मूलपानीलाई तीन स्वर्ण
काठमाडौं : मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेको छ।
आयोजकमध्येको एक मूलपानीले कुल ११ स्पर्धा समावेश प्रतियोगितामा तीन स्वर्ण जितेको हो। पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो, जसमध्ये स्युचाटार तेक्वान्दो डोजाङले दुई तथा कोटेश्वर तेक्वान्दो डोजाङले एक स्वर्ण जित्न सफल भए।
मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष १२ वर्ष स्पर्धामा स्युचाटारका जेसन थापाले स्वर्ण जिते। उनले ६.१६ अंक जोडे। रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० जोडे। काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेस्रो स्थानमा चित्त बुझाए।
उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन्। दोस्रो भएकी गोदावरीकी सरगम थापाले ६.१६ अंक प्राप्त गरिन्। मूलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे। कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुष ढुंगेल शीर्ष स्थानमा रहँदा मूलपानीकै महेश आङथुपुलाई पछि पारे। सैनिक आवासीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका शृजल श्रेष्ठ तेस्रो भए।
सोही स्पर्धाको महिलामा कोटेश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन्। सन्ध्याले ६.१३ अंक ल्याउँदा मूलपानीकी प्रगति कुइँकेल ६.१० अंकका साथ दोस्रो भइन्। चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पा तेस्रो स्थानमा रहे। प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली आर्मीसहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडी सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !