कागको लास

कागको लास

कागको मृत शरीर जस्ताको तस्तै थियो। सनाखत हुन नसकेको लास झैं। बेवारिसे बनेर बसिरहनुपर्ने कस्तो नियति यो ? अनेक तर्कना गर्दै हेरिरहेको थिएँ कागको लासलाई। हेर्दाहेर्दै लाग्यो, कागको लास मान्छेको लासको रूपमा परिवर्तन भएको देखें। संवेदनहीन भएर गइसकेको आजको मान्छेको समाज।


अचानक !

ढ्वाङ्ग !!
अपराह्न, निकै ठूलो आवाज आयो, बाहिर 
एकदमै नजिकैबाट।
सहरको कोलाहलमय वातावरणमा अभ्यस्त म ! जुनसुकै–जस्तोसुकै पनि किसिमको आवाजले 
मलाई पटक्क छुँदैन।
दैनिकीमा कति थरीका छन् आवाजहरू ?
– प्रायः प्रत्येक दिन सडकहरूमा लाग्ने राजनीतिक वा सामाजिक जुलुसका नाराहरू।
– महानगरपालिकाले मोटरगाडीबाट बेला–बेलामा उद्घोषण गर्ने सूचनाहरू। 
– छिमेकमा बज्ने हिन्दी सिनेमाका र कहिलेकाहीँ नेवारी भाषाका गीतहरू।
– खाली सिसी, पुरानो कागज, फलामका टुक्रा...
– आलु, प्याज, टमाटर, काउली, मुला, काँक्रा...
– फोहोरमैला संकलनको संकेतात्मक 
चहकिलो सिट्ठी।
– खानेपानीको ट्यांकीको घ्यारघ्यार।
– साइलेन्सरबिना दौडिने मोटरसाइकलको पटटट...।
– नयाँ घर बनाउँदा फलामको डन्डी काटेको वा ढलान गर्दाको घ्वाइँ आदि।
तर यो आवाज ! 
ढ्वाङ्ग !!!
यी अनेकन किसिमका आवाजमध्ये कतै पनि मिल्दोजुल्दो थिएन यो, सर्वथा भिन्न। लाग्थ्यो, यो ढ्वाङ्ग... आवाज कतै टाढा तोप पड्काउँदा सुनिएजस्तो वा कुनै बेला ठाउँ–ठाउँमै पड्किने गरेको सुतली बम, 
कुकर बमजस्तो। 
साह्रै नजिकैबाट आएको थियो यो आवाज।
आवाज सुनेर एक किसिमले आत्तिएँ भने पनि हुन्छ। साँच्चै मुटुमै कम्पन गयो।
कतै बम त पड्किएन आफ्नै टोलमा ? त्रासले खुट्टा थरर काँपे। शरीरभरि अचानक गर्मी बढेर गएजस्तो भयो। लाग्यो, पसिनाले निथु्रक्कै भिजेको छु।
फेरि, आवाज त्यो मात्रै होइन, ढ्वाङ्ग...को आवाजसँगै एउटा अर्को सामूहिक आवाज पनि आयो, थुपै्र कागहरूको— ‘काग ! काग !! काग !!!’
हत्तारिँदै कोठाबाट बरन्डामा निस्कन्छु म।
देख्छु, मेरो घरका छिमेकीहरू आआफ्ना घरका झ्याल–झ्यालमा टाउको निकालिरहेका। कोही, कोही कौसीमा निक्लिएका। अनि छट्पटाएजस्तो। आकाशमा चारैतर्पm कागका झुण्डहरू कराइरहेका— ‘काग ! काग !!’
मलाई, परिस्थिति बुझ्न एक निमेष नै लागेन।
मेरा आँखाहरू सीधै गएर स्थिर भए— मेरो घरअगाडिका बिजुलीका दुई खम्बाको फेदमा। 
छेउमै उत्तानो पल्टिरहेको थियो— निक्खर कालो 
एउटा काग, निःशब्द।
कुनै हलचल थिएन कागमा।
थाहा पाउन कठिन भएन— एकछिन अघिसम्म जीवित थियो त्यो काग, अहिले प्राणविहीन भइसकेको छ।
देखें, खम्बामा जोडिएका बिजुलीका मोटा–मोटा तारहरू हल्लिरहेको। पक्कै पनि उड्दाउड्दैको त्यो कागले करेन्ट प्रवाहित बिजुलीका नेगेटिभ र पोजिटिभ तारमा एकसाथ छोइदियो। छुनु के थियो, परिणामतः दुई भिन्न प्रकृतिका तारहरूले आफ्नो स्वभावअनुरूप विज्ञानको हिसाब गरिदियो— ‘हामी एकसाथ मिलेर 
बस्न सक्दैनौं।’
‘ढ्वाङ्ग !!!’
नेगेटिभ र पोजिटिभको एक–आपसको विद्रोहको आवाज र आवाजसँगै कागको मृत्यु।
ओहो, यस्तो पनि हुँदो रहेछ मृत्यु ! आकस्मिक !
