मुस्ताङको घरपझोङका विद्यालय एक साता बन्द
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक महिलालाई बुधबार कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिको स्थानीय कोभिड-१९ संकट व्यवस्थापन समितिले पालिका भित्र संञ्चालनमा रहेका सबै विद्यालयको पठन/पाठन बिहीबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
घरपझोङ गाउँपालिकाको बुधबार बसेको आकस्मिक सीसीएमसी बैठकले विद्यालय तथा समुदायस्तरमा कोरोना जोखिम बढेको भन्दै उक्त निर्णय गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।
अध्यक्ष थकालीका अनुसार मुस्ताङमा समुदायस्तरमा पहिलो पटक कोरोना पोजिटिभ संक्रमित भेटिएपछि संक्रमण जोखिम रोकथाम तथा न्यूनिकरण गर्नका लागि स्थानीय कोभिड-१९ संकट व्यवस्थापन समितिले पालिका भित्रको क्षेत्रमा सरकारी सवारी साधन, सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्सबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको आवत/जावत बन्द गर्ने निर्णय गरेको छ ।
दसैं तथा अन्य कामकाजका लागि जिल्ला बाहिर रहेका जनप्रतिनिधि, सरकारी तथा संघसंस्थाका कर्मचारी, शिक्षक तथा अन्य सर्वसाधारणले ७२ घण्टे पीसीआर रिपोर्ट अथवा अनिवार्य एक साता होम क्वारेन्टिनमा बस्नु पर्ने जनाएको छ ।