मुस्ताङको थासाङमा प्रशासनको छड्के अनुमगन
जोमसोम : जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा नजिकिँदै गरेको दसैं पर्वलाई लक्षित गरी जिल्लाको थासाङ गाउँपालिकामा छड्के बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालयको नेतृत्वमा सुरक्षा निकाय ,घरेलु तथा साना उद्योग र कोष तथा लेखा नियन्त्रण कार्यालयको टोलीले थासाङ—१ को टुकुचे ,वडा—२ को कोवाङ/लार्जुङ र वडा—३ को लेतेमा शनिबार गरेको छड्के बजार अनुगमन गर्दा म्याद गुज्रेका १ लाख ५० हजार बराबरको किनारा र कस्मेटिकलगायतका सामान भेटिएको जनाइएको छ ।
टोलीले गरेको बजार अनुमगनमा भेटिएको म्याद गुज्रेका सामानहरु प्रशासन ,प्रहरी र सरोकारवाला निकायको रोहबरमै स्पोर्टमै मुचुल्का उठाई नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।उनका अनुसार थासाङको ३ वटा वडामा रहेका ८ वटा कस्मेटिक तथा किनारा पसलको बजार अनुगमन गर्ने क्रममा बढी मात्रामा कस्मेटिक सामान र केही खाद्य तथा पेय पदार्थ म्याद गुज्रेको अवस्थामा सामान भेटिएको हो ।
सहायक प्रजिअ अर्यालले बजार अनुगमनका क्रममा पसल दर्ता भए /नभएको, नविकरण भए नभएको , खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको मापदण्ड अनुसार सामानहरु लेबल लगाई छ,छैन र सामान अवधि कतिसम्म रहेको लगायतको अनुगमन गरिएको जानकारी दिए ।
म्याग्द गुज्रेका अखाद्य बस्तु तथा पेय पदार्थ अनुगमन गर्ने अधिकार संघीयतापछि स्थानीय तहले जिम्मा पाएको भएपनि जिल्लाका स्थानीय तहले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको उपभोत्ताको गुनासो रहेको छ ।पछिल्लो समय मुस्ताङमा बजार अनुगमन गर्दा विगतका वर्षको तुलनामा कम परिमाणमा म्याद गुज्रेका अखाद्य वस्तु भेटिने गरेको छ ।
मुस्ताङमा सडक संञ्जालले नजोडिँदा मुस्ताङीले घोडा खच्चडमा बोकाएर वर्षभरी पुग्ने सामान सञ्चय गर्ने चलन थियो । तर सडक जोडिएसँगै यहाँका व्यवसायीले आवश्यक मात्रामा दैनिक उपभोग्य वस्तु आयात गर्न थालेका छन् ।