मुस्ताङमा कक्षा ११ को परीक्षा सुरु
जोमसोम: भौगोलिक रुपमा विकट मानिएको हिमालीपारीको जिल्ला मुस्ताङमा माध्यमिक तह अन्र्तगतको कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको परीक्षा प्रमाणिकरण कार्यविधि २०७७ बमोजिम मुस्ताङका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरेको जनाइएको छ ।
जिल्लाको घरपझोङ गाउँपालिकामा अवस्थित जनहित माध्यमिक विद्यालयले बुधबारदेखि कक्षा ११ को परीक्षा संञ्चालन गरेको हो । कक्षा ११ को परीक्षा सुरु गर्नुअघि यहाँका सम्बन्धित विद्यालयले स्थानीय तह ,शिक्षा विकास तथा समन्वय इकाइ ,जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी कोभिड—१९ को जोखिमबाट सुरक्षित रहँदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाईएको जनाएका छन् ।
कक्षा ११ का लागि ४२ जना प्रशिक्षार्थी रहेको जनहित माविले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको ज्वरो मापन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराएको जनाएको छ । जनहित माविमा शिक्षा र व्यवस्थापन विषयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी परीक्षामा सामेल भएका छन् ।
जनहित मावि जोमसोमका प्रधानाध्यापक रामचन्द्र अधिकारीले मुस्ताङ पनि समुदाय स्तरमा कोरोना देखिएको र कोरोना त्रासका बावजुद पनि राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार कक्षा ११ को परीक्षा सुरु भएको बताए । प्राधानाध्यापक अधिकारीले यसपटक परीक्षा बोर्डको निर्देशन अनुसार स्थानीय तहसँग समन्वय गरी सम्बन्धित विद्यालय आफैले प्रश्नपत्र निर्माण गरी परीक्षा सुरु गरेको जानकारी दिए ।
जनहित मावि जोमसोमले विद्यार्थीलाई परीक्षा हलमा ४ मिटरको दुरी कायम गरेको छ भने ज्वरो आएका विद्यार्थीलाई बेग्लै परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।
हिमाली जिल्ला मुस्ताङको २ स्थानीय तहको ४ वटा बिद्यालयले कक्षा ११ को परीक्षा सुरु र संञ्चालनको तैयारी गरेका हुन् । बैशाखमा हुनुपर्ने कक्षा ११ को परीक्षा कोरोना भाईरसका कारण ८ महिनापछि धकेलिएको हो ।राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गते माध्यमिक तहको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तैयारी गरेअनुसार त्यसअघि कक्षा ११ को परीक्षा सुरु भएको हो ।
मुस्ताङमा कोभिड—१९ का कारण लामो सयम देखि रोकिएको कक्षा ११ को परीक्षा सुरु भएसँगै यहाका विद्यार्थीमा खुसीको रौनक छाएको छ ।परीक्षा दिन विद्यालय उपस्थित विद्यार्थीहरुले कोरोना जोखिमका बीचमा विद्यालय र स्थानीय तहको उचित स्वास्थ्य सामाग्री व्यवस्थापनमा कोभिडको भय र सन्त्रासको वातावरणमा पनि आफूहरुलाई सुरक्षित रुपमा परीक्षा दिने व्यवस्था मिलाएको बताएका छन् ।
हिमाली जिल्ला मुस्ताङमा १ सय २४ जना बिद्यार्थीले कक्षा ११ को परीक्षा दिने भएका छन् । मुस्ताङको घरपझोङ गापाको जनहित मावि जोमसोममा ४२ , थासाङ गाउपालिका अन्र्तगत योगेन्द्र मावि टुकुचेमा २९, जनआदर्श अम्मरसिंह मावि कोवाङमा २६ र ज्ञानोदय मावि लेतेमा २७ जना विद्यार्थी यसपटकको कक्षा ११ को परीक्षा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।
समन्वय इकाइका अनुसार थासाङमा ३ मावि र घरपझोङमा १ विद्यालयले कक्षा ११ र १२ कक्षा संञ्चालनमा ल्याएका छन् भने लोमान्थाङ ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गापामा कक्षा ११ र १२ सञ्चालन नभएको जनाएको छ ।