स्वदेशलाई जोड्ने शिक्षा
हामी नेपाली अरूले गरिदिएका आविष्कार चलाएर दंग छौं। उनीहरूले हाम्रो समय र पैसा कब्जा गरिदिए। हामीले तिर्ने एक–एक रुपैयाँले उनीहरू अर्बपति बनेका छन्। तर नेपाली युवाले संसारभरका मान्छेलाई यतातिर तान्ने आइडिया निकाल्न सकेनन्। प्रतिभा भनेको देश उठाउने पुँजी हो। हाम्रो शिक्षाले व्यक्तिमा सिर्जनात्मक सोचको विकास गराइदिनु त परको कुरा, विद्यार्थीको जन्मजात प्रतिभालाई पनि मार्कसिटको दबाबले निचोरिदियो। विकासका हरेक काममा विदेशीसँग याचना गर्नु परिरहेको छ।
परनिर्भरताको पराकाष्ठा
कृषिप्रधान देशका जनता विदेशीले दिने मलमा निर्भर छन्। देशभर मलको हाहाकारले सरकारको राष्ट्रवादलाई यसपटक पनि गिज्यायो। मल कहिले भारतसँग माग्नुपरेको छ, कहिले चीनसँग त कहिले बंगालादेशसँग। कृषिमा मरिमेट्ने जनता भएको देशमा मल कारखाना खोल्नेबारे हुरी चल्न सकेन। यसको अनुसन्धान गर्न भारतीय टोली वा जापानको जाईकाको टोली नै आउनुपर्यो।
त्रिभुवन विश्वविद्यालय स्थापना भएको ६० वर्ष कटिसक्यो। रसायनशास्त्र, ऊर्जा र भूगर्भमा मास्टर्स र पीएचडी गरेर हजारौं व्यक्ति निस्के। नेपाली विश्वविद्यालयबाट निस्केका व्यक्तिले मल कारखानाबारे रिसर्च गर्न जानेनन् वा उनीहरूलाई विश्वास गरिएन। विश्वका सयौं विश्वविद्यालय कोरोना भाइरसविरुद्धको खोप अनुसन्धानमा अहोरात्र खटिरहेका बेला हाम्रा विश्वविद्यालय सुनसान छन्। कृषि, विज्ञान, अर्थशास्त्र, स्वास्थ्य, इन्जिनियरिङलगायतमा मास्टर्स वा पीएचडी गरेका व्यक्ति जागिरे जीवनमा सीमित छन्। उनीहरू देशको आवश्यकतामाथि अनुसन्धान गर्न सक्दैनन् वा काममा लगाइन्न भने विश्वविद्यालयको शिक्षा बेकार बन्दै छ। स्वाभिमान र राष्ट्रवाद भौगोलिक विषय मात्रै हैन, सबै चीज अरूसँग मागेर देश चलाउने र एउटा नक्सा जारी गर्दैमा कोही राष्ट्रवादी बन्दैन। विदेशीले बनाइदिएको करोडौं रुपैयाँको गाडीमा चढेर, विदेशीले बनाइदिएको पचासौं हजारको मोबाइलमा कुरा गर्दै बालुवाटार र शीतलनिवासमा छिर्नेहरूले राष्ट्रवादको भाषण गर्दा सुहाउँदैन।
प्रधानमन्त्रीले रेल ल्याउने भाषण गर्दै चुनाव जितेका थिए। कम्तीमा यसको सुरुवात गरिदिनुपर्ने उनलाई बाध्यता छ। तर रेल कसको ? इन्डिया, चाइना वा अरू कुनै देशमा बनेको रेल, नेपालको रेल हैन। सर्भे गर्ने इन्जिनियर विदेशका। ठेक्का लिने कम्पनी विदेशका। रेल्वे ट्र्याक बनाउने कामदार विदेशका। इन्धन विदेशका। रेलको ड्राइभर विदेशका। रेल विदेशका। रेलमा ल्याउने सामान विदेशका। सबै तारतम्य विदेशीले मिलाइदिएर ठीक्क पारिदिएपछि हाम्रो भूमिमा पनि रेल गुड्ने भयो भनेर नाक ठूलो पार्नुपर्ने बाध्यता छ।
