पूर्वमिस नेपाल श्रृंखलाले मनाइन् शिरुवारीमा जन्मदिन
स्याङजा : पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पर्यटकीय गाउँ शिरुवारीमा जन्मदिन मनाएकी छन्। खतिवडाले २५ औं जन्मदिन मनाएकी हुन्। खतिवडा मिस नेपालसहित मिस वल्र्ड टप १२ पनि हुन्।
२०१८ का मिस नेपाल खतिवडासहितको १३ जनाको समूह शिरुवारीमा ३ दिन बसेर फर्किसकेका छन्। मुस्ताङ्का समाजसेवी नावाङ लामासहित यूट्युव ब्लगर सिसन बाँनिया, नायक सारुक ताम्राकारलगायतको समूहले शिरुवारी पुगेका हुन्।
मुस्ताङ्को लोमान्थाङ्सम्म पुग्ने अभियानमा आएका उनीहरु कोरोनाका कारण उता पुग्न नसकेपछि शिरुवारीबाटै फर्किएको पर्यटन व्यवसायी उर्मिला गुरुङले जानकारी दिइन्। नव युवा क्लबले केकको व्यवस्थापन गरेको थियो।
आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित शिरुवारीमा उनीहरुले यहाँ तीन दिन बिताए। बसाइका क्रममा उनीहरुले गाउँले तथा पहाडीया जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारुलगायतका क्षेत्रका घुमिफिर तथा अवलोकन गरे।
बाक्लो गुरुङ बस्ती रहेको शिरुवारीको कला, संस्कृति र रहनसहनका बारेमा सात्क्षात्कार गरे। कला संस्कृति र स्थानीय भेषभुषामा नाचे, गाए, रमाए। चिसो र सफा वातावरण, सुन्दर, सफा र खुशी बोलीव्यवहारले आफू निकै प्रभावित भएको खतिवडाले बताएको गुरुङले भनिन्। उनी पुनः आउने बाँचाका साथ फर्किएको पनि उनले बताइन्।
चिटिक्क मिलेको सफा घर, बस्ती। स्थानीय उत्पादनमा जोड। पारिवारिक सदस्य झैं व्यवहार गर्दे घरघरमा पाहुना राख्नेगरी घरबास पर्यटनका अभियन्ता पूर्व सांसद स्व. क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालदेखि होमस्टेका रुपमा संचालनमा आएको हो।
यहाँ गुरुङ जीवनशैली स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गरिन्छ भने स्थानीय खानापानमा जोड दिइन्छ। नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने स्याङजाको सिरुवारीलाई होमस्टेको उद्गम थलोको रुपमा परिचित छ।