३ वर्षमा १२ प्रमुख
जनकपुरधाम : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपसचिव धर्मानन्द जोशी धनुषाको जनकपुरधाम उपमहानगरपालिका सरुवा भए। जोशीको एक महिना नपुग्दै मेयर लालकिशोर साह र उनीबीच विवाद सुरु भयो। दुई महिना नहुँदै उनले त्यहाँबाट सरुवा गराएर जान चाहे। यसको जानकारी संघीय मन्त्रालयलाई गराएर सरुवा भई प्रदेश नं.३ पुगे। उनी भन्छन्, ‘मेयर साबले कानुन बाहिर गएर काम गर्न दबाब दिनुभयो। र म कानुनबाहिर जान चाहिनँ, त्यसैले म त्यहाँ धेरै समय टिक्न सकिनँ।’
जनकपुर उप–महानगरपालिकाका मेयर साहले कानुन बाहिर गई निजी सुरक्षाकर्मी, उनको छोरा, भाञ्जा, नजिकका नेता कार्यकर्ताले होटेलमा खर्च गरेको बिल फस्र्योट गर्न दबाब दिएको गुनासो उनले पोखे।
यसअघि गत फागुन महिनामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएकी सीता परियारले पनि मानसिक दबाब खेप्न नसकी ६ महिना नबित्दै सरुवा गराइन्। मेयरले चढ्ने गरेको गाडी दुर्घटनामा परेर कच्याककुचुक हुँदा मर्मत सम्भारमा लाग्ने ४० लाख खर्चको पेस्की रकम निकाल्ने विषयमा कार्यकक्षमै घम्साघम्सी भएको थियो।
विगत तीन महिनादेखि उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ। पछिल्लो पटक उद्योग मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव विनोदकुमार खड्का हाजिर भएका छैनन्। उनको सरुवाको दुई महिना पुगे पनि नगर प्रमुखसँग हुने मतभेदले उपमहानगरमा कोही पनि कर्मचारी टिक्ने गरेका छैनन्। यसअघिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी मुस्किलले तीन महिना बसे। असार मसान्त सकिएलगत्तै बिदामा गएका उनी फर्किएर कार्यालयमा हाजिर भएनन्। रेग्मी साउनमा सरुवा गराएर गइसकेपछि उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै सरुवा गराए।
मेयरको हठी स्वभाव र क्षुद्र व्यवहारले आएका कर्मचारी महिना दिन पनि टिक्दैनन्। एक कर्मचारीले भने, ‘यहाँ कर्मचारीलाई टिक्नै गाह्रो छ। मेयरले भनेको जसले मान्छ, उ, टिक्न सक्छ। जसले मान्दैन ऊ यहाँबाट सजिलै सरुवा गराएर वा मेयरले नै सोर्सफोर्स लगाएर सरुवा गराइदिन्छन्।’
जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीताकुमारी मिश्रले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिरै नभई सरुवा भएको स्विकारिन्। उनले भनिन्, ‘सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएँ। तर उहाँसँग मेरो भेट पनि भएको छैन, फेरि सरुवा भएर गइसकेको भनेर सुनेँ।’ खड्का स्थानीय सरकार गठन भएको तीन वर्षमा १२औं प्रशासकीय अधिकृतको रूपमा आउन लागेका थिए। तर उनी हाजिर नहुँदै सरुवा गराइसकेको स्रोतको दाबी छ। रोचक त के भने, कोही पनि ६ महिना बढी टिकेनन्।
उपमहानगरपालिकाको चुनावताका बद्री सुवेदीपछि क्रमशः मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, मिहिलाल यादव, उमेश बस्नेत (हाजिर नभएको) गोपालप्रसाद रेग्मी र अहिले आएर विनोदकुमार खड्काले हाजिर नभएरै सरुवा गराएका छन्। हाललाई पुनः शिक्षाका उपसचिव मेहीलाल यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई कामकाज भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !