चितवनमा फस्टायो फूलखेती

चितवनमा फस्टायो फूलखेती

चितवन : चितवनमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार भएको छ। फूलको मागसँगै सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेको हो।

सयपत्री फूलखेतीबाट मनग्गे आम्दानी पनि भइरहेको छ। फूलको माग पूरा गर्न किसानलाई भ्याइनभ्याइ छ। फूलको खपत तिहारमा बढी हुने कारण यो समय सयपत्री फूलखेती गर्नेको संख्या धेरै छ। यतिबेला किसानलाई सयपत्री टिप्न र माला उन्न भ्याइनभ्याइ छ।

 बारीमा फूल टिप्न र आँगनमा बसेर माला गाँस्न उनीहरू व्यस्त छन्। फूलको थुँगाभन्दा मालाको माग बढी छ। त्यसैले माला बनाएरै बेच्ने गर्छन्। व्यवसायीले घरबाटै माला लाने गरेपछि बजारको समस्या छैन। फूलखेतीबाट सोचेजस्तो सफलता पाएपछि किसान खुसी छन्। खासगरी पछिल्लो समय फूलखेतीमा युवाको आकर्षण बढी छ। यो वर्षबाट फूलखेती सुरु गरेका भरतपुर महानगरपालिका ४ का किसान गोपाल कँडेलले आम्दानी राम्रो भएको बताए। उनले पाँच कठ्ठामा गरेको खेतीबाट खर्च कटाएर चार लाख आम्दानी हुने अनुमान गरेका छन्। ‘यस वर्ष विचार गर्न लगाएको फाइदा राम्रो भएको छ’, कँडेलले भने, ‘अब यसलाई निरन्तरता दिने हो।’ 

मालाको खपत बढेपछि फूलको कारोबार वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादन राम्रो छ। जिल्लामा झण्डै एक करोडको सयपत्री फूलको कारोबार हुने अनुमान छ। करिब ३० बिगा जमिनमा फूलखेती गरिएको छ। गत वर्ष भारतबाट फूल आयात हुन्थ्यो। यस वर्ष जिल्लाकै उत्पादनले बजार ओगटेको छ। भारतीय फूलको तुलनामा अहिले नेपाली उत्पादनले बजार पाएको फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्तले बताए। ‘सहरीकरण बढ्यो फूल लगाउने घटेपछि फूलको व्यवसाय फस्टाएको हो’, पन्तले भने, ‘यसपटक तिहार केही पछाडि हुँदा मौसमले साथ दिएर फूल राम्रो उत्पादन भएको हो।’

गत वर्ष फूल उत्पादन कम भए पनि यो वर्ष जिल्लाको माग पूरा हुने गरी बढी उत्पादन भएको छ। जिल्लामा मात्रै नभएर राजधानीलगायत केही जिल्लामा बिक्री हुने गरेको छ। सयपत्री फूल पछिल्लो समय किनेर प्रयोग गर्नेको संख्या बढेको छ। बजारमा व्यवसायीको माध्यमबाट करिब ६० हजार माला बिक्री हुन्छ। यस्तै कृषक आफैले त्यती नै संख्यामा माला बिक्री गर