गाउँमा छैन दसैंको रौनक
मकवानपुर : ७६ वर्षीय कान्छीमाया तामाङ बिरामी छिन्। बारीमा मकै पाकेको छैन। अन्नपात सकिँदै गएको झुप्रो घरको संघारमा आएको छ दसैं। कसरी दसैं टार्ने भन्ने चिन्तामा छन्, कान्छीमाया र उनका छोरा बलबहादुर।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ र कैराश गाउँपालिका ८ को सीमानामा सुसाइरहेको गोराङ््दी खोला पार गर्दै दैनिक सयौं गाउँले मनहरी बजारबाट दसैं किनमेल गरी घर फर्कन्थे। कमाउन गएकाहरू झोलाभरि दसैं सामान बोकेर घर फर्किएपछि दसैंको छुट्टै रौनक हुन्थ्यो। तर, गोराङ्दी खोला किनारमा साहुको जग्गामा वर्षौंदेखि बस्दै आएकी कान्छीमायालाई यो वर्षको दसैं रौनकले छोएको छैन।
बन्दाबन्दीसँगै कोरोना त्रासका कारण उनका छोरा बलबहादुर यस वर्ष कमाउन गाउँबाहिर जान सकेनन्। ‘दसैं मुखमै आइसक्यो, यो वर्ष कमाउन कतै जान पाइएन’, बलबहादुरले भने, ‘हामी त जसरी पनि टार्छौं, बालबच्चालाई बुझाउन भने गाह्रो छ।’ वृद्ध आमा, श्रीमती र पाँच छोराछोरीको बलबहादुरकै भरमा छन्।
तामाङ परिवारजस्तै यस क्षेत्रका प्रायः परिवारमा यस वर्ष दसैंको रौनक देखिँदैन। गत वर्षहरूमा गाउँघरमा दसैं नजिकिँदै गर्दा छुट्टै रौनक हुन्थ्यो। घर लिपपोत, पिङ र गाउँबाहिर कमाउन गएकाहरू झोलाभरि किनमेल गरेर घर फर्कंदा दसैं घरैमा आएको अनुभूति हुन्थ्यो।
तर, मकवानपुरको पश्चिमी गाउँहरू दसैं सुरु भइसक्दा पनि सुनसान छ। कोरोना संक्रमण त्रासका कारण घरमै बसेकाहरू दसैं कसरी टार्ने भन्ने चिन्तामा छन्। यस्तै चिन्ताले घेरिएका छन् चौकीटारका भीमबादुर तामाङ। ‘गाउँमा यो वर्ष सबैको घरमा मान्छे छ, काम गर्न नपाएपछि पैसा पनि भएन’, उनले भने, ‘छोरीहरू पनि कोरोनाले गर्दा नआउने भयो, एक्को बुढोलाई के दसैं हजुर।’
कैलाश र राक्सिराङका गरी करिब पाँच हजार युवा कामका लागि गाउँबाहिर जाने गरेको स्थानीय तहको अनुमान छ। तर, कोरोना त्रासका कारण यस वर्ष अधिकांश युवा घरमै रहका छन्। विदेशमा हुनेहरू प्रायः उतै छन्, गाउँमा हुनेहरू देशका विभिन्न सहरमा काम गर्न गएकाले सुनसान भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।