अझै ‘बालीघरे प्रथा’
उदयपुर : ‘हिजोजस्तो जोस त छैन, तैपनि काममा रत्तिभर कमी छैन्, अहिले पनि पाँच केजीको हम्बर उचालेर फलाम पिटछु, झन्डै ५० घर बिष्टका फलामे सामग्री बनाएर जीविकोपार्जन गरिरहेको छु।’ उमेरले ८३ वर्ष पुगेका रौतामाई गाउँपालिका–७ का दलमान विश्वकर्माको दैनिकी खन्ती र खलाती कुटेर बितिरहेको छ। सामान्यतया यो उमेर परिवारसँग आराम गर्ने हो। ८३ वर्षसम्म जीवितै रहने मानिसहरू कमै पाइन्छ त्यसमध्येका दलमानमा अहिले पनि युवा जोसजाँगर छ।
१३ वर्षदेखि सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता बुझे पनि उनी त्योभन्दा धेरै गुणा आफैं काम गरेर कमाउने गरेका छन्। उनको त्यो मेहनत र जोसजाँगरको गाउँलेले समेत सम्मान गरेका छन्। समयको परिवर्तनसँगै बजारमा फलामे सामग्री सस्तोमा पाइए पनि उनीप्रतिको विश्वास र गुणस्तरीय काममा बिष्टहरू सन्तुष्ट छन्।
४५ वर्षदेखि निरन्तर फलामको काम कमाउने दिँदै आएका (बालीमा काम गर्न दिएको) खड्गबहादुर खड्का भन्छन्, ‘बजारमा फलामका सामग्री छ्यापछ्याप्ती छ। तर, विश्वास दलमानसँगै छ, उसले गर्छु र सक्छु भनुन्जेलसम्म छोडदिनँ।’ बजार नहुँदादेखि सहयोग गर्दै आएकाले मानवीय हिसाबले पनि छोड्न नमिल्ने उनको भनाइ छ।
‘जति सक्छन्, उति गर्छन्, कामको बेला हामीलाई खाँचो भएको छैन्,’ खड्काले भने, ‘शरीरले सकेसम्म र उनले भयो अब अर्को व्यवस्था गर्नु नभनेसम्म छोडिन्न।’ ५० घर बिष्ट समालेका उनी त्यस क्षेत्रका एक्ला व्यक्ति हुन्। धेरैजसो नगदमा काम गर्ने र केहीले थोरै घरमा मन हार्न नसकेर मात्र काम गर्ने गरेको उनी बताउँछन्।
कतिपयले पेसा नै छाडे पनि उनले पुर्खादेखिको पेसा भन्दै सम्हाल्दै आएका छन्। ‘५० घरपरिवारका बिष्टलाई खुसी पार्नु चानचुने कुरा हैन,’ उनी भन्छन्, ‘१० वर्षदेखि सुरु गरेको यो पेसा ८३ वर्ष पुगे बिष्टले गाली गरेका छैनन्, बरु सिक्दा बुवाले धेरै गाली गर्नुभयो।’ अन्य पेसा नभएकाले समयमा नै काम सकेर सामान बुझाउने भएकाले पनि गाली खान नपरेको उनको भनाइ छ।
चाडपर्वमा कहिल्यै चामल र मासु किन्नु परेको छैन
चाडपर्वमा सहर बजारमा मासु किनेर खाने गरे पनि गाउँघरमा अहिले पनि सबै घरमा खसी, सुँगुर, राँगा काटने चलन छ। र आफूले कमाएको फलामका सामग्री बनाउने र कपडा सिउनेलाई मासु र धानको भाग दिने गरिन्छ।
