जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

सिमकोट : अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीका लागि भने जडिबुटी ओसारपसार र भण्डारण गर्ने क्षेत्र बनेको छ।

सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै विमानस्थलमा थुपारिएको हो। 

प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइ जहाजले उडान भर्ने भएपनि दिउँसो भने घोडा र खच्चरको लाइन लाग्छ। जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् । 

विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताए। नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उनले जहाज पार्किङ र यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उनले बताए।

यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दा धेरै जडिबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडिबुटी खरिद गरी ल्याएका छन् । संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ ।

पचासदेखि चार सय क्विन्टलसम्म जडिबुटी खरिद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै एक हजार चार सय क्विन्टल जडिबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी छ । अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो  ।

चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो ।

हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रति केजी ४५० सम्म मूल्य तिरेका छन् । सिमकोटसम्म ढुवानी दर प्रतिकेजी १४० सम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.