कञ्चनरुपमा कोराना संक्रमित महिलाको मृत्यु
राजविराज : क्यान्सर रोगबाट पीडित कोरोना संक्रमित सप्तरीकी एक महिलाको बिहीबार मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको घरमा मृत्यु भएको कञ्चनरुप स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर गुप्ताले जानकारी दिए । कञ्चनरुप नगरपालिकामा मृत्यु हुने महिला पहिलो भएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार गरिएको पीसीआर परीक्षणमा महिलाको कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामी भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालबाट विराट नर्सिंड होम हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएपछि गत सोमबार उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
क्यान्सरबाट पीडित महिलाको फोक्सोमा पानी जमेको र कलेजोमा समेत समस्या रहेको जानकारी दिँदै धरानका चिकित्सकले क्यान्सरको अन्तिम चरणमा रहेको भन्दै घर फर्काए पछि मङ्गलबारदेखि घर ल्याएर राखेको पीडित परिवारका सदस्यले बताए ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझियाको मलखोर पुगिसकेको र मृतक परिवारले खाल्डो खनेर तयारी अवस्थामा राखेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले बताए । सप्तरीको कञ्चनरुप नगरपालिकामा ४४ जना कोरोना संक्रमितमध्ये ३३ जना निको भएको स्वास्थ्य शाखा कञ्चनरुपले जानकारी दिएको छ ।
कञ्चनरुप नगरपालिकामा एक महिलाको बिहीबार मृत्यु भएसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुने २३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा संक्रमित हुने १ हजार ४५६ मध्ये १ हजार १५१ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।