रेडपाण्डाको छालासहित चारजना पक्राउ
सुर्खेतः रेडपाण्डाको छालासहित सुर्खेतमा चारजना पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगरको एक होटलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो । होटलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला कारोबार भइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले यसको पुष्टि गरेका हुन् । उनका अनुसार रेडपाण्डाको छालासहित पक्राउ परेका चारैजना दैलेखका हुन् ।
दैलेखको नौमुले गाउँपालिकाका मनबहादुर सुनार, पदमबहादुर सुनार, मनोज विक र नारायण नगरपालिकाका सविता थापालाई पक्राउ गरिएको एसपी भट्टले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट रेडपाण्डाको छाला पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरुलाई डिभिजन वन कार्यालय सुर्खेतको जिम्मा लगाइने जनाएको छ । कारोबार भइरहेको सूचना पाएपछि प्रदेश प्रहरी कार्यालयबाट विशेष व्यूरो र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।