सांस्कृतिक यथास्थितिमा हस्तक्षेप !

सांस्कृतिक यथास्थितिमा हस्तक्षेप !

लैनसिंह बाङदेल नेपालको चित्र सधैंभरि आँखामा लिएर बाँच्न चाहन्थे। देशको गहना भएर बसिरहन चाहन्थे। हिमालको काखमा अडिएको सुन्दर सानो राष्ट्र नेपाल दुनियाँको आँखामा सबैभन्दा उच्च भएको जिकिर उनको थियो।


नेपाली समाजलाई कला र साहित्यको समृद्ध स्वादको माध्यमबाट सप्तरंगी इन्द्रेणी बनाउन निर्णायक भूमिकामा रहेका एक जना सिद्धहस्त कलाकारको नाम हो, लैनसिंह बाङदेल। उनको रंगको ताकतको तुलना हत्तपत्त अरू कसैसित गर्नै सकिँदैन। तसर्थ, नेपाली कलाकारिता क्षेत्रमा उनको नाम एउटा ‘ब्राण्ड’ नै हो भने पनि हुन्छ। उनैले हो नेपाली कला र संस्कृतिको ‘बाली फस्टाउन आनाकानी गरिरहेको’ रुखो माटोमा ‘सिर्जनाको पानी’ सिञ्चिएको। 

एउटा बुझाइ स्थापित छ– कुनै पनि राष्ट्रको कला र साहित्यले त्यस देशको सामाजिक मूल्य, आर्थिक चलायमानको अवस्था तथा सांस्कृतिक आयामको भरपर्दो ऐनाको काम गरेको हुन्छ। त्योभन्दा बढी त सम्बन्धित मुलुकको समकालको सर्वांगीण राजनीतिक स्वतन्त्रता र सार्वभौम अधिकार अभ्यासको समानान्तर प्रतिनिधित्व गरेको हुन्छ भन्दा फरक पर्दैन। बाङदेलले त नेपाली समाजको आयामिक मनोदशालाई आफ्ना सिर्जनाको तानमा उनेर भौगोलिक सिमानाभन्दा धेरै टाढा पुर्‍याएका छन्। त्यही भएर त उनले बाँचेको समाज र उक्त समाजको राजनीतिक चेतनाको अभिलेखीकरण नै पनि भएको छ। कला र साहित्य लेखनको गतिलाई आधुनिकतातर्फ उन्मुख गराउने कार्यमा उनको सिर्जनशीलताले उल्लेख्य सघाएको छ। अभिव्यक्तिका विभिन्न माध्यमबाट नेपालको सांस्कृतिक गतिलाई समात्ने प्रयत्न गरेका बाङदेलले जहिले पनि समाज रूपान्तरणका पक्षमा आफूलाई उभ्याए। उनको सिर्जनाको फराकिलो दायरामा 

अटाएका चित्रकलाले नेपालको विविध सामाजिक, आर्थिक र राजनीतिक उत्तारचढावको खास रेखा मात्रै खिचेका छैनन्, सिंगो समयको मूल्य नै प्रतिविम्बित गरिदिएका छन्। 

पुनर्बोधको अध्याय 
नेपालको कला तथा साहित्यको उत्थानको निम्ति दरबारले बरु धेरथोर उदारता देखायो। तर, पञ्चायत ढलेपछि त झन् नेपाली कला सहित्यलाई राज्यले सधैं उपेक्षा गरेको आरोप लाग्दै आयो, लागेकै छ। तत्कालीन राजा महेन्द्रले नेपाली कलाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दृष्टान्त यो हो कि– पेरिसमा पढ्दै गरेका बाङदेललाई नेपाल झिकाएर नेपाली कलाको पुनर्जागरणका निम्ति सक्रिय तुल्याउने आँट गरे। नेपाल प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले नेपालको सांस्कृतिक आयामलाई थप मजबुत बनाउने काम गरे। भाषाले पनि त्यसैगरी फस्टाउने प्रेक्षालय पायो। बाङदेलको आगमनपश्चात् नेपाली कलाले फस्टाउने उर्वर थलो आफैं निर्माण गर्न सफल भयो।

