स्वदेशी मिठाई नै रोजौं
मिठाई पसलमा भीडभाड सुरु भइसकेको छ। मिठाई पसलेलाई पैसा गन्न भ्याइनभ्याइ छ। झिलिमिली मन नपराउने कोही हुँदैनन्। कोभिड— १९ को संक्रमणले सबै क्षेत्रलाई छपक्कै छोपे पनि व्यापारीको लागि चाँदी कटाइको यो पर्वलाई उल्लासमय मनाउन आवश्यक तयारी सुरु भइसकेको छ।
यो चाडमा मिठाईको व्यापार पनि सर्वाधिक हुन्छ। आज हामी त्यसको सुरुआत कसरी भयो हाम्रो मुलुकमा, त्यो सन्दर्भलाई जोड्दै छौं। मल्लकालमा भारत बैंगलोरको त्रिपुरासुन्दरीबाट मच्छिन्द्रनाथसँगै नेपालमा मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ। तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए। राजकर्णिकारको रूपमा परम्परागत हलुवाईबाट सुरु भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ। राजकर्णिकारले राजस्थानबाट थप कामदार भिœयाई मिठाईको कारोबार सुरु गरेका थिए।
अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पूजा आदि शुभकाममा राजकर्णिकारले तयार पारेको लाखमरी, ऐठन, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन थियो। राजकर्णिकारले मरुटोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको मानिन्छ। त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो। तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारले तयार पारेको स्वादिलो मिठाई पस्किने चलन थियो। नारायणहिटी दरबारमा राजकर्णिकारका लागि मिठाई तयार पार्ने स्थान नै छुट्ट्याइएको थियो।
राजकर्णिकारको रूपमा परम्परागत हलुवाईबाट सुरु भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ।
समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्ठमण्डप भण्डारलगायत करिब एक दर्जनको हाराहारीमा मिठाई बनाउने काम गर्दै आएका छन्। ‘उहिले हामीले तयार पार्ने मिठाई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो’, अनिलराज भन्छन्, ‘तर, यो दिन धेरै समयसम्म टिक्न सकेन। हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन्, बिदेसिए पनि। त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठाई बोकेर ल्याउन थाले। भारतीय मूलका कूटनीतिज्ञ, व्यापारी, कामदारको घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठाईको माग बढ्दै गयो। माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठाईको आयात हुन थालेको हो।’
भारतीयको तुलनामा नेपाली मिठाई गुणस्तरमा उच्च रहेको अनिल राजकर्णिकारको भनाइ छ। नेपाली मिठाई भन्नेबित्तिकै नाक खुम्च्याउने र आयातीत मिठाई भनेपछि मुख मिठ्याउने नेपाली बानीका कारण परम्परागत मिठाई विस्तारै बजार हिस्सा गुमाउँदै गएको उनको कथन छ। तर, पछिल्लो समय राजकर्णिकारले स्वदेशी मिठाईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशसमेत पठाउन थालेका छन्। उनी भन्छन्, ‘राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन नदिएका कारण हाम्रो पुख्र्यौली पेसा विस्थापित हुने अवस्थामा छ।’
नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैंतिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ। सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ। तर, यत्तिकै लागि कामदार बढाउन नसकिने भएकाले व्यवसायीलाई पसलको व्यवस्थापन गर्न हम्मे पर्छ।
राजकर्णिकारले स्वदेशी मिठाईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशसमेत पठाउन थालेका छन्।
