अमेरिकी निर्वाचनमा चीन बहस

अमेरिकी निर्वाचनमा चीन बहस

निर्वाचन नतिजा वाइडेनका पक्षमा गएमा सबैभन्दा बढी खुसी अमेरिकी गठबन्धनका युरोपेली राष्ट्रहरू हुनेछन्।


प्राकृतिक र राजनीतिक हिसाबले अमेरिकीहरूका लागि शरद ऋतु खास हुने गर्छ। उच्च तापमय ग्रीष्म ऋतुको अन्त्यसँगै सेप्टेम्बर २२ बाट मध्यम तापक्रमको शरद ऋतुको सुरुवात हुन्छ। विस्तारै रूखका पातहरूले रङ बदल्छन्, प्राकृतिक दृश्यहरू मनमोहक र रंगीन बन्छन्। मानिसहरू प्राकृतिक सुन्दरताको अद्भुत आनन्द लिन्छन्। मौसमको तामक्रम विस्तारै तल झर्दै गर्दा राजनीतिक तापक्रम भने बढ्दै जान्छ र नोभेम्बर ३ मा गएर रोकिन्छ। नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनले चार वर्षका लागि शक्तिशाली राष्ट्रको कमान्डर इन चिफको टुंगो लगाउँछ। यस वर्षको नोभेम्बर ३ ले रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको विरासत जोगाउँछ या डेमोक्र्याट पार्टीका उम्मेदवार जोसेफ (जो) वाइडेनलाई  ह्वाइट हाउस पुर्‍याउँछ, विश्वकै कूतुहलताको विषय बनेको छ।

कोरोना महामारीका बीचमा हुँदै गरेको यसपटकको निर्वाचन सदाको भन्दा फरक छ। यसपटकको निर्वाचन परिणामले अमेरिकाको आन्तरिक राजनीतिमा मात्रै नभई विश्व भूराजनीतिमा दूरगामी असर पार्नेछ। निर्वाचन नजिकिँदै गर्दा ९० लाखभन्दा बढी जनता कोरोनाले संक्रमित भएका छन् भने दुई लाख ३० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। जर्ज फ्लोयडको हत्यापछि विकसित घटनाक्रम, विरोध प्रदर्शन र विभेदका सम्बन्धमा व्यक्त गरिएका अभिव्यक्तिले अमेरिकी समाज चरम ध्रुवीकरणमा बाँडिएको छ। उग्र दक्षिणपन्थी न फाँसीवादी पुरुष समूह प्राउड वोइज र एन्टिफा नामक फाँसीवादविरोधी समूहहरूले सडकमा हतियारसहित गर्ने गरेको प्रदर्शनले स्थितिलाई त्यत्तिकै तनावपूर्ण बनाएको छ। एकाथरी ल एन्ड अर्डरका कुरा गरिरहेका छन् भने अर्कातिर डिफन्ड द पुलिस भनिरहेका छन्।

दक्षिणपन्थी कन्जरभेटिभ धारको नेतृत्व गर्ने रिपब्लिकन पार्टी र मध्यमार्गी लिबरल धारको नेतृत्व गर्ने डेमोक्र्याटिक पार्टीबीच हरेक चार वर्षमा हुने चुनावी प्रतिस्पर्धामा आप्रवासी नीति, स्वास्थ्य सेवा, अर्थतन्त्र र वैदेशिक नीतिहरू बहसका प्रमुख मुद्दा मानिन्छन्। गर्भपतनविरुद्धको कानुन, संविधानको दोस्रो संशोधनले प्रत्याभूत गरेको नागरिकले हतियार राख्न पाउने अधिकार, धार्मिक स्वतन्त्रताको अधिकार, सेनाको मजबुतीकरण र खुला बजार पुँजीवादमा आधारित अर्थतन्त्र रिपब्लिकनहरूका आधारभूत कन्जरभेटिभ एजेन्डा हुन्। नागरिक स्वतन्त्रता, सामाजिक समानता, मिश्रित अर्थतन्त्र, हतियार नियन्त्रण, गर्भपतनको अधिकार, मजबुत संघीय सरकार र संगठित श्रम डेमोक्र्याटिक पार्टीका आधरभूत लिबरल एजेन्डा हुन्। डेमोक्र्याटिक पार्टीभित्र पछिल्ला दिनमा वर्नी स्यान्डर र इलिजावेथ वारेनलगायतका केही नेताहरूले वामपन्थी प्रगतिशील धारको वकालत गरिरहेका छन्।

