नरभक्षी बन्दै पाटेबाघ

नरभक्षी बन्दै पाटेबाघ

गुलरिया : मधुवन नगरपालिका—३ की २९ वर्षीया गंगा खत्रीले बाघको आक्रमणमा परी अकालमै मृत्युवरण गरिन्। सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई एक्कासि बाघले आक्रमण गरी घिसारेर केही पर पुर्या‍यो। स्थानीयले होहल्ला गरी बाघ धपाउँदा उनले प्राण छाडिसकेकी थिइन्। खत्रीको घटना सेलाउन नपाउँदै एक साताको अवधिमा खत्रीकै गाउँका थप दुई युवकले पाटेबाघकै आक्रमणमा परेर ज्यान गुमाए।

भारतको सीमावर्ती कर्तनियाघाट वनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाताजैविक मार्गमा वन्यजन्तुको संख्यात्मक रुपमा चहलपहल बढेसँगै मधुवन नगरपालिकाको उक्त क्षेत्रमा वन्यजन्तुवीचको द्वन्द्वात्मक त्रास बढेको छ। कात्तिक ५ गते खत्रीको घटना भएको हो। कात्तिक ११ गते मधुवन नगरपालिका—३ निवासी २९ वर्षीय रमेश थारू र २६ वर्षीय दिनेश थारूको जैविकमार्ग क्षेत्र धनौरामा अवस्थित बेलझुन्डी सामुदायिक वनमा पाटेबाघको आक्रमणमा परी मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए।

बिहानैदेखि हराएका रमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको हो। सँगै गएका साथी उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आई होहल्ला गरी सुरक्षाकर्मीसहितको टोली वनमा पुगेका थिए। उनले भने, ‘गाउँबाट मानिसहरू होहल्ला गर्दै वनमा पुग्दा दिनेशलाई बाघले गम्भीर आक्रमण गरेको अवस्थामा फेला परेको र सोही क्षेत्रमा खोजी गर्दै जाँदा बिहानैदेखि हराएका उमेशको समेत बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो।’

खाताजैविक क्षेत्रमा केही हप्ताअघि सीमावर्ती भारततर्फको जंगलमा पुगेका एक नेपालीको पनि पाटे बाघको आक्रमणमा परी मृत्यु भएको थियो। खाता क्षेत्रमा पाटेबाघको आक्रमणमा परी ५ जनाले ज्यान गुमाइसकेकाले बाघ नियन्त्रण गर्र्नुपर्ने स्थानीयको माग छ। वन अधिकृत वाग्लेले थपे –‘बाघ मान्छेलाई आक्रमण गर्न पल्किएकाले साँझ बिहानको समयमा वन क्षेत्रमा प्रवेश नगर्न कार्यालय मार्फ सर्कुलर गरेका छौं।’

बर्दियामा पाटेबाघको संख्या बढेसँगै मानव—बाघबीचको द्वन्द्व बढेको छ। पछिल्लो गणना अनुसार बर्दियामा ८५ वटा पाटेबाघ छन्। एक वर्षको अवधिमा पाटेबाघको आक्रमणबाट बर्दियामा ११ जनाले ज्यान गुमाएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। निकुञ्जलगायत मध्यवर्तीक्षेत्रमा बाघले आक्रमण गर्ने क्रम बढेको छ। बर्दियाको मधुवन, बाँसगढी, भुरीगाउँ, कोठियाघाट, राजापुर, गेरुवा तथा सुर्खेत र बाँकेमा पनि बाघ आक्रामक बन्दै गएका छन्। बासस्थान विनाश, अहारा अभावलगायत वनक्षेत्र अतिक्रमणका कारण बाघ वस्तीतर्फ पल्किएको हो। कडरियाले थपे, ‘वन तथा संरक्षण क्षेत्रका समुदायलाई बाघको आनीबानीलगायत यसबाट जोगिने बारेमा सचेतना बढाउनु जरुरी भइसकेको छ। हामीले खाता जैविकमार्गका स्वचालित क्यामेरा जडान गरी आक्रामक बाघको बारेमा अध्ययन गरेपछि आक्रामक बाघको वास्तविकता पत्ता लाग्छ।’

बाघ स्थानान्तरणको माग

जैविकमार्ग नजिकै सामुदायिक वनलाई बासस्थान बनाएको पाटेबाघ म्यानइटर (नरभक्षी) बन्न थालेको भन्दै स्थानीय त्रसित बनेका छन्। खाता जैविकमार्गको सीमावर्ती क्षेत्रलाई बासस्थान बनाई बसेको नरभक्षी पाटेबाघ स्थानान्तरण गर्न समुदायको माग छ। समुदायले नै जोगाएका बाघले आक्रमण गरी ज्यान लिन थालेपछि संरक्षण क्षेत्रमा चिन्ता थपिदिएको छ। 

‘एक साताभित्रै खाता क्षेत्रमा एउटै गाउँका तीन जनाको बाघको आक्रमणबाट मृत्यु हुनु दुःखद् कुरा होे, खाता सामुदायिक वन समन्वय समितिका सचिव हरि गुरुङले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.