भारतको एउटा अनुसन्धान टोलीले भनिदिएछ– यहाँ मल कारखाना खोल्न पहिला भारतको प्राकृतिक ग्याँस आउनुपर्छ। भारतले गरिदिएको अनुसन्धान नेपालको आत्मनिर्भताका पक्षमा हुने कुरै थिएन। मल बनाउन मुख्यतः दुई कच्चा पदार्थ चाहिन्छ– एमोनिया र कार्बनडाइअक्साइड ग्यास। हावामा ७८ प्रतिशत नाइट्रोजन छ। पानीमा दुई भाग हाइड्रोजन छ। नाइट्रोजन र हाइड्रोजनको प्रतिकृया गराउँदा एमोनिया बन्छ भन्ने कुरा रसायनशास्त्रका हरेक कक्षामा पढाइ हुन्छ। अब कार्बनडाइअक्साइड ग्यास हाम्रा सिमेन्ट कारखानाको धुवाँबाट पर्याप्त पाइन्छ भन्ने कुरा विज्ञले बताएका छन्। थप अनुसन्धान गरौं। कारखानालाई चाहिने विद्युत् ऊर्जा नेपालमै फालाफाल हुन थालिसक्यो। अलिकति प्राविधिक पक्ष मिलाउनेबित्तिकै स्वदेशमै मल कारखाना किन बन्न सक्दैन ?
स्वास्थ्य क्षेत्रका कुरा गरौं। स्वाब टेस्ट गर्ने पीसीआर मेसिन विदेशको। स्वाब निकाल्ने सिन्का विदेशका। एन्टिजन किट विदेशका। भेन्टिलेटर विदेशका। डाक्टरलाई थाहा भएका तथ्यतथ्यांक सबै विदेशीले अनुसन्धान गरेर निकालेका। मेडिकल साइन्स पढ्ने विद्यार्थीले पढ्ने किताब विदेशका। किताबमा हुने अनुसन्धानको निष्कर्ष विदेशका। यहाँ अनुसन्धान गर्ने परिपाटी बस्दै बसेन।
विदेशीले बनाइदिएको करोडौं रुपैयाँको गाडीमा चढेर, विदेशीले बनाइदिएको पचासौं हजारको मोबाइलमा कुरा गर्दै बालुवाटार र शीतलनिवासमा छिर्नेहरूले राष्ट्रवादको भाषण गर्दा सुहाउँदैन।
अस्पतालमा दर्जनौं भेन्टिलेटर बिग्रिएर मर्मत गर्ने मान्छे नभएर थन्किए। मर्मत गर्ने प्राविधिक जन्माउन कसैको चासो रहेन। बिग्रियो कि विदेशबाट किन्ने मानसिकता कहिल्यै गएन। महावीर पुनका प्राविधिकले लगे र दुई दिनमै नयाँ बनाइदिए।
हामीले घोकाउने गणितका फर्मुला सबै विदेशकाले भीषण अनुसन्धान गरेर ठिक्क पारिदिएका हुन्। फर्मुलाको नेपाली प्रयोग कहाँ हो शिक्षकलाई पनि थाहा छैन। नेपाली विद्यार्थीलाई फर्मुला निकाल्ने कुरामा कहिल्यै पनि अभ्यास गराइएन। अनुसन्धानका लागि शिक्षामा स्थानै छैन। गणित, विज्ञान, अर्थशास्त्र र स्वास्थ्यमा नयाँ थ्योरी आविष्कारका लागि घोत्लिने मान्छे विश्वविद्यालयले जन्माएन। विश्वविद्यालय मृत बन्यो– नोट लेखाइदिने, सार्ने, घोक्ने र पास हुने। प्राध्यापक जागिर खान पढाउने र विद्यार्थी पास हुन पढ्ने भएपछि देश कसरी माथि उठोस्।
दश वर्षको मार्गचित्र
सन् १९८० को दशकमा चीनमा देङ स्याओ पिङले देशलाई बदल्न चार क्षेत्रमा आधुनिकीकरणको घोषणा गरे– कृषि, उद्योग, सुरक्षा, विज्ञान र प्रविधि। यसका लागि शिक्षामा क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने उनलाई थाहा नहुने कुरै थिएन। त्यही गरियो। त्यसपछिको चीन हामीले देखेकै छौं। सन् १९८० र १९९० को दशकमा दक्षिण कोरियाको प्रजातन्त्रीकरण र आर्थिक समृद्धिको जग शिक्षामा ल्याएको क्रान्ति थियो। दोस्रो विश्वयुद्धमा थिलोथिलो परेको जापानको युद्धपछि तीव्र आर्थिक उन्नति हुनुमा शिक्षाको केन्द्रीय भूमिका थियो।
हाम्रो देशलाई दश वर्षपछि कस्तो बनाउने भन्ने पूरै शिक्षाको हातमा छ। शिक्षालाई सार्थक बनाउन सरकारको कुनै ‘भिजन’ छैन। बल मात्रै गरेको जस्तो देखाएर केही अर्थ छैन, परिणाम देखिनुपर्छ। विज्ञानमा बल मात्रै लगाएकोलाई काम भनिन्न। बलले दूरी पार गरेको छ भने त्यसलाई बल्ल काम भनिन्छ।
अहिले विकसित भएका देशले कुनै बेला २५ प्रतिशतसम्म बजेट शिक्षामा छट्ट्याएको उदाहरण छन्। हाम्रो देशको मार्गचित्र नै भएन। देशलाई दश वर्षमा कहाँ पुर्याउने, यसका लागि शिक्षालाई केमा केन्द्रित गर्ने, कस्तो जनशक्ति उत्पादन गर्ने, शिक्षण शैली कस्तो बनाउने भन्नेबारे गहन छलफलै भएन। भारत विश्व शक्तिको एउटा हिस्सा बन्न सक्दा पनि नयाँ–नयाँ शिक्षा नीति ल्याउन थाकेको छैन।
बदल्ने हिम्मत गरौं
घोकन्ते शिक्षा बदलौं। स्कुल तहदेखि नै विद्यार्थीलाई ससाना आविष्कार र अनुसन्धानसँग जोडौं। विद्यार्थीलाई यसका लागि उत्सुक र प्रेरित गरौं। विदेशीले जेजे आविष्कार गर्दै गयो, त्यही प्रयोग गर्न दौडने तर आफू केही सिर्जना गर्न नसक्ने स्थिति छ। सामसुुङ, एप्पल र अप्पोका कुन मोडेल आयो भनेर चियाउँदै गर्दा हाम्रो क्षमताबारे सोचेनौं। यमाहा, होन्डा र बजाजको मोडेल किन्दै गर्दा हाम्रो पैसा विदेशी कम्पनीमा पुगिरहेको हुन्छ। टीभी, ल्यापटप र गाडीका नयाँ स्वरूप डिजाइन गर्ने कम्पनी, व्यवसायी, प्राविधिक र इन्जिनियरको विकास हाम्रो देशमा किन भएन, सोचौं। देशको शिक्षाले सिर्जनात्मक चेतका लागि कहिल्यै प्रोत्साहन गरेन। मार्कसिटको तनाव र दबाबमा विद्यार्थीमा भएको विलक्षण प्रतिभा निचोरियो। विदेशीले अनुसन्धान गरेका तथ्यतथ्यांक घोक्नुलाई शिक्षामा सफलता ठानिएको छ।
५० वर्षयता शिक्षामा गुणात्मक सुधार भएन। विद्यालय पुग्ने विद्यार्थी संख्या बढ्यो। नागरिक साक्षर भए, यति हो। पञ्चायतकालीन राष्ट्रिय शिक्षा पद्धतिको योजना– २०२८ लाई टालटुल गरेर अहिलेको शिक्षा चलिरहेको छ। आज हरेक कुरा प्रविधिसँग जोडिएका छन्। स्कुलमा प्रविधिको पढाइसम्म भएको छैन। पाठ्क्रमका कैयन् विषयवस्तु आज असान्दर्भिक भइसकेका छन्। यसले विश्वसामु नेपाली विद्यार्थी ‘लाटा’ बनेका छन्। आफ्नै देशका जडीबुटीबारे गहन अनुसन्धान भएको छैन। बेसार, अदुवा, मरीच, गुर्जोको कुरा आयो। यस विषयमा फरकफरक धारणा आउनु स्वाभाविक थियो। किनकि यी जडिबुटीमाथि गहन अनुसन्धान भएकै छैन।