यस्तो पो सार्वजनिक शौचालय !
ललितपुर : सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित, अव्यवस्थित र आपत्मा मात्रै प्रयोग गर्न मिल्ने भन्ने सोचाइ जो कोहीमा हुन सक्छ। तर, पाटन दरबार स्क्वायर परिसरको सार्वजनिक शौचालय भने निकै फरक छ।
शौचालयकी अपरेटर सुमा नेपाली एक महिलालाई शौचालय प्रयोगबारे सिकाइरहेकी थिइन्। एउटा सिक्का खसाएपछि मात्रै शौचालयको ढोका खुल्छ। त्यहाँबाट निस्कँदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ।
बोर्डले सांकेतिक चिह्नमार्फत बाहिर जान भनेपछि बाहिर निस्कन सकिन्छ। नेपाली यस्तै जानकारी नयाँ सेवाग्राहीलाई बताइरहेकी थिइन्।
बाथरुम प्रयोग गर्नेहरू हात सुकाएर मुस्कुराउँदै बाहिर निस्किरहेका देखिन्छन्। शौचालय प्रयोग गरेर बाहिर निस्कँदै गरेकी एक महिलाले भनिन्, ‘यस्तो सफासुग्घर ठाउँमा त आउन मन लागिहाल्छ नि।’ पहिलो पटक उनले यस्तो शौचालय प्रयोग गरेकी हुन्। व्यवस्थित शौचालयको अभावमा धेरै महिलालाई समस्या हुने गरेको उनले बताइन्।
सो काउन्टरमा आठ आठ घण्टाको फरकमा कर्मचारी परिवर्तन हुन्छन्। महिनावारी भएका महिला तथा किशोरीले त्यहीँबाट स्यानिटरी प्याड किन्न सक्छन्।