सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २७ पुग्यो
राजविराज : महुली सामुदायिक विकास केन्द्र बकधुवाका संस्थापक अध्यक्ष सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका– ५ का ६० वर्षीय गणेशी चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमित उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाका संस्थापक अध्यक्षका साथै महुली सामुदायिक लघु वित्त वित्तीय संस्थाका संस्थापक चौधरी हिरावती आधारभूत विधालय बकधुवाका अवकाश प्राप्त शिक्षक थिए ।
उनीसहित सप्तरीमा हालसम्म २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा ६ जना कोरोना संक्रमित पाइएको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।
यो समेत सप्तरीमा १ हजार ५९५ जना कोरोना संक्रमित भएको यादवले जानकारी दिए । जसमध्ये १ हजार ३८१ जना निको भएका छन् । हाल सप्तरीमा १ सय ८९ जना सक्रिय संक्रमित रहेको र त्यसमध्ये १ सय ६३ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्य संक्रमितमध्ये १० जना राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा, ९ जना कञ्चनरुप नगरपालिकास्थित आइसोलेसन केन्द्रमा र ४ जना खडक नगरपालिकास्थित आइसोलेसन केन्द्रमा रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भिम दल गण, राजविराज कारागार र बोदे बर्साइन नगरपालिकास्थित आइसोलेशन केन्द्रमा १/१ जना संक्रमित रहेका छन् ।