विमानस्थल स्तरोन्नति हुँदै

विमानस्थल स्तरोन्नति हुँदै

सुर्खेत : सडक सञ्जाल प्रभावकारी नभएको कर्णालीमा एकैपटक चार वटा विमानस्थलको स्तरोन्नति हुने भएको छ। देशकै एकमात्र जिल्ला हुम्ला अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। प्रदेशका अधिकांश स्थान सडक यातायातको पहुँचमा छैनन्। यस्तो अवस्थामा विकल्पको रूपमा हवाई सेवालाई विस्तार गर्न विमानस्थलको विस्तार र स्तरोन्नति गर्न लागिएको हो।

हाल नियमित सञ्चालनमा रहेका सुर्खेत विमानस्थल र जुम्ला विमानस्थललाई थप विस्तार गरिनेछ। यी विमानस्थलको धावनमार्ग साँघुरो भएकाले थप विस्तारको प्रक्रिया अगाडि बढ्नेछ। यस्तै वर्षाैंदेखि सञ्चालनमा आउन नसकेको कालीकोटस्थित कोटबाडा र डोल्पाको मसिनेचौर विमानस्थललाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको हो। कोटबाडा र मसिनेचौर विमानस्थलमा हाल थप स्तरोन्नति र धावनमार्गलाई कालोपत्रे गर्ने काम भइरहेको छ। यी दुवै विमानस्थललाई यसै वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ।

यस्तै सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो हुँदा हाल ठूला जहाज अवतरण गर्न सकेका छैनन्। अन्य प्रदेश र संघीय राजधानीसँग सिधा हवाई उडान गर्नका लागि पनि सुर्खेत विमानस्थलको धावनमार्गलाई थप विस्तार गर्न केही दिनअघि कर्णाली प्रदेश सरकार र संघीय सरकारबीच सम्झौता भएको छ। यो विमानस्थलको धावनमार्ग विस्तारको प्रक्रिया अगाडि बढेको प्रदेश सरकारले जनाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘सुर्खेत विमानस्थल प्रदेशकै गौरव हो, प्रदेशमा अन्य विमानस्थलमा विस्तार सम्भव छैन। यसको विस्तार गरेर मात्र संघीय राजधानी र अन्य सहरमा सीधा उडान भर्न सकिन्छ, यसका लागि प्रदेश सरकारले सुर्खेत विमानस्थलको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।’ 

अहिले सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार २ सय ५५ मिटर छ। थप २ सय ५० मिटर बढाउनका लागि जग्गा अधिग्रहण गर्नुपर्नेछ। चालू आर्थिक वर्षमै सुर्खेत विमानस्थलको काम सुरु हुने सरकारी दाबी छ। त्यस्तै जुम्ला विमानस्थल पनि चालू आर्थिक वर्षमै विस्तार गरिने भएको हो। बहुवर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तार गरिन लागेको हो। धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए। त्यसैगरी विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन भएको उनको भनाइ छ। यस्तै वर्षाैंदेखि अलपत्र कालीकोटको कोटबाडा विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम थालिएको छ।

नरहरिनाथ गाउँपालिका—१ सुनथरालीमा रहेको विमानस्थलको बाहिरी भाग घेरबार र टावर निर्माणलगायत काम भइरहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए। चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने विष्टले बताए। २०४३ सालदेखि निर्माण थालिएको यो विमास्थलमा दसवर्षे विद्रोहका कारण अलपत्र परेको थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले यो विमानस्थलमा एक पटक परीक्षण उडान गराएका थिए। त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका—७ मा रहेको मसिनेचौर विमानस्थलमा पनि कालोपत्रे थालिएको छ। नगर उपप्रमुख चन्द्राकुमारी बुढाका अनुसार कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। यसअघि जुफाल विमानस्थल विस्तार गर्दा मसिनेचौरमा नियमित उडान गरिएको थियो। तर, लामो समयदेखि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.