विचार गरी मिठाई खानु, मिठाईलाई स्वास्थ्य, व्यायामअनुसार ठिक्क खाए स्वास्थ्यवद्र्धक हुन्छ। विचार नगर्दा हानि गर्छ। नेपालीले प्रतिव्यक्ति प्रतिदिन ०.५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन्। मिठाई नियमित रूपमा उपाभोग गर्दा स्वास्थ्यका लागि फाइदा मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठूलो नोक्सानी गर्न सक्ने विज्ञ बताउँछन्। मिठाई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्ने विज्ञको सुझाव छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार मिठाई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुन्न। मिठाई खाँदा शरीरले क्यालोरी ठूलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ। यस्तो अवस्थामा केही समयपछि विभिन्न प्रकारका खाना उपभोग गर्दा शरीरमा आवश्यकभन्दा थप परिमाणमा क्यालोरी थपिन्छ। ‘यसले गर्दा मोटोपना हुन सक्छ’, उनी भन्छन्, ‘मिठाईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ। यसले गर्दा क्यालोरी पनि उच्च परिमाणमा पाइन्छ। मोटोपना र सुगरको बिरामीले सकेसम्म मिठाईको प्रयोगबाट टाढै बस्नुपर्छ। खानै मन लाग्यो भने एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ।’
मिठाईमा फाइबर पनि कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रबल हुन्छ। मिठाई खानेबित्तिकै ग्लाइसेमिक इन्डेक्स (खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार) तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना पनि त्यत्तिकै हुन्छ।
गुणस्तरहीन मिठाईबाट जोगिऊँ
भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउने सम्भावना पनि प्रबल हुन्छ। गुणस्तरहीन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन रोग लगाउने सम्भावना हुन्छ। तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना हुन्छ।
यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रङको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगीचंगी स्वादिला मिठाईले पनि मानवस्वास्थ्यलाई दीर्घकालीन रूपमा ठूलो असर पु¥याउन सक्छ। बजारमा पाइने रङ प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठाईबाट पनि सकेसम्म टाढै बस्नुपर्ने कर्णको सुझाव छ। बालबालिकाले मिठाई सेवन गरिसकेपछि तत्कालै ब्रस गर्नुपर्छ।
यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थ्यकर हुन्छ। वरिष्ठ खाद्य वैज्ञानिक डा. दिलीप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। डा. सुब्बा भन्छन्, ‘यसले सीधै कलेजो र आन्द्रामा असर पार्छ।’ अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तŒव पाइन्छ। यस्तै खुला रूपमा बिक्री हुने गुणस्तरहीन मिठाईमा पेट्रोलियम पदार्थबाट निस्कने अवशेष, धुलो, लिड (सिसा), क्याडमियम, पारोलगायत पदार्थको अवशेष मिश्रण हुने खतरा भएकाले त्यस्ता मिठाईबाट सचेत हुनुपर्छ। यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ।
मिठाईको मिसावट र गुणस्तरहीनता यत्तिमै सीमित छैन। सिन्थेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा र फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ। नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ। यही खुवाबाट विभिन्न खालका बर्फी, पेडा र अन्य महँगा मिठाई तयार पारेर भीडभाडको मौका छोपेर बिक्री हुन्छ। खुवामा गहुँको पीठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घिउ मिसाएर गुणस्तरहीन मिठाई तयार पारिन्छ। अखाद्य रङ मिश्रण भएको मिठाई उपभोग गर्न नहुने जानकारी गराउँदै कर्णले सकेसम्म मिठाई तयार पार्दा प्रतिकिलोमा दुई सय एमएल खाने रङ मात्र प्रयोग गर्न सुझाव दिए।
भारतीय ब्रान्डको दबदबा
राजधानीमा परम्परागत स्वदेशी मिठाई पसल खुम्चिँदै बन्द हुँदैछन्, भारतीय ब्रान्डका फ्रेन्चाइजको विस्तार तीव्र गतिमा छ। आँगन, रामेश्वर, गांगुर, गुलाबलगायत भारतमा चलेका ब्रान्डको आउटलेट खुलेको खुल्यै छन्। यस्ता ब्रान्डेड मिठाई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लालमोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत छन्।
यस्तै कलाकन्द, काजुको बर्फी, कालो जामुन, दूध रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठाई बिक्री वितरण हुँदै आएको छ। उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न मिठाई यस्ता प्रतिष्ठानबाट बजारमा उपलब्ध हुन थालेका छन्।