छठ पर्व मनाउने विषयमा मतभेद : स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्ने चेतावनी
विराटनगर : हिन्दु धर्मालम्बीको साझा पर्वको रुपमा स्थापित छठ पर्व मनाउने विषयमा मतभेद भएको छ।
संघीय सरकारले भिडभाड गर्न नदिने र घरमै सुरक्षित तरिकाले मनाउने नीति अपनाए पनि सरोकारवालले नहर र तालमा परम्परागत रुपमा छठ मनाउन दिर्नु पर्ने माग गरेका छन्।
सूर्यको आरधना गरी चिताएको मनोकामना पुरा गर्ने छठ पर्व मंसिर ३ गतेदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिपूर्वक समापन हुन्छ।
भिडभाड हुन नदिने सरकारले नीति विपरित विराटनगरका नौवटा संगठनले छठ मनाउन दिन स्थानीय प्रशासनसँग माग गरेका हुन्।
कोरोना संक्रमणकै बेलामा संयुक्त राज्य अमेरिका र भारतको विहारमा चुनाव सम्पन्न भएको प्रसंग जोड्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भौतिक दुरी कायम गरी हामीले दैनिक कार्य गर्ने र आस्थाको पनि सम्मान गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको र सम्बन्धित निकायहरूको हो। मोरङ प्रशासनले छठ पर्व मनाउन नदिने निर्णय गरेर धार्मिक आस्थामाथि प्रहार गरेको छ।’
उता नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले छठ पर्व गर्न नदिने मानसिकता अपराधिक भएको बताए। उनले भौतिक दुरी कायम गरेर छठ मनाउनुपर्नेमा जोड दिए।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले पर्वको नाममा भिडभाड गर्ने नदिने सरकारको नीति रहेको बताए।