सामाजिक उद्यमशिलता कोष सञ्चालन समिति गठन
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद्ले सामाजिक उद्यमशिलता कोष सञ्चालन समिति गठन गरेको छ। परिषद्का सदस्य शुसिल ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय कोष गठन गरेको हो।
कोष सञ्चालक समितिको सदस्यमा नुवाकोटकी समाजसेवी प्रकृति मैनाली पनि चयन भएकी छिन्। समितिका अन्य सदस्यहरुमा ललितपुरका डा. रोजी जोशी, इलामका अर्जुन भटटराई, काभ्रेका शान्ता न्यौपाने, हुम्लाका नरबहादुर रोकाया, झापाका कमल निरौला, ललितपुरका सुनिल चित्रकार र महोत्तरीका जितेन्द्र पासवान रहेका छन्। परिषद्को कार्यसञ्चालन समितिको असोज १४ को निर्णयका आधारमा उनीहरुले नियुक्ति पाएका हुन्।
सामाजिक उद्यमशिलता कोष नियमावली २०७७ को नियम ८ बमोजिम उनीहरुलाई परिषद्ले ४ वर्षका लागि नियुक्त गरेको हो। उनीहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयमै आयोजिक कार्यक्रमकाबीच कोषमा नियुक्तिको पत्र दिएका थिए।
परिषद् बोर्डको भदौं ३१ को बैठकले कोष गठनको नियमावली स्वीकृत गरेको थियो।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक उद्यमशीलताका माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले सरकारले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेको बताए। उनले परिषद्को मातहतमा रहने गरी कोष स्थापना गरिएको जानकारी दिए। सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ ‘समाजकल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा दफा २६ को अधिकार’ प्रयोग गरी कोष स्थापना गरिएको हो।
परिषद्का अध्यक्ष मन्त्री गुरुङले सामाजिक उद्यमशीलता अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँगाउँसम्म पुर्याउनुपर्ने तथा विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !