लाखामरी चढाएर भक्तपुर तलेजुको दसैं समापन

लाखामरी चढाएर भक्तपुर तलेजुको दसैं समापन

भक्तपुर : सयौंथरि लाखामरी चढाएर भक्तपुर तलेजुमा बिहीबार त्रयोदशीको दिन यस वर्षको दसैं विधिवत समापन गरिएको छ। सर्वसाधारणको घरमा भन्दा दुई दिनअघि नै तलेजुमा दसैं सम्पन्न गर्ने प्रचलन रहँदै आएको छ।

सर्वसाधारणको घरमा कोजाग्रत पूर्णिमाको दिन जमरा विर्सजन गरेसँगै दसैं सकिएको मानिन्छ तर भक्तपुरको तलेजुमा भने त्रयोदशीको दिन नै दसैंको विधिवत समापन गरिने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

उनले त्रयोदशीको दिन भक्तपुर तलेजुमा दसैंको विधिवत समापन गर्ने कार्यलाई नेपालभाषामा ‘चालं’ एवं ‘स्वाँ क्वकायेगु’ भनिने बताए।

‘भक्तपुर तलेजुमा त्रयोदशीको दिन राजोपाध्याय, जोशी र कर्माचार्य पुजारी नाइकेहरुले पूजाआजा गरेर फूल प्रसाद तथा जमरा ग्रहण गरेर विधिवत दसैं समापन गरिन्छ’, मूल नाइके जोशीले भने, ‘यसलाई चालं एवं स्वाँ क्वकायेगु भन्ने गरिन्छ।’

यस दिन तलेजुका रकमीहरुमध्ये मधिकर्मी थरका समुदायले सयौथरि लाखामरी चढाउने गर्दै आएका छन्। भक्तपुरमा तलेजु स्थापना भएदेखि वडा दसैंको त्रयोदशीको दिन मधिकर्मीहरुले सयौंथरि लाखामरी बनाएर तुलजा भवानी चढाउँदै आएको मूल नाइके जोशी बताउँछन्।

उनका अनुसार विगत केही वर्षदेखि महेन्द्र मधिकर्मीले सयौंथरि लाखामरी चढाउँदै आएका छन्। भक्तपुरमा पेसा व्यवसायअनुसार थर हुने गरेको छ। यसरी तलेजुमा लाखामरी बनाएर चढाउने भएकाले उनीहरुलाई मधिकर्मी भनिएको हो।

‘त्रयोदशीको दिन स्वाँ क्वकायेगु सम्पन्न भएसँगै नकींहरुले तलेजुको दसैंघर, आगमछें सबै सफासुग्घर गर्छन्’, मूल नाइके जोशीले भने, ‘दसैं अवधिभर प्रयोग भएका भाँडावर्तन सफा गरेर लगतसहित तलेजुको भण्डार कोठामा राख्ने कामसमेत गर्छन्।’

भक्तपुर तलेजुभित्र २२ जना विभिन्न थरका नकींहरु रहेका छन्। उनीहरुले तलेजुभित्र हुने हरेक पूजाआजालगायतको लागि पूजा सामग्री तयार गर्ने, पूजाआजा सकिएपछि सफासुग्घर गर्ने र प्रयोग भएको भाँडाबर्तनको थान्कोमन्को लगाउने कार्य गर्ने मूल नाइके जोशीले जानकारी दिए।

यस वर्ष भक्तपुर तलेजुमा विनाबलि दसैंको सम्पूर्ण पूजा सकिएको छ। यहाँ दसैंअवधिभर ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ। तर कोरोना भाइरस संक्रमणको कारण तलेजुमा बलिपूजा रोकिएको थियो।

मूल नाइके जोशीका अनुसार तलेजुमा दसैंको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुन्छ।

यस वर्ष दसैंको टीका एवं दशमीको दिन हुने तुलजा भवानीको पायो (खड्ग) जात्रासमेत तलेजुभित्र नै सीमिति गरिएको थियो। उक्त जात्रा यसैवर्ष पहिलोपटक तलेजु बाहिर नभएको हो।

त्यस्तै दसैंको सप्तमी र दशमीको दिन हुने तुलजायात्रा नै रोकियो। तुलजा भवानी मूल आगमछेंबाट दसैंघर सवारी हुने तुलजायात्रासमेत कोरोना भाइरस संक्रमणको कारण रोकिएको हो।

दसैं अवधिभर सर्वसाधारणलाई भक्तपुर तलेजुभित्र प्रवेशमा समेत रोक लगाइएको थियो। यसको लागि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु प्रवेश गर्ने मुख्यद्वार स्वर्णद्वारमै सिल गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.