सन् २०१६ मा ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा लिएर अप्रत्यसित रूपमा उदाएका डोनाल्ड ट्रम्पको चारवर्षीय कार्यकाल उतारचढावका बीच सकिँदै छ। गैरराजनीतिक पृष्ठभूमिबाट उदाएका ट्रम्प अन–कन्भेन्सनल र अन–पे्रडिक्टेवल राष्ट्रपतिका रूपमा चिनिन्छन्। निर्वाचनअघिदेखि नै नजमेको मिडियासँगको उनको सम्बन्ध निर्वाचनपछिको चार वर्षसम्म पनि सुध्रन सकेन। सीएनएन, वासिंटन पोस्ट्, न्युयोर्क टाइम्सलगायतका मूलधारका मिडियालाई उनी फेक न्युज भन्ने गर्छन् र ती मिडियाले पनि उनलाई प्रजातन्त्रको खलपात्रका रूपमा प्रस्तुत गर्ने गर्छन्। डेमोक्र्याटिक पार्टीले उनको वैधानिकतामाथि नै प्रश्न उठायो। रसियाले निर्वाचनमा हस्तक्षेप गरेका कारण ट्रम्पले जितेको भनेर निर्वाचनमा रसियाको संलग्नताका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेर छनबिन पनि गरियो। तर उक्त जाँचबुझ आयोगले रसियाको संलग्नताबारे पुष्टि गर्न सकेन। युक्रेनलाई पठाउनुपर्ने सुरक्षा सहयोग स्थगित गरी शक्ति दुरुपयोग गरेको ठहर गर्दै डेमोक्र्याटिक पार्टीले सदनमा महाभियोग प्रस्ताव ल्याएको थियो। डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदन कंंग्रेसले महाभियोग प्रस्ताव पारित त गर्‍यो तर रिपब्लिकनहरूको बहुमत रहेको माथिल्लो सदन सिनेटले खारेज गरिदियो।

बलियो अर्थतन्त्र र इतिहासमै न्युन बेरोजगार, ट्रम्पले पुनः निर्वाचित हुने बलियो आधार मानेका थिए, तर कोभिड– १९ ले उनको यो आधार भत्काइदियो। खुम्चिँदो अर्थतन्त्र, बढ्दो बेरोजगार र अनियन्त्रित कोरोना संक्रमण ट्रम्पका लागि सबैभन्दा टाउको दुखाइको विषय भएको छ। कोरोना व्यवस्थापनका सुरुवाती दिनमा हेलचक्र्याइँ गरेको, विज्ञहरूका सुझावलाई गम्भीरतापूर्वक नलिएको र नागरिकमा गलत सन्देश प्रवाह गरेको आरोप लगाउँदै वाइडेनले कोरोना महामारी व्यवस्थापन कमजोरीलाई ट्रम्पमाथि आक्रमण गर्ने प्रमुख हतियार बनाएका छन्।

माइक पम्पेओको एसियाली दौडाहा, ट्रम्प र वाइडेनको चीनकेन्द्रित चुनावी बहस र चिनियाँ राष्ट्रपति सीले युद्धका लागि तयार रहन सेनालाई गरेको आह्वानले चीन–अमेरिकी सम्बन्धका अफ्ठ्यारा दिनतर्फ संकेत गर्छ।

