् । हात्ती खेदाउने सहारा भने शंख, घण्टा र झ्याली भन्दा अरु केही छैन ।
‘दिनभरीको मजदुरी, साँझ यसो ढल्किन खोज्यो चारैतिर बाट होहल्ला सुरु भइहाल्छ निदाउनै पाइँदैन’ भद्रपुर १० का राजु हस्दाले भने । हात्ती गाउँ छिरेपछि छोराछोरी च्यापेर गाउँतिर भाग्नुपर्छ । कच्चा घर भएका उनी जस्तै अरु छिमेकीको पनि हालत उस्तै हो । राजु भन्छन्, ‘चुनावका बेला नेताका भाषण सुन्दा अब हात्तीबाट पाउने दुख हट्ने भयो भन्ने हुन्छ । जितेर गएपछि फर्केर हेर्दैनन् ।’
बिर्तामोड नगरपालिका वडा नम्बर ८ का गणेश लुईटेलको पक्की घरको पछाडीको पाटो गत बिहीबार हात्तीले लडायो । अहिले उनी छिमेकीका घरमा बसेका छन् । लुईटेल भन्छन्, ‘कच्चा घर थियो पक्का बनाए । अहिले पक्का घर पनि भत्काइदियो अब कता जानु ।’
जिल्लामा २०६६/६७ सालदेखि हालसम्म घरपालुवा हात्ती द्वन्द्वमा परेर १२ वटा जंगली हात्ती र ४२ जना मान्छेको मृत्यु भइसकेको छ । जंगली हात्तीहरुलाई मान्छेले गुलेली हान्ने, पुच्छर र कानमा आगो लगाएकै कारण मर्छन् भने कुुनै खाना अभावले छटपटिएर मृत्यु भएको छ । क्षतिका निवेदन जिल्ला डिभिजन वन कार्यालयमा चाङ लागेका छन् । दैनिक १, २ वटा गुनासा र क्षतिपूर्तिको लागि भन्दै हात्तीप्रभावित क्षेत्रका बासिन्दा आउने गरेको जिल्ला वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
पहिले घना जंगल भएको क्षेत्र झापा जिल्ला अहिले जम्मा ११ प्रतिशत मात्र वन जंगल बाँकी छ । जलथल, चारआली, बाहुनडाँगीको तेल पानी क्षेत्र, रतुवामाई परियोजना सबै गरेर जिल्लामा १८ हजार हेक्टर मात्र वनको क्षेत्र छ ।
झापाको जनसंख्या हेर्ने हो भने ८ लाखभन्दा बढी छ । बढ्दो जनघनत्व र अर्कोतिर मासिँदै गएको वनजंगलले पनि जिल्लामा हात्ती जस्ता ठुला जनावरहरु आहारा खोज्ने क्रममा मानव बस्तीमा छिर्ने गरेको डिभिजन प्रमुख घिमिरेको भनाइ छ । झापामा हात्ती ठूला साना जंगलमा बस्दै आएका छन् । तिनै हात्ती राति र दिउँसै आहारा खोज्नको लागि गाउँ पस्ने क्रममा जनधनको क्षति हुने गरेको छ ।
जिल्लाको कुन क्षेत्रमा जंगली हात्तीको प्रभाव बढी ?
जंगली हात्तीहरुले आफु घुम्ने डुल्ने ठाउँ परिवर्तन गरिराख्छन् । सुरुवाती क्रममा जिल्लाको बाहुनडाँगी क्षेत्रमा झुण्ड झुण्डमा हात्ती आउने गर्थे । बाहुनडाँगीमा सौर्य तारबार लगाएपछि नेपालभित्रै पसिसकेका हात्ती जलथल जंगलसम्म पुग्न थाले ।
वन डिभिजन प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षमा जलथल जंगलमा पनि सौर्य तारबार लगाएपछि पछिल्लो समय हात्ती, बुद्धशान्ति, मेची नगर, कनकाई, विर्तामोड, शिवसताक्षी र भद्रपुर क्षेत्र नजिकैका जंगलमा घुमफिर गर्ने गरेका छन् । तिनै हात्ती दिनभर जंगलतिर बस्ने र साँझ परेपछि बस्तीमा छिर्ने गरेर स्थानीयहरुलाई दुख दिने गरेका छन् ।
रोक्ने प्रयास के भएका छन् ?
