‘पुष्पा–लालु’ को अनौठो माया
चितवन : एक महिनाको गैंडाको टुहुरो बच्चा ‘पुष्पा। सानो र चिल्लो शरीर। पुष्पा लुटपुटिँदै मानिसको वरिपरि घुम्दै चरिरहन्छे। पुष्पाका साथी छन् राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक लालबहादुर महतारा।
उनी हरेक दिन बिहानदेखि बेलुकासम्म पुष्पाका हरेक क्रियाकलाप ख्याल गर्छन्। माउको माया पाउन नसकेकी पुष्पालाई लालबहादुरले माया दिएका छन्। लालु¬–पुष्पाको मायाले सबैलाई चकित बनाउँछ। लालबहादुरको आवाजलाई सजिलै ठम्याउने पुष्पा खोज्दै त्यही पुग्छे। १० महिनाकी बच्ची पुष्पा र महताराको मायाप्रेमले सबैलाई चकित बनाउँछ।
उसलाई खुवाउने, स्याहार गर्ने जिम्मेवारी महताराको हो। पुष्पा बिरामी भए उनैले पशु चिकित्सकलाई खबर गर्छन्। जंगल डुलाउने, खोलामा पुर्याएर नुहाउने काम पनि उनैको हो। ‘मेरो आवाज सुन्यो भने म भएको ठाउँ खोज्दै आउँछ, खाली मलाई पछ्याउँछ, महतराले भने, ‘बच्चैदेखि हुर्काइयो, आफ्नै सन्तानको जस्तो माया लाग्छ।’
पुष्पाको स्याहार गर्दा उनलाई दिन वितेको पत्तै हुँदैन। जन्मिएको एक सातामै पुष्पा गत पुसमा माउबाट अलग भई। माउसँगै डुल्ने क्रममा दलदलमा फसेर आमाबाट छुटिएको अवस्थामा उसलाई नवलपुरको तमासपुरबाट उद्धार गरिएको हो। दूध, फलफूल खाएर हुर्किरहेकी पुष्पालाई वयस्क र प्राकृतिक वातावरणमा घुलमिल हुने भए पछि जंगलमा छोडिनेछ।
महतारा भन्छन्, ‘साँझ बिहान घाँस दिने १० बजेपछि जंगल लगेर खोलामा नुहाइदिन्छु, अब केही महिनामा जंगल छोड्ने कुरा सुन्दा नरमाइलो लागेको छ।’ उद्धार गरेपछि बच्चाको माउ फर्किन्छ कि भनेर उद्धार टोलीले दुई दिन निगरानी पनि गरेको थियो तर माउ नआएपछि सौराहा ल्याइएको थियो। २० लिटर दूध, एक दर्जन केरा र पाँचवटा गाँजर पुष्पाको दैनिक आहारा हो। अहिले घाँस पनि खान थालेकी छे।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले प्राकृतिक बासस्थानमा बाँच्न सक्ने भएपछि चितवन राष्ट्रिय निकुञ्जमा छोडिने बताए। ‘जंगली अवस्थामा बस्न सक्ने भएपछि मात्रै निकुञ्जमा छोड्ने हो, अहिले जंगली बनाउन खोज्दैछौ’, उनले भने, ‘यो पोथी गैंडा भएकोले जंगली अवस्थामा फर्काउन सके संख्या वृद्धिमा ठूलो मद्दत पुग्छ, हामी त्यसैमा लागेका छौं।’