यसैबीच सर्वोच्च अदालतकी न्यायाधीश रुथ वेटर गिन्सवर्गको निधन र उनको स्थानमा प्रस्ताव गरिएकी यमी कोनी वेरेटको नियुक्तिले निर्वाचनलाई थप पेचिलो बनाएको छ। नोभेम्बर ३ पछि निर्वाचित हुने राष्ट्रपतिले नयाँ न्यायाधीश नियुक्त गर्नुपर्ने अडान डेमोक्र्याटहरूले राखे पनि रिपब्लिकनहरूको बहुमत रहेको सिनेटले कन्जरभेटिभ न्यायाधीश यमी कोनी वेरेटको नियुक्तिलाई पक्का गरिदियो। वेरेटको नियुक्तिले ओबामा केयर खारेज हुने र लाखौं विपन्न, गरिब र दीर्घरोगी जनता स्वास्थ्य बिमाविहीन हुने हुँदा वाइडेनलाई मतदान गर्नुपर्ने तर्क उनका समर्थकले राखेका छन्। अर्कातर्फ वेरेटको नियुक्तिले सर्वोच्च अदालतका नौजना न्यायाधीशमध्ये ६ जना कन्जरभेटिभ न्यायाधीश हुने, सेकेन्ड एमेन्डमेन्टले प्रत्याभूत गरेको अधिकार, गर्भपतनसम्बन्धी कानुन, धार्मिक स्वतन्त्रताजस्ता कन्जरभेटिभ एजेन्डाको सुरक्षा हुने भन्दै ट्रम्प समर्थकहरू ट्रम्पलाई मतदान गर्न आह्वान गरिरहेका छन्। एकपटक नियुक्ति पाएपछि आजीवन न्यायाधीश रहिरहने व्यवस्थाले पनि सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति चुनावी मुद्दा बन्ने गर्छ।

निर्वाचनको दिन नजिकिँदै गर्दा जो वाइडेनलाई द न्युयोर्क पोस्ट्ले सार्वजनिक गरेको एउटा ई–मेलले अफ्ठ्यारोमा पारेको छ। १७ अप्रिल २०१५ मा युक्रेनको ऊर्जा कम्पनी वरिज्माको उच्च अधिकारीले जो वाइडेनका छोरा हन्टरलाई पठाएको भनिएको उक्त ई–मेलमा ती अधिकारीले तिम्रा पितासँग भेट गराइदिएकोमा धन्यवाद भनेका छन्। उक्त भेटपछिको एक वर्षमै विनाअनुभवका हन्टरले उक्त ऊर्जा कम्पनीमा नन–एक्जिक्युटिभ बोर्ड अफ डिरेक्टर रही मासिक ५० हजार डलर आर्जन गरेको समाचार न्युयोर्क पोस्ट्ले छापेको थियो। ट्रम्पले उक्त समाचारलाई वाइडेनमाथि आक्रमण गर्ने बलियो हतियार बनाएका छन्। चीन र रसियाबाट पनि हन्टरले व्यापारिक कारोबारका नाममा रकम आर्जन गरेको दस्ताबेज पनि सार्वजनिक भएका छन्।

यसपटक उल्लेख्य संख्यामा अग्रिम मतदान भएका छन्। यो आलेख तयार गरिरहँदा ६ करोडभन्दा बढीले मतदान गरिसकेका छन्। सञ्चारमाध्यमले गरेको राष्ट्रिय मत सर्वेक्षणले वाइडेन ट्रम्पभन्दा आठ अंकले अघि छन्। मत सर्वेक्षणका आधारमा वाइडेनले जित्ने आकलन गरिए पनि ट्रम्पले २०१६ को परिणाम दोहोर्‍याउन सक्ने सम्भावना पनि त्यत्तिकै छ। २०१६ मा हिलारीले मत सर्वेक्षणमा अग्रता लिए पनि निर्वाचन परिणाम ट्रम्पका पक्षमा गएको थियो।

