कर्णाली प्रतिष्ठानमा फेरि लफडा, २२ दिन बित्यो, अझै खुलेन ताला
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासन र केन्द्रीय प्रशासन कार्यालयमा तालाबन्दी भएको २२ दिन पुगिसकेको छ। नयाँ निर्देशकको नियुक्तिको विषयलाई लिएर त्यहाँका कर्मचारीले लगाएको ताला अझै खुल्न सकेको छैन । प्रतिष्ठानका उपकुलपतिले अनावश्यक कर्मचारी भर्ती गरेको भन्दै प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजले तालाबन्दी गरेको हो।
न त प्रतिष्ठानले आन्दोलनरत कर्मचारीसँग वार्ताका लागि कुनै पहल थालेको छ। गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डिनमा प्राडा मुन्निराज क्षेत्रीलाई नियुक्ति गरेका थिए।
अहिले सोही नियुक्तिलाई खारेज गर्नुपर्ने कर्मचारीको माग छ। यस्तै, प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भए पनि मेडिकल डिन रेशम रानाको विषयले पनि प्रतिष्ठानका कर्मचारीभित्र तिव्र असन्तुष्टि व्यक्त भएको छ।
मेडिकल डिनका रुपमा नियुक्ति भएका रानाले एसएसबीएच भन्ने प्राजेक्टबाट सुविधा लिनुका साथै ऐनेस्थेसिया सहायक कोर्ष कोर्डिनेटरको जिम्मेवारीमा रहेर पनि सुविधा लिएको कल्याणकारी समाजको आरोप छ।
समाजका एक पदाधिकारीका अनुसार यसरी एउटै संस्थाभित्र लिएर तेहेरो सुविधा लिनु गैरकानुनी भएको बताए । साथै कर्मचारीहरुले हालका अस्पताल निर्देशकका रुपमा रहेका डा. मंगल रावललाई पनि अनियमित तवरले नियुक्ति दिइएको आरोप लगाइएको छ । पहिले मेडिकल डोइरेक्टर पद रहेकोमा प्रतिष्ठानको कार्यकारी परिषद्ले त्यसलाई खारेज गरेर अस्पताल निर्देशकको रुपमा बनाइएको छ । पहिले मेडिकल डाइरेक्टरका रुपमा डा. पुजन रोकाया थिए।
पछि पुजन रोकायालाई मेडिकल डाइरेक्टरबाट हटाइ डा. मंगल रावललाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएको थियो। अहिले यो विषय पनि प्रतिष्ठानभित्र विवादित नै बनेको छ। कारण अस्पताल निर्देशकका रुपमा अर्का धर्मराज गोसाइ पनि छन्। अन्य प्रतिष्ठानहरुमा निर्देशकमा एक जनाभन्दा बढी नभएको अवस्थामा कर्णाली प्रतिष्ठानमा दुईजना हुनु अनावश्यक भएको असन्तुष्ट कर्मचारीको ठहर छ।
यता प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले स्वास्थ्य संकायका डिनको नियुक्तिका सम्बन्धमा भने उपकुलपतिले आवश्यकताअनुसार नियुक्ति गर्न पाउने बुँदा ऐनमा उल्लेख भएकाले ठूलो विषय नभएको बताउँछन्।
हाल आफू कोरोना संक्रमित बनेर आइसोलेसनमा बसेकाले पनि वार्ताको लागि वातावरण नबनेको उनको भनाइ छ। वार्ताका लागि भनेर काठमाडौंबाट एक साताअघि हिँडेका उपकुलपति वाग्लेसहितको टोली अहिले जुम्लाको एक होटलमा बसिरहेको छ । तीन दिनदेखि होटलमा बसे पनि वार्ताका लागि कुनै पहल नथाल्नुले उपकुलपतिले प्रतिष्ठानलाई कर्मचारी भर्तीकेन्द्रबाहेक अरु केही बनाउन नखोजेको समाजका एक पदाधिकारीले बताए ।
असन्तुष्ट पक्षले डिन नियुक्ति तत्काल खारेज गर्नुका साथै कोरोना उपचारमा खटिएका कर्मचारी र चिकित्सकको जोखिमभत्ता पनि तत्काल उपलब्ध गराउन माग गरेको छ ।
प्रतिष्ठानमा कर्मचारी भर्तीमा मन्त्री, उपकुलपति,रजिस्टार,मेडिकल,अधिकृत, अधिकृत पत्रकार र अन्य उच्च ओहोदामा भएका व्यक्तिका आफन्त,नातेदार मात्र देखिन्छ यसले पनि प्रतिष्ठानको क्रियाकलापमा प्रश्न उठाएको देखिन्छ ।