चीनले सीमा मिचेकै हो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले चीनले हुम्लामा नेपाली भूभाग अतिक्रमण गरेको जनाएको छ। हुम्लाको सीमानामा अनुगमनपछि फर्केको कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले तयार पारेको स्थलगत प्रतिवेदनमा चीनले नेपाली भूभाग अतिक्रमण गरेका जनाएको हो।
१२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा नजिकै लोलुङजोङमा चीन सरकारले नेपाली भूमि अतिक्रमण गरी आफ्ना भौतिक संरचना निर्माण गर्नुका साथै उक्त स्थान भन्दा झण्डै २ किलोमिटर टाढा मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाई समेत आफ्नो भूभाग दाबी गरे पछि विवाद सिर्जना भएको कांग्रेसको निष्कर्ष छ।
‘चीन सरकारले लोलुङजोङमा निर्माण गरेका भौतिक संरचना नेपाली भूभागभित्र छन्, यस अर्थमा चीनबाट नेपाली भूभाग अतिक्रमण भएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ। लोलुङजोङमा चीनले ११ वटा पक्की संरचना बनाएको छ। यता नेपाल सरकारले चीनसँग सीमासम्बन्धी विवाद नरहेको बताउँदै आएको छ।
उता सोही क्षेत्रको स्थलगत अध्ययन गरी आएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले गृहमा बुझाएको प्रतिवेदनमा सीमा नमिचिएको जनाएको छ।
त्यो भन्दा अगाडि सहायक प्रमुखि जिल्ला अधिकारी दत्तराज हमालले ११ नम्बर सीमास्तम्भ हराएको र चीन नेपाली भूभागमा संरचना बनाएको प्रतिवेदन दिएका थिए। हमाललाई गृहमन्त्रालय स्पष्टिकरण पनि सोधिसकेको छ। प्रजिअ गिरीलेका अनुगमन टोलीले ११ नम्बर सीमास्तम्भ जहाँको त्यही रहेको बनाएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘चीनले नेपाली भूभाग अतिक्रमण गरेको स्थानीयवासिन्दाको गुनासोपछि गिरी नेतृत्वको टोली सिमाबाट सदरमुकाम फिर्ता भएर वास्तविक प्रतिवेदन सरकारलाइ नबुझाउदै चिनियाँ दूतावासको विज्ञप्तिको सारलाइ हुबहु मिल्ने गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट हतारमा चीनले नेपालको एक इन्च भूभाग समेत नमिचेको विज्ञप्टि जारी भए पश्चात स्थलगत टोलीबाट समेत उक्त सीमाबारे कुनै जानकारी दिन हिच्किचाएको कांग्रेसको निष्कर्ष छ।
यस्तो अवस्था र सम्बन्धित निर्वाचन क्षेत्रको हैसियतमा हुम्लामा गरिएको सर्वदलीय बैठकमा समेत ठोस निष्कर्ष निकाल्न नसकिए पछि वास्तविक तथ्यलाई सार्वजिनक गर्न आफूहरु स्थलगत अनुगमन गएको प्रतिवेदनमा उल्लेख छ। कांग्रेसको प्रतिवेदनमा गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ किलोमिटर सडकखण्डलाइ चीनले अतिक्रमण गरेको पाइएको उल्लेख छ।
‘लाप्चा भञ्जायंमा नयाँ निर्माण गरिएको १२ नम्बसर सीमा स्तम्भको एलाइन्टमेन्ट पुरै परिवर्तन गरिएको पाइयो जुन चीनले नेपाल सरकारलाई थाहा नै नदिइ करिव करिब ६ महिना पहिले मात्र निर्माण गरेको पाइयो,’ प्रतिवेदनमा जनाइएको छ।
लिमीको टाकुल्ले चुचुरोमा रहेको ११,१० नम्बर स्तम्भको अवस्थालाइ अध्ययन गर्दा उक्त स्थानमा सिमा अतिक्रमण भएको नदेखिएको जनाइएको छ।