जुम्लाको कनकासुन्दरी मन्दिरमा भिडभाड : प्रशासन बेखबर
जुम्ला : जिल्ला प्रशासन कार्यालयले जुम्लाका शक्तिपीठमा निषेधाज्ञा जारी गरे पनि जुम्लाकै ठूलो शक्तिपीठ मध्यको एक कनकासुन्दरी मन्दिरमा भने भीडभाड बढेको छ ।
वडादसैंमा हरेक वर्ष हजारौं भक्तजन आउने यस मन्दिरमा यस वर्ष पनि भक्तजन आउनेक्रम रोकिएको छैन । आज मात्रै १ सय ५० भन्दा बढी बोकाको पूजा भएको छ ।
शनिबार बिहान हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका छन् । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारले देशभरका शक्तिपीठ बन्द गर्ने निर्णय गरेको भए पनि यो मन्दिरमा खुलमखुला पूजाआजा भइरहेको छ ।
भक्तजनसँगै पूजारीलेसमेत मास्कको प्रयोग गरेको देखिदैन । सामाजिक दूरी पनि कायम गरिएको छैन । मन्दिर व्यवस्थापनका सचिव तारा हमालले मास्कको प्रयोग गर्नुपर्ने भए ल्यादिनुहोस् भनेका छन् ।
‘मास्क प्रयोग गरे पनि नगरे पनि के भो ?’, व्यवस्थापनबारे सोधेको प्रश्नको जवाफ दिँदै सचिव हमालले भने, ‘नलगाएको भए पत्रकारले ल्याइदिनुहोस् ।’
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रावतले भने भीडभाडको विषयमा प्रहरीलाई खबर गरेको बताए । स्थानीय प्रहरीले भने भीड नियन्त्रणका लागि आफूहरुलाई खबर नआएको बताएको छ ।
कोरोनाको त्रासकै बीच जुम्लामा भारत र विभिन्न सहरबाट गाउँगाउँ पुग्नेको संख्या बढिरहेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड भने कसैले पालना गरेको देखिँदैन ।