सप्तरीका थप दुई संक्रमितको मृत्यु
राजविराज : सप्तरी घर भएर मोरङ र सुनसरी बस्दै आएका थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनिया घर भएर विराटनगर बस्दै आएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको उनका परिवारका सदस्य दीपक मण्डलले जानकारी दिए ।
विराटनगरको जनपथ टोलस्थित जनपथ माविमा शिक्षण पेशामा कार्यरत उनलाई ज्वरोका साथै टाउको दुखेपछि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि शनिबार विराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको मण्डलले जानकारी दिए ।
मण्डलका अनुसार विराटनगर–१२ मङगलबारे हाटमा बसोबास गर्दै आएका उनको शव विराटनगरस्थित हाटखोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उनको मिर्गौलासमेत खराबी भएको थियो ।
यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरीको महादेवा गाउँपालिका–५ घर भएर सुनसरीको धरान–१८ बस्ने ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएका उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको र मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतकको शव सप्तरीको आफ्नै गाउँमा नेपाली सेनाले व्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यादवका अनुसार सप्तरीमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । हालसम्म १ हजार ६३१ जना संक्रमित भएकोमा १४ सय जना निको भएको बताएका यादवले सप्तरीमा हाल २ सय २ जना सक्रिय संक्रमित रहेको जनाए ।
होम आइसोलेशनमा १ सय ७९ जना रहेकोमा संस्थागत आइसोलेशनमा अहिले २३ जना मात्र रहेको यादवले जानकारी दिए ।