फलामको सामग्री बनाउँदा काम गर्ने घरबाट ‘गर्धन’, कपडा सिउनेलाई ‘पुच्छर’ र धान दिने चलन छ। यो भागको मासु सामान्यतया एक केजीभन्दा माथि नै हुने गर्दछ। र धान वर्षको कम्तीमा १२ पाथी दिने चलन छ। धेरै खेती हुनेको फलामको काम बढी हुने भन्दै आपसी समझदारीमा वर्षको मुरीसम्म लिने चलन छ। यो पुरानै संस्कार हो, जुन अहिलेसम्म पनि गाउँघरमा चल्दै आएको छ। यही चलनका कारण दलमानले यो वर्ष पनि दसंैमा ५० केजी बढी मासु र ३० मुरी बढी धान संकलन गरे। त्यसैबाट वर्षभरि जीविकोपार्जन हुँदै आएको उनी बताउँछन्। आफू फलामका सामग्री नै बनाउन व्यस्त हुने भएपछि मासु र चामलको भाग उठाउन दुईवटी श्रीमती र नाति परिचालन गर्ने गरेका छन्। यसबाट उनको १० जनाको परिवार पालिएको बताउँछन्।
७ वर्षको उमेरदेखिको सीप
पहिलो पटक ७ वर्षको उमेरमा चक्सरबाट फलामका सामग्री बनाउन सुरु गरेका विकले १० वर्षको उमेरमा घाँस काट्ने कचिँया बनाउन सुरु गरे। ११ वर्षको उमेरदेखि गाउँमा बिष्ट बनाउन सुरु गरेको उनी बताउँछन्। पुर्खादेखि गर्दै आएको पेसालाई उनले कलिलै उमेरमा सम्हालेका हुन्।
बुवाको कामलाई सहयोग गर्दागर्दै ११ वर्षको उमेरदेखि गाउँघरमा चलनचल्तीमा रहेका कचिँया, हँसिया, खुर्पा, खुकुरी, कोदालो, करुवा, फाली, चुप्पी, कट्टीजस्ता सामग्री बनाउन थालेको उनी बताउँछन्। उनी भन्छन्, ‘रानीबास, डुम्रीथुम्का, पुवाँरेका झन्डै ६०/७० घर बुवाका बिष्ट थिए, सधंै कामको चाप हुन्थ्यो अलि–अलि गर्दागर्दै सिके।’ नजिकमा विद्यालय नभएपछि पढाइ छोडेर यो पेसा सुरु गरेको उनी बताउँछन्। ‘नजिकमा स्कुल थिएन, बुवाको चाहना पनि स्कुलभन्दा आफ्नो शेषपछि कसरी यो पेसालाई निरन्तरता दिने भन्ने सधै चिन्ता लिनु हुन्थ्यो त्यसैले यतै हात हाले।’ उनले भने, ‘आगोको रापमा बस्दा र बलको काम गर्दा सुरु सुरुमा त वाक्क लाग्थ्यो। तर, बुवाले अन्य काम गर्न सक्दैनस् यो काम नछोड भनेर सम्झाउनुहुन्थ्यो।’ त्यति धेरै कमाइ नभए पनि परिवारको पालनपोषण गर्न पुगेको उनी बताउँछन्।
बालीघरे प्रथाभन्दा पनि ज्यालामै काम गर्न फाइदा हुने बताउँदै उनी भन्छन्, ‘आफूले त जेनतेन पुरानो संस्कार र प्रथालाई कायम राखे मेरा छोरा नातिले गर्न सक्दैनन्।’ छोरा नातिलाई पेसा सिकाए पनि उनीहरू ज्यालादारीमै फाइदा भन्दै बालीघरे प्रथा छोडेको उनी बताउँछन्। उनले भने, ‘बालीघरे प्रथाको यो गाउँमा अन्तिम व्यक्ति सायद मै होला।’
दलितको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीले भने बालीघरे प्रथाको विरोध गर्ने गरेका छन्। दलित अधिकारकर्मी फुन्दे विक भन्छन्, ‘आफैंलाई श्रमको ज्याला नपाएको थाहा छ, तर उनीहरू न आफू बालीघरे प्रथाको विरोध गर्न सक्छन्, न त कसैले उनीहरूको पक्षमा बोली नै दिएको छ।’
दलितकै नारालाई अघि बढाएर सदनदेखि सत्तासम्म पुग्नेहरूले पनि दलितहरूलाई काम गरेअनुरूपको ज्याला दिलाउन पहल नगरेको उनको गुनासो छ। ‘बालीघरे सदियौँदेखि दलितहरूलाई गरिएको दास प्रथा हो,’ उनले भने, ‘दलितहरूका वैज्ञानिक कामलाई पूरै अवमूल्यन गरिएको छ, कामअनुसारको दाम पाइरहेका छैनन्।’