साहित्यतर्फ उनको उल्लेख्य पक्षको रुपमा सामाजिक यथार्थवादी चिन्तनप्रतिको खास बुझाइ र त्यही बुझाइले निखारेर परिपक्व बनाएको उनको लेखनी नै हो।  उनमा कलाको व्यावहारिक ज्ञान त छँदै थियो, सैद्धान्तिक ज्ञानको पनि कमी थिएन। कलाकारिताको माध्यमबाट जुन तहको भूमिका उनले निभाएका छन् त्यसले समाज रूपान्तरणका निम्ति उत्प्रेरकको काम गरेको छ। सम्भवतः उनी नै पहिलो नेपाली हुन् जसले फ्रान्सको राजधानी पेरिसमा एकल चित्रकला प्रदर्शनी गर्ने आँट गरे। नेपाली समाजले भोगेको कहरलाई कला र साहित्यको माध्यमबाट खरो अभिव्यक्त गरेकाले पनि बाङदेलले आफ्ना क्यानभाषमा पोतेका हरेक रंगले उनले बाँचेको सिंगो इतिहास बोके। उनले बाँचेको समयको साक्षी बसे, ती रंग। त्यति मात्रै त कहाँ हो र ? समाज र संस्कृतिको हुलिया बदल्नका निम्ति पनि ती भरपर्दा अस्त्र बने। 

त्यसो त, बाङदेलका कुचीले कलाका स्थापित अवधारणा र मान्यताको सैद्धान्तिक मर्म र परिधिलाई भन्दा बढी व्यावहारिक पक्षमा चासो दिएका छन्। त्यही भएर पनि उनले आफ्नो चित्रकारितालाई हरदम नयाँ शैलीको अभ्यास गर्न र वैचारिक धरालत प्रदान गर्न सके। हुन त, अमूर्ततावादको सैद्धान्तिक अवधारणाको पनि उनले पुनर्बोध गरे। नेपालीका हरेकजसो पीडालाई कलाको आवरणमा उनले नेपालको यथार्थ चित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सकेकैले पनि होला उनको कलाकारिताले मौलिकताको खास हुलिया निर्माण गरेको। उनका क्यानभाषमा पोतिने फरकफरक रंगको व्याख्या आज गर्नु पर्‍यो भने नेपालीको बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक परिचयको द्योतक रहेको तर्क गर्न सकिन्छ। 

राष्ट्रप्रेम र सिर्जनशील प्रभाव
उनका सिर्जनामा नेपालको काँचो माटो बसाएको हुन्छ भने लेखनमा चाहिँ राष्ट्रप्रतिको माया र आस्था प्रतिविम्बित भएको हुन्छ। पत्नी मानुलाई एकपटक पत्रमै पनि लेखेका थिए, ‘तिम्रो कलाकार कविभित्र नेपाल र नेपाली आदर्श छ। तिम्रो कविलाई नेपाली गौरवको असीम प्यास छ।’ उनी स्वयंले पटकपटक भन्ने गर्थे कि, उनको चित्रमा नेपाली आत्माको प्रतिविम्ब लुकेको हुन्छ। उनी नेपालको चित्र सधैँभरि आँखामा लिएर बाँच्न चाहन्थे। देशको गहना भएर बसिरहन चाहन्थे। हिमालको काखमा अडिएको सुन्दर सानो राष्ट्र नेपाल दुनियाँको आँखामा सबैभन्दा उच्च भएको जिकिर उनको थियो। कला र साहित्य राष्ट्रको मुटु भएको र त्यसलाई छाम्दा राष्ट्रको ढुकढुकी थाहा पाइने तर्क गर्ने उनै बाङदेल हुन्। 

भारतीय कवि रवीन्द्रनाथ ट्यागोरको लेखकीय प्रभाव उनमा अलि बढी नै परेको भान हुन्छ। प्रेम चन्दको प्रभाव त बाङदेलको लेखनीमा स्पष्टै देखिन्छ। उनका हरेकजसो सिर्जना राष्ट्रप्रेमको भावनाले ओतप्रोत छन्। त्यसो त, बाङदेल नेपाली साहित्यका तत्कालीन धरोहर सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको लेखननीबाट पनि उत्तिकै प्रभावित भएको उनी स्वयंले सकारेका छन्। नेपालप्रतिको अगाध आस्था र श्रद्धाकै कारण होला देश छाडेर प्रदेश जानुपर्दाको पीडा उनले कतिपय लेखनमार्फत प्रतिविम्बन गरेका छन्। बाङदेलले भनेकै छन् – मानिस जब आफ्नो भौगोगिक सीमा नाघेर जान्छ, त्यतिबेला उसलाई आफ्नो देश र जन्मस्थानको मूल्य बोध हुन पुग्छ। 

अनुभवले पनि उनको खास जीवन भोगाइलाई ज्ञानमा आधारित बनाएको थियो। जस्तो कि, कोलकाताका सहरमा उनले आधारभूत सूरक्षाबाट समेत विमुख आर्थिक हैसियतका अतिसीमान्तकृत भुइँमान्छेको कहर देखे, जसको गहिरो असर उनमा पर्‍यो। र, यसैको उनको अभिव्यक्ति शैली थप तिखार्‍यो पनि। बाङदेलको चित्रकारिताले समाजमा विद्यमान कुरीतिविरुद्ध खरो आवाज उठाउने आँट गरेका छन्। हरेकजसो सामाजिक द्वन्द्वात्मक पक्षलाई उनले स्विकारेका त थिए भलै परिवर्तनको निम्ति भने उनले आफूलाई क्रियाशील बनाइरहे। रातारातभन्दा पनि परिवर्तनले निश्चित समयको माग गर्ने उनको बुझाइ थियो, जुन दार्शनिक बुझाइ हो। 

बहुआयामको कसी 
खुबीको हिसाबले बाङदेलको परिचय बहुआयामिक थियो। उनी एक कुशल अनुवादक पनि हुन्। उनको अनुवाद कौशलको नमुना मरोजकभ्स्की, चेखब, एड्गर एलन पो, मोपासाँ, तुर्गेनिभ, टोल्सटय, केरोलीलगायत चर्चित लेखकका चर्चित कथाको अनुवादले दिन्छ। तिनको नेपालीकरणले विश्व साहित्यमा नेपाली पाठकको पहुँच स्थापित हुन पुग्यो। यदि, उनले यसले अग्रसरता नदेखाएको भए सम्भवतः तत्कालीन समयमा विश्वका विभिन्न समयलाई प्रतिनिधित्व गर्ने विख्यात कथाकारका कथामा आमनेपाली पाठकको पहुँचको सुनिश्चितता नहुन पनि सक्थ्यो। जीवन भोगाइसित सम्बन्धित मसिना पक्षलाई सैद्धान्तिक ढर्राभन्दा पर गएर व्याख्या गर्नसक्ने कौशल थियो, बाङदेलमा। ‘द स्टोलन इमेजेज अफ् नेपाल’ र ‘इन्भेन्टरी अफ् स्टोन स्कल्पचर्रस अफ् द काठमाण्डू भ्याली’ (किताब)ले नेपालका सांस्कृतिक सम्पदाको भरपर्दो अभिलेखीकरण गरेका छन्। ‘आधुनिक कलाका नेपाली पिता’का रूपमा उनले नेपालीमाझ आफ्नो परिचय निर्माण गरेका छन्। 

सन् १९१९ मा भारतको दार्जिलिमा पिता रंगलाल राई र आमा विमला राईको कोखबाट जन्मिएका लैनसिंह बाङदेलले नेपाली साहित्य लेखनलाई पत्र तथा दैनिकी लेखनको नयाँ विधासित पनि परिचित गराउन भ्याए। ‘मुलुक बाहिर म’ उनको यस्तै एउटा नयाँ विधाको हुलिया निर्माण गर्न खोजेको किताब हो।  महान् स्पेनिस चित्रकार पाब्लो पिकासोबाट प्रभावित बाङदेलले नेपाली कलाका साथै भाषा र साहित्यलाई पनि फुलाउन हरतरहको प्रयत्न गरेको इतिहासले भनिहाल्छ। कोलकाताको ‘कलेज अफ् आर्टस् एण्ड क्य्राफ्ट’बाट स्नातक उपाधि हासिल गरेपछि कलाको अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्ने हुटहुटीको पारो थप उकासियो। कलाबारे उनमा ज्ञानको भोक बढ्दै गयो र अध्ययनका निम्ति उनी सन् १९५२मा युरोप उडे। 

सामाजिक न्यायको पैरवी
उनको लेखनमा न्यायिक दृष्टिबाट हेर्ने हो भने पनि तिनले न्यायको पक्षमा वकालत गरेको पाइन्छ। यात्रा निबन्धको रूपमा लेखिएको ‘युरोपको चिठी’मा बाङदेलले दोस्रो विश्वयुद्धले तहसनहस बनाएको युरोपको सौन्दर्यलाई समेटेका छन्। समाजमा रहेको सामाजिक–आर्थिक असमानताको फराकिलो अन्तरलाई यथार्थवादको ऐनामै राखेर बुझ्न सक्ने खुबी थियो, बाङदेलमा। यस्तै, खुबीको नमुनाको रूपमा ‘मुलुक बाहिर’लाई लिए हुन्छ। आर्थिक बाध्यताको भार थाम्न नसकेर विदेसिनु पर्ने आमनेपालीको नियतिलाई जस्ताकोतस्तै किताबी आकार प्रदान गरेका हुन्। त्यसैगरी, उनको अर्को दमदार यात्रा निबन्धको नमुनाको रूपमा टिप्पणी गरिने संग्रह हो ‘रोमको एउटा फूल पेरिसको एउटा काँडा’। उनको निजी भोगाइको हरेकजसो सुन्दर र उल्लेख्य पक्षहरूको उत्खनन यस किताबमा गरिएको छ। त्यसो त, ‘माइत घर’ नेपाली महिलाले भोग्न बाध्य समस्याको चाङबाट प्रतिनिधि समस्यालाई औपन्यासिकीकरण गरिएको नेपाली समाजको खास कथा हो। 

उनका सिर्जनाले समाज रूपान्तरणको पक्षमा पैरवी गरेको छ। ‘लंगडाको साथी’ एउटा आख्यान भए पनि त्यसले मानव र पशुबीचको घनिष्टता र सम्बन्धको आयामलाई उच्चतम रूपमा प्रस्तुत गरेको छ। हुन पनि आजका मानिसमा व्यक्तिवादी सोच हाबी हुँदै गएको छ। समाजको यस्तो डरलाग्दो गणितलाई पशुले देखाउने मानवप्रेममको मूल भावमाथि लेखिएको एउटा ‘मास्टर पिस’ नै हो।। बाङदेल पशुलाई पनि सम्मानजनक आँखाले हेरिनुपर्ने र मायालु मुटुले व्यवहार गरिनुपर्ने तर्क गर्छन्। त्यसैले पनि होला, नेपाली कलाको मूल्य प्रवद्र्धनमा स्रष्टा लैनसिंह बाङदेल ‘आविष्कारक’ नै साबित भए।

जीवनजस्तै रंग पोतेर मानवीय अनुभूतिलाई उनले जीवन्त बनाउने कौशल राख्थे। राष्ट्रलाई सांस्कृतिक रूपान्तरणको खाँचो भएको तर्क उनले गर्न कहिल्यै छाडेनन्। उनको सन २००२ मा निधन भयो। उनले यो पत्तो पाएनन् कि उनी स्वयं नै मुलुकको सांस्कृतिक हुलिया बदल्ने अभियन्ता थिए। देशले गरेको सम्मानलाई एकैक्षण बिर्सिने हो भने, बेलायती सरकारले पनि ‘नाइट कमाण्डर अफ रोयल भिक्टोरियन अर्डर’बाट उनलाई सम्मान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.