लामो समयदेखि जिल्लाका केही भागमा जंगली हात्तीले दुखदिँदै आएका छन् । जंगली हात्तीलाई मानव बस्तीमा छिर्नबाट रोक्नका लागि जिल्लामा दक्षिणी भेग कचनकवलदेखि उत्तरी भेग बाहुनडाँगीसम्म एक सय ५० किलोमिटर हात्ती हिँड्ने बाटो (कोरिडोर) को आवश्यकता छ ।
गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा जिल्लाको दक्षिण भागको जलथल जंगलमा सौर्य तारबार लगाउने काम सम्पन्न भएको छ । उक्त कार्यक्रम वन मन्त्रालयले ग्लोबल टेण्डर लगाउन नसक्ने भएपछि मन्त्रालयले प्रकृति संरक्षण कोषलाई ६ करोडको टेण्डरको जिम्मादियो । जसबाट ३५ किलोमिटर क्षेत्रमा सौर्य तारबार लगाइएको छ । अझै करिब १० किलोमिटर क्षेत्रमा सौर्य तारबार जलथलकै जंगलमा आवश्यक छ । उक्त क्षेत्रमा काम सम्पन्न भइनसकेकाले पनि खाली ठाउँबाट बेला बेलागाउँमा हात्ती छिर्ने गरेकै छन् ।
यो वर्ष देशभरीको लागि भनेर नेपाल सरकारले २ करोड रुपैँया देशभरीका स्थानमा सौर्य तारबार निर्माणका लागि बजेट छुट्टाएको छ । वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे भन्छन्, ‘६ करोडमा जम्मा ३५ किलोमिटर सोलार फेन्सीङ लगाइयो भने अब २ करोड रुपैँया देशभरी भाग लगाएर जिल्लाको भागमा आउने पैसाले रोकथाममा उल्लेखनीय कामको आसा गर्न सकिँदैन ।’
पछिल्लो समय भद्रपुर क्षेत्रमा हात्ती आतंक बढेपछि डिभिजन वन कार्यालयलाई प्रदेश सरकारले दिएको १५ लाख रुपैँयाबजेट चन्द्रगढी सामुदायिकवन र भद्रपुर नगरपालिकाको संयुक्त पहलमा भद्रपुर नगरपालिका वडा नम्बर ९ र १० को जंगल छेउको २.४ किलोमिटर क्षेत्रमा झट्का मेसिन लगाइएको छ । उक्त मेसिनले हात्ती रोक्ने काम भने नभएको स्थानीय बताउँछन् । भद्रपुर ९ की मनमाया भुजेल भन्छिन्, ‘खोइ झट्का मेसिन लगाए पनि हात्ती आउन छाडेनन् । तारबार लडाएर करेन्टको मतलब नै नराखी गाउँमा छिर्छन् । गाउँमा छिरेकालाई गाउँलेले शंख घण्टा बजाएर खेदाउने हो ।’
जिल्लाका हात्ती प्रभावित क्षेत्रका स्थानीय निकायहरुले पनि हात्ती नियन्त्रणका लागि धेरथोर बजेट भने छुट्टाएका छन् । छुटाएको रकम अति कम भएकाले त्यसले के काम गर्ने भन्ने उनीहरुमै अन्योलता छाएको छ । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती भन्छिन्, ‘एउटा मात्र पालिकाले छुट्टाएको बजेटले केही गर्न नसकिने रैछ । सबै पालिकाहरुले एकजुट भएर प्रभावित ठाउँमा लगानी गर्न सकियो भने रोकथामका लागि केही पहल गर्न सकिन्छ ।’
अन्धो हात्तीले पायो उपचार
जिल्लाका सामुदायीक वनहरु र नजिकैका गाउँहरुमा एकोहोरो हिँडिराख्ने घाइते अन्धो हात्तीले अन्ततः उपचार पाएको छ । उक्तहात्ती मेचीनगर नगरपालिका ३ स्थित तेलपानी जङ्गलभित्र बिहीबार भेटिएको थियो ।
हात्तीलाई २ वटा बेहोस बनाउने गोली हानेपछि मात्र बेहोस भएर ढलेको वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । ढलेको हात्तीलाई चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको थियो ।
चिकित्सकको टोलीले ३ घण्टा लगाएर उपचार गरेको थियो । डा. श्रेष्ठले भने, ‘दाहिने आँखाको ज्योती गुमिसकेको छ । देब्रे पनि एकदमै कम देख्छ ।’ डाक्टरकका अनुसार एक हप्ताभित्रमा हात्तीको शरीरका घाउहरु बिस्तारै ठीक हुन थाल्छन् ।