अमेरिकी राष्ट्रपतीय निर्वाचन अमेरिकाभित्र मात्र नभई बाँकी विश्वलाई पनि चासोको विषय बन्ने गर्छ। किनकि निर्वाचित नयाँ राष्ट्रपति र उनको नेतृत्वको प्रशासनले लिने नीति र रणनीतिको असर बाँकी विश्वमा पर्छ। मध्यपूर्व जहिले पनि अमेरिकी विदेश नीतिको केन्द्रविन्दुमा रहने गर्छ। सन् २०१६ को निर्वाचनमा इरान र उत्तर कोरिया विशेष बहसमा थिए। यसपटक साविकमध्ये पूर्वभन्दा पनि चीनसम्बन्धी मुद्दा बढी बहसको केन्द्रमा छ। चीनसँगको व्यापार युद्ध गरेर होस् या कोरोना भाइरसलाई चाइना भाइरस भनेर ट्रम्पले चीनसँगको अमेरिकी सम्बन्ध अहिलेसम्मको सबैभन्दा निम्नविन्दुमा पुर्‍याएका छन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएमा उनको चीन नीति नरमभन्दा गरमै हुनेछ। उनले चीनले कोरोना भाइरससम्बन्धी सूचना लुकाएको मूल्य चुकाउनुपर्ने बताइरहेका छन्।

वाइडेनले पनि आफू निर्वाचित भएमा चीनसँगको सम्बन्ध रिसेट गर्ने र आफ्नो प्रशासन अझ कडा रूपमा प्रस्तुत हुने बताएका छन्। कतिपयले वाइडेनको चीन नीति ‘पुरानो साथी र सम्भावित दुस्मन’ हुने बताएका छन्। ट्रम्पको अमेरिका पहिलो नीतिले अमेरिकाले आफ्नो ग्लोबल लिडरसिपको पोजिसनबाट हटेको र त्यसको रिक्ततामा चीनले खेल्ने मौका पाएको थियो तर वाइडेनले जितेमा अमेरिका पुरानो भूमिकामा नै फर्कने आकलन पनि गरिएको छ।

निर्वाचन नतिजा वाइडेनका पक्षमा गएमा सबैभन्दा बढी खुसी अमेरिकी गठबन्धनका युरोपेली राष्ट्रहरू हुनेछन्। ट्रम्पलाई निरंकुश शासकसँग अँगालो मारेर आफ्ना मित्रहरूलाई घोच्ने गरेको आरोप लगाएका वाइडेनले अमेरिकी गठबन्धनका राष्ट्रहरूसँगको सम्बन्धलाई प्रमुख प्राथमिकतामा राख्नेछन्। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता र इरानसँगको आणविक सम्झौतामा विश्व स्वास्थ्य संगठनबाट बाहिरिएको अमेरिकाको पुनर्बापसी हुनेछ। उनको विजयले ट्रम्पको राष्ट्रवादले कमजोर बनेको विश्व उदार व्यवस्थालाई त्राण मिल्नेछ। ट्रम्पले जितेमा लोकप्रितावादको जगमा उभिएको राष्ट्रवाद संस्थागत हुनेछ।

अक्टोबरको पहिलो हप्ता टोकियोमा सम्पन्न क्वार्ड समूहका राष्ट्रहरू अमेरिका, भारत, जापान र अस्ट्रेलियाका विदेशमन्त्रीहरूको बैठकमा चीनको आक्रामक गतिविधिविरुद्ध लोकतान्त्रिक राष्ट्रहरू एक भएर अघि बढ्न आह्वान गरेर घर फर्केका अमेरिकी विदेशमन्त्री माइक पम्पेओ फेरि दक्षिण एसियाली राष्ट्रहरूको भ्रमणमा फर्किए। भ्रमणको दौरान भारत र अमेरिकाबीच भूउपग्रहमार्फत प्राप्त हुने संवेदनशील डेटा एकआपसमा उपलब्ध गराउने महŒवपूर्ण सैन्य सम्झौता गरेका छन्। चीनको प्रभाव रोक्न भारतले संघर्ष गरिरहेका राष्ट्रहरू माल्दिभ्स र श्रीलंकाको पनि भ्रमण गरेका छन्।

माइक पम्पेओको एसियाली दौडाहा, ट्रम्प र वाइडेनको चीनकेन्द्रित चुनावी बहस र चिनियाँ राष्ट्रपति सीले युद्धका लागि तयार रहन सेनालाई गरेको आह्वानले चीन–अमेरिकी सम्बन्धका अफ्ठ्यारा दिनतर्फ संकेत गर्छ। चीनको छिमेकी र अमेरिकाको मित्र भएका कारण नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.