एकक्षण अघिसम्म पखेटा फट्फटाउँदै आनन्दको हावामा उडिरहेको त्यो कागलाई के थाहा ? यसरी एक दिन सोच्दै नसोचेको मृत्यु भोग्नुपर्ला ! त्यसले त सोचेको थियो होला, मलाई अभैm आकाशमा उड्नु छ। सायद अभिमान नै थियो होला, म पक्षी हुँ, बन्धनमा रहन्नँ, स्वतन्त्र छु। इच्छाअनुरूप उडिरहन्छु। मेरो उडानलाई रोक्ने तागत कसको ?
नियालेर हेर्छु तर अब कुनै अभिमान बाँकी 
देखिन्नथ्यो त्यो कागमा। यतिसम्म कि न कुनै पीडा थियो न कुनै छटपटी शेष थियो त्यसको शरीरमा। मानौं आनन्दले लम्पसार पछारिएको थियो कागको त्यो निश्चल शरीर, जमिनमा।
एकदम भावशून्य ! आँखाहरू बन्द थिए, त्यसका।
न अब उड्नु छ उसलाई। न काग... काग... कराउनु छ। न त कुनै सपना नै देख्नु छ। छैन, केही–कुनै जिजीविषा बाँकी अब। बस्, छ भने कागको समाजमा अलिकति स्मृति बाँकी होला। तर त्यसमा पनि शंका छ, कागको के गरिएला र सम्झना ?
अर्को क्षणमा,
‘काग ! काग !!’ मरेको कागको छेउमा पुगेर एउटा काग जोडले करायो। फेरि अर्को काग पनि उसरी नै कराउँदै त्यही छेउमै पुग्यो। क्रमशः, अघिसम्म माथि–माथि कराइरहेका कागहरू मृतक कागको वरिपरि जम्मा हुँदै गए। विडम्बना ! भर्खरै मृत्यु बेहोरेको त्यो कागलाई कुनै पनि कागले छोएनन्। केवल एकोहोरो एकसाथ सबै काग नजिक आए र कराई मात्र रहे— ‘काग ! काग !!’
कागहरूको चिच्याहटले यत्ति अनुमान लगाउन सकिन्थ्यो, सायद त्यो कागको मृत्युले आफ्नो समाजमा अपूरणीय क्षति पुगेको हुनुपर्छ। एक किसिमले त्यो कागको मृत्युमा सबै काग स्तब्ध थिए।
स्तब्धता यस्तो पनि हुँदो रहेछ। स्तब्धता भंग 
भइरहेको स्तब्धता।
धेरै बेर ‘काग ! काग !’ को आवाज। निरन्तरता रोकिने कुनै छाँट थिएन।  
यही ‘काग ! काग !’ कै क्रममा—
‘नछोऊ है, छुनु हुन्न, बात लाग्ला।’ कागको लासछेउ आइपुगेका ती कागहरूको झुण्डमा सम्भवतः सबैभन्दा बढी उमेर भएको एउटा कागको आवाज प्रस्ट सुनियो।
‘हो नि त ! के भएर मरेको हो ? कसरी मरेको हो ?’, अर्को कागले सही थाप्यो।
नजिकै आइपुगिसकेका सबै काग अलिक पछि हटे।
‘कसरी मरेको होला ? खोइ, कसैले देखेनन् क्यारे !’ बच्चाजस्तो अर्को काग बोल्यो।
‘कतै हत्या त भएको होइन !’ आशंका व्यक्त गर्ने यो आवाज सम्भवतः तन्नेरी कागको थियो।
सबै कागका आँखा जुधे।
अलिक चञ्चले कागले आफ्नो अभिमत पेस गर्‍यो— ‘विष खाएर आत्महत्या गरेको पनि त हुन सक्छ।’
‘कुनै रोग पनि त हुन सक्छ’, फेरि अर्को 
कागको आवाज।
‘हार्ट एटेक भएको पो हो कि !’ अर्को नयाँ आवाजमा आशंकाको भिन्न मत आयो।
‘मैले सुनेको...’ पूरा नगरिएको यो वाक्यमा कागको नारी आवाज थियो।
जम्मा भएका सबै कागका कान त्यो अपूरो वाक्य बोल्ने कागतर्पm आकर्षित भए।
अघिसम्म एक सुरले कराइरहेका कागहरूको ‘काग ! काग !’ एकाएक बन्द भयो। क्षणभर मौनता छायो त्यहाँ।
यसै बेला अरू नयाँ कागहरू पनि कराउँदै थपिन आइपुगे। तर त्यहाँको मौन वातावरण देखेर उनीहरूको पनि चिच्याइ रोकियो।
एकछिनपछि, 
उही नारी कागको दृष्टि एकपटक दायाँ–बायाँ चल्यो र बोली सुरु भयो— ‘मैले सुनेको...।’ फेरि वाक्य रोकियो।
‘ए भन न... ! के सुनेको ?’ यसपटक अर्को नारी आवाजले उसलाई हकार्‍यो।
पहिलो नारी कागको साउती आवाज आयो— ‘उसको प्रेम थियो रे निकै वर्ष अघिदेखि।’
