सोलु करिडोरमा हट्यो अवरोध, ऐलानी जग्गामा मुआब्जा दिने सहमति
ओखलढुंगा : प्रशारण लाइनको निमार्ण कार्य रोकिएको सोलु करिडोरको अवरोध हटेको छ। ऐलानी जग्गामा बसोबास गर्नेहरुलाई समेत मुआब्जा दिने सहमति भएपछि अवरोध हटेको हो।
उदयपुर खण्डमा अवरोध हटेसँगै सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ। उदयपुरको कटारी नगरपालिका ४ को मरुवामा रहेको हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको तिङ्लादेखि ओखलढुंगाको सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका हुँदै उदयपुरको कटारीबाट सिरहाको मिर्चैयासम्म प्रशारण लाइन निर्माणाधीन अवस्थामा छ। प्रशारण लाइन क्षेत्रमा पर्ने जग्गा उपयोगमा विवाद हुँदा उदयपुर खण्डको काम रोकिएको थियो। स्थानीयबाट प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित ठाउँभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर स्थानीयले अवरोध गरेका थिए।
स्थानीय स्तरमा समस्या समाधान नभएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको कार्यकक्षमा आयोजना प्रमुख र अवरोध भएको क्षेत्रका जनप्रतिनिधीहरु सहित भएको छलफलमा समाधान खोजिएको हो। मन्त्री पुनले उदयपुरको कटारी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी ४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग छलफल गरेका थिए। मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि जनप्रतिनिधीहरुले त्यस क्षेत्रको अवरोध हटाउन प्रतिबद्धता जनाएका छन्।
मन्त्रालयमा बसेर समस्या समाधानका लागि पहल गरिएकोे आयोजना प्रमुख गौतमको भनाइ छ। प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये १८.५ मेगावाट बिजुली खेर गइरहेको छ।
सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताए। गौतमका अनुसार कुल तीन सय दुई वटा टावरमध्ये दुई सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ। कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) तान्ने कामसमेत सकिएको छ।
प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट अहिले उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलेखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन तीन सय २५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।
२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको २०७६ माघ दोस्रो हप्ता निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता थियो।