मुस्ताङमा १ सय ५० शिक्षक दरबन्दी कटौती हुने
मुस्ताङ : नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिमाली जिल्ला मुस्ताङमा बढी भएका करिब १ सय ५० शिक्षक दरबन्दी गण्डकी प्रदेशको बाग्लुङ र नवलपुरमा पूनर्वितरण गर्ने भएको छ । मन्त्रालयले स्थानीय तह जिल्ला र प्रदेशगत रुपमा बढी भएका विद्यालयको शिक्षक कोटा घटाएर र नभएका विद्यालयमा दरबन्दी मिलान गर्न लागेको हो ।
यसअघि मन्त्रालयले २०७६ साल भदौ ५ गते शिक्षक दरबन्दी मिलान तथा पूनर्बितरण सम्बन्धि निर्णय गरेको थियो । मन्त्रालयको निर्णयपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७६ मंसिर ३० गते यस सम्वन्धि वेभसाइडमा सूचना प्रकाशित गरी कार्यान्वयनको चरणमा रहेको शिक्षक दरबन्दी मिलानकार्य अघि बढाएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए । उनले मुस्ताङ जिल्लामा कार्यरत पुलमा रहेका करिव १ सय ५० शिक्षक दरबन्दी कट्टा गरी अन्य जिल्लामा पूनर्बितरण हुन लागेको बताए ।
यस्तै शिक्षा विकास तथा मानव स्रोत केन्द्रले २०७७ श्रावण १६ गते पनि गोरखापत्रमा सूचना जारी गरी शिक्षक दरबन्दी मिलानकार्य सम्पन्न गर्न जिल्लाका स्थानीय तहलाई जानकारी गराएको थियो । केन्द्रले कार्तिक १ गते स्थानीय तहमा पुलमा रहेका स्थानीय तहका कार्यरत शिक्षकसँग निवेदन संकलन गरी दरबन्दीसहित सरुवा भइ पठाउने नामावली कार्तिक मशान्तसम्म तोकेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका अनुसार मुस्ताङका ५ स्थानीय तहको कुल ३ सय २२ मौजुदा शिक्षक दरबन्दीमा पुलमा रहेका १ सय ५० दरबन्दी कट्टा गरी गण्डकीका दुई जिल्लामा पूनर्बितरण हुने तैयारी भइरहेको जनाएको छ ।जिल्लाको लोमान्थाङ गापाबाट प्रावि ,निमावि र मावि गरी ४४ जना शिक्षक दरबन्दीमा १५ शिक्षक ,लोघेकर दामोदरकुण्ड गापाबाट प्रावि,निमावि गरी २४ दरबन्दीमा ८ शिक्षक ,वारागुङ मुक्तिक्षेत्र गापामा प्रावि,निमावि र मावि गरी ६० दरबन्दीमा २७ शिक्षक ,घरपझोङ गापामा प्रावि,निमावि,मावि र मावि ११/१२ गरी कुल ८५ दरबन्दीमा ३९ शिक्षक र थासाङ गापामा प्रावि,निमावि,मावि र मावि ११/१२ गरी १ सय १४ दरबन्दीमा ६१ शिक्षक दरबन्दी कटौती गरी अन्य जिल्लामा स्थान्तरण हुन लागेको हो ।
मन्त्रालयको कार्यविधि अनुसार मुस्ताङमा पुलमा रहेका शिक्षक उल्लेखित दरबन्दी अन्य जिल्लामा पूनर्बितरित भएको खण्डमा अब मुस्ताङमा १ सय ७२ जना शिक्षकको मात्र दरबन्दी कायम हुने देखिएको हो ।मुस्ताङबाट अन्य जिल्लामा दरबन्दी मिलान भएमा लोमान्थाङमा २९ ,लोघेकरमा १६ ,वारागुङ मुक्तिक्षेत्रमा ३३ ,घरपझोङमा ४६ र थासाङ गापामा ५३ जना शिक्षकको मात्र दरबन्दी कायम हुनेछ ।
मन्त्रालयको निर्णय अनुसार शिक्षक दरबन्दी मिलान तथा पूनर्वितरण कार्य सम्पन्न भएमा मुस्ताङबाट करिव ५० प्रतिशत शिक्षक दरबन्दी कटौती हुने निश्चित देखिएको छ । तर,यहाका स्थानीय तहले पुलमा रहेका शिक्षक पूनर्वितरण गर्ने सहमती गरिएको भएपनि कार्यस्थलबाट सरुवा जान रोकेको छ । स्थानीय तहलाई दरबन्दी नियुक्ति गर्न नपाइने भएकाले मुस्ताङका विद्यालयले शिक्षक पूनर्वितरण गर्ने काममा सहमति नदिएका हुन् ।