गाँजा खान नदिएको झोकमा हत्या !
झापा : आफैंले किनेर ल्याइदिएको गाँजा खान नदिएको झोकमा झापाको कनकाई नगरपालिका-३ एकान्त टोलका २२ वर्षीय युवक अभिषेक चौधरीको हत्या आरोपमा प्रहरीले उनकै साथीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय विर्तामोडले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो।
चौधरीको शव बुधबार बिहान ६ बजे कनकाई नगरपालिका-३ एकान्त टोल नजिकै सुरुङ्गा खोलाको बाँसघारीमा फेला परेको थियो।
चौधरीलाई टल्के भनिने रविनले बन्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेपछि प्रहरीले पत्रकार सम्मेलन मार्पmत हत्यारालाई सार्वजनिक गरेको हो।
मङ्गलबार राति अभिषेक र टल्केबीच भेट भएको थियो। अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केले पनि गाँजा खान मागेको थियो। गाँजा दिन्न भनेपछि उनले घरबाट बन्चरो ल्याएर प्रहार गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए।
रिजालले भने उनीहरुले सुरुमा मिलेर खानुपर्छ भन्दै लिन पठाएको तर ल्याएपछि दिन्न के गर्छस् भनेपछि विवाद सुरु भएको बुझिएको छ।
टल्के भनिने रविन घरबाट धारिलो हतियार लिने सुरले विवाद भएको ठाउँ बाट हिँडेका थिए। उनी हिँडेपछि अभिषेकसँगै अन्य साथीहरु पनि विवाद भएकै ठाउँमा बसेर लागुऔषध बनाइरहेका बेला चौधरीलाई रविनले पछाडिबाट बन्चरो हानेर मारेको अनुसन्धानका क्रममा प्रहरी समक्ष बताएका छन्।
घटनाको सूचना प्राप्त हुनासाथ विर्तामोड प्रहरीले एकै दिनमा हत्यामा संलग्नलाई पक्राउ गरेको थियो। घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्के पक्राउ परेका हुन। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा लाग्ने इलाका प्रमुख रिजालले बताए।