जंगबहादुरको नाक
अद्भुत थियो जंगबहादुरको नाक। लम्बाइ–चौडाइ, आकारमा होइन क्षमतामा। साँच्चैको, अद्भुत क्षमता थियो जंगबहादुरको नाकमा। सम्भवतः असमान्य रूपमा, जन्मँदै उनको नाकले एउटा बास्ना महसुस गरेको थियो। उनी जन्मेका बेला यो कुरा उनका जन्मदाता आमा–बाबुलाई समेत थाहा थिएन। कतिसम्म भने, यो बास्नाको पछि–पछि उनी हरहमेसा लागिरहे। र, त्यसबेला मात्रै उनी चुप बसे, जब उनले त्यो बास्ना आउने वस्तु प्राप्त गरे।
जंगबहादुरले हात पारेका के थिए त्यस्तो बास्नादार वस्तु ? जवाफ सजिलो छ। त्यो बास्नादार वस्तुको नाम थियो, ‘सत्ता’। यही आधारमा हुनुपर्छ, आजको मितिमा पनि ‘सत्ताको बास्ना कस्तो हुन्छ ?’ भनेर सोधिँदा भन्ने गरिन्छ, ‘जंगबहादुरलाई सोध्नू !’
तर आजको मितिसम्म आइपुग्दा यो भनाइ यतिमै मात्रै सीमित रहेन, सत्ताको बास्ना चाल पाउने जंगबहादुरको त्यो नाकको नामसारी भइसकेको छ। नपत्याएको ? जंगबहादुरको नामबाट सीधै त्यो नाकले आजको राजनीतिक परिवेशमा स्थान जमाउन आइपुगेको प्रस्ट छ।
अहिलेको सत्ताको कुर्सीमा केपी ओलीको नाक भएर बसेको छ त्यो। तर रमाइलो के छ भने त्यो नाकभन्दा अझै बढी बास्ना सुँघ्ने क्षमता भएका नाकहरूको लाइन लागेको छ, अहिले। खास गरेर फुटेको हाँडीलाई नदेखिने गरी टाँसे झैं राखिएको नेकपाभित्रका भयंकर–भयंकर नाकहरूलाई यतिखेर त्यो कुर्सीको बास्ना मगमग आइराखेको छ। त्यो बास्नासँग ती नाक कति मोहित छन् भने जबर्जस्ती जोडिएको त्यो हाँडीलाई प्याट्टै फोडेर सत्ताको त्यो बास्नादार कुर्सीमा बस्न लालायित छन् ती। प्रचण्डले त एउटा नाकलाई त स्पष्ट भनिसकेकै हुन् कि उनले अब त्यो कुर्सी दिलाउन बाँकी भनेका वामदेवलाई मात्रै हो, मानौं ठूलो त्याग गरेर केपी, माधव र झलनाथलाई आफूले भोग्दाभोग्दैको कुर्सी सुम्पिसकेका हुन्। त्यसो त, प्रचण्डको नाक स्वयम् कम्तीको कहाँ हो र ? यतिखेर फेरि उनको नाकको सुँघ्ने शक्ति तेज भएर आएको छ। उता माधव नेपालको नाक पनि चुपचाप बसेजस्तो देखिए पनि वास्तवमा त्यस्तो छैन। यस्तोमा झलनाथको नाक बास्ना नलिई बसेको होला र ?
अर्कोतर्फ, पटक–पटक सत्ताधारी कुर्सीको बास्ना लिन बानी परेको एउटा भिन्न पक्षको नाक पनि छ, शेरबहादुरको नाक। त्यो नाक त्यो कुर्सीको स्वाद फेरि पनि लिन पाइहालिन्छ कि भनेर यसरी मौका खोजिरहेको छ कि त्यसका लागि कुनै पनि किसिमको मूल्य तिर्न तयार छ। त्यो पक्षमा अर्को नाक पनि छ, रामचन्द्रको नाक। जसले त्यो कुर्सीको बास्ना महसुस गरेर सो प्राप्तिका लागि नेपालको राजनीतिमा सत्र–अठार पटकसम्म संघर्षरत रहेको इतिहास कायम गरेको छ।
खोजिरहेछु म; निःस्वार्थी, बलिदानी, देशप्रेमी, स्वावलम्बी र स्वाभिमानी एउटा नाक।
कुर्सीको बास्ना महसुस गर्ने यसबाहेक अन्य पनि थुप्रै नाक छन्, जो राजनीतिक भए पनि यतिखेर मैदानमा प्रत्यक्ष देखिएका छैनन्। तर पनि चिनिन्छन् केही नाकहरू, जसमध्ये बाबुरामको नाक स्पष्ट छ। अरू त अरू, राजेन्द्र महतोको नाकसमेत परोक्ष रूपमा यो लाइनमा लागेको देखिन्छ। अलिक अस्पष्ट रूपमा उपेन्द्र यादवको नाक पनि देखिन्छ।
नाकहरूको भीड छ यहाँ। केही नाकमा त्यो कुर्सीको बास्ना महसुस गर्ने शक्ति छ र पनि आफ्नो क्षमता प्रदर्शन गर्न सकिरहेका छैनन्। एक अर्थमा ती नाकहरू निरीह छन्। राजनीतिक रूपले कमजोर छन्। जस्तो कि कमल थापाको नाक, पशुपतिशमशेरको नाक, प्रकाशचन्द्रको नाक।
यिनै नाकहरूको बजारमा एउटा अरू खालका नाकहरू पनि देखिएका छन्, जसले त्यस्तो बास्ना नै कहिल्यै महसुस गरेनन्। उदाहरणका लागि– रोहितको नाक। छक्क पर्छन् मान्छेहरू, उनको नाक देखेर। क्या अचम्मको नाक ! संसारमा चलेका सबै बास्ना महसुस गर्न सक्ने तर विशेष त्यही कुर्सीको बास्नाचाहिँ महसुस गर्न नसक्ने ! अर्को पनि त्यस्तै नाक छ, चित्रबहादुरको। तर त्यो नाकको स्वीकारोक्ति छ कि अरूको मन राख्न भए पनि आफूले एकपटक अलिअलि कुर्सीको बास्ना लिएको हो।
इतिहास हेर्ने हो भने आफ्नो क्षमतावान् नाकको दुरुपयोग गर्ने धेरै दखिए। तिनका नाम लिइराख्नै परेन। तर सदुपयोग गर्ने पनि देखिएका हुन्, जसले इतिहासमा आफ्ना सुनौला नाम अंकित गरेका छन्। कतिसम्म भने गणेशमानले त आफ्नो नाक झिकेर कृष्णप्रसादलाई नै हस्तान्तरण गरे। पुष्पलालको नाक पनि यही लाइनको नाक थियो। बीपी–मनमोहनको नाकको गौरवमय इतिहासबाट त को अनभिज्ञ छन् र ? तर आज.... ? आजको माहोलमा, फेरि पनि दोहोर्याऊँ, जंगबहादुरको नाक पुस्तान्तरण भएर आएको छ, जो केवल सत्ताको, कुर्सीको बास्नाबाहेक अन्य केही महसुस नै गर्दैन।
खोजिरहेछु म; निःस्वार्थी, बलिदानी, देशप्रेमी, स्वावलम्बी र स्वाभिमानी एउटा नाक। भीससेन थापाको नाक।