‘उसको प्रेमसँग यो मृत्युको के सम्बन्ध ?’ बुझ्न खोज्यो एउटा बुज्रुक कागले।
‘धोका दियो होला नि त प्रेमिकाले !’ आशंका जनायो अर्को कागले।
‘होइन, त्यस्तो होइन’, नारी कण्ठबाट फेरि साउती आयो— ‘उसले जसलाई प्रेम गथ्र्यो ऊ विवाहिता थिई रे।’
‘ओहो... !’ सबै कागले लामो श्वास ताने।
एकक्षणको मौनता।
फेरि उही नारी आवाज— ‘बिचरा ! बाँचुन्जेलसम्म निराशाको जीवन बाँच्यो। च्व.. च्व...’ उसको मुखबाट चुकचुक आइरह्यो।
‘यसको मतलब, उसको पे्रमिका विवाहित भएका कारण आपूmले बिहे गर्न नसक्ने भएकैले नै आत्महत्या गरेको ?’ उसलाई सोधियो।
‘खोइ, यस्तै हो कि ! के थाहा ?’, ओठ लेपार्‍यो 
नारी आवाजले।
एउटा युवा कागको चर्को आवाज सुनियो— 
‘कायर रहेछ।’
यसैबीच— 
चुलबुले नारी कागको आवाजले उद्घोषण गर्‍यो— ‘मैले सुनेको कुरो त अर्कै छ।’
‘के ?’ जिज्ञासापूर्ण सबै कागको सामूहिक आवाज।
‘लागूपदार्थ सेवन गर्ने लत लागेको थियो रे उसलाई’, चुलबुले नारी कागकै आवाज।
अर्को कागले समर्थन गर्‍यो, ‘हो, हो, मैले पनि सुनेको। कतिपटक त बेहोशी हालतमा अस्पताल पुर्‍याएको थियो रे उसलाई !’ 
अर्कोले थप्यो— ‘रिह्याब सेन्टरमा पनि राखेको रे।’
‘होइन, जेलमा परेको थियो रे भन्ने पो सुनेको मैले त !’ फेरि नयाँ कुरो आयो।
‘हो र ?’ जिज्ञासा थपियो।
अर्को नयाँ कागले जोड्यो— ‘ज्यानमारा केस थियो रे !’
चोर रे !
स्मग्लर रे !
बलात्कारी रे !
मृतक कागका बारेमा सुनिएका अनेक कुरा 
आए त्यहाँ। 
निकै बेर तिनै कुरा र ती कुराहरू जोडेर मृतक कागबारे निकै कुराकानी भए। बहस भए। अनेक तर्क÷वितर्क भए। कुरो जे भए पनि जस्तोसुकै भए पनि सत्य के हो ? निश्चित तथ्य कसैसँग केही थिएन। तर सत्य त एउटै थियो। हो, त्यो कागको मृत्यु भएको थियो।
अन्ततः हुनुपर्ने जे थियो त्यही भयो, सबै कागले एकसाथ मृत कागमाथि श्रद्धाञ्जलि अर्पण गरे। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना चढाए।
त्यसो त, त्यो कागको परिवार–आफन्तजन थिए कि थिएनन् ? थिए भने देशभित्रै थिए कि विदेशी आकाशमा थिए ? त्यसको खोजीनीति कसैले गरेनन्। त्यसप्रति सरोकार नै राखेनन्।
तर त्यसभन्दा महत्वपूर्ण कुरो निस्कियो त्यहाँ। कुरो मात्रै होइन, पार्टीविशेषको झन्डा ओढाएर नगरमा पूmलमाला र सिन्दूरको शवयात्रा नै गर्ने कि भन्ने 
कुरो ननिक्लिएको होइन। अझ, देशकै झन्डा ओढाउनुपर्ने मत नै जाहेर गरियो। कुरो यतिमै रोकिएन, एउटा कागले त प्रस्ताव नै राख्यो— ‘उसलाई राष्ट्रिय गीतको धुनले सम्मान गर्नुपर्छ।’
अर्कोले त्यो प्रस्तावको पूर्ण सहमति जनाउँदै 
अझ थप प्रस्ताव पेस गर्‍यो— ‘एकतीस तोपको 
सलामी नै दिनुपर्छ।’
यो प्रस्तावउपर चर्चा÷परिचर्चा भए, छलफल चले। 
अन्ततः ‘सम्मान नगरिने’ निचोड आयो। यो निचोड निकाल्नुमा यस्तो आधार खडा भएको थियो— ‘कुनै नेता, प्रशासक, गायक, कवि, कलाकार, खेलाडी वा अन्य यस्तै कुनै राष्ट्रिय स्तरको लास होइन यो।’ 
यसैमा सबैको सहमति जुट्यो। शतप्रतिशत।
सहमतिमै, सबै कागले आआफ्ना गृह प्रवेश गरे।
र, वातावरणलाई साँझको साम्राज्यले घुटुक्क निल्यो।
रात पर्‍यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.