अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीको कोरोनाले मृत्यु
राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक कर्मचारीको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सप्तरी जिल्लामा ३० पुगेको छ। अस्पतालद्वारा सञ्चालित फार्मेसी पसलमा कार्यरत २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले जानकारी दिए।
अस्वस्थ्य भएपछि गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका उनको गत कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।
राजविराजको अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको अवस्था बुधबार अचानक स्वास्थ्य अवस्था बिग्रिएको र बाहिर लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।
बिहान चिया नास्तासमेत खाएका उनी आराम गरिरहेको शैय्याबाट लडेको डा. झाले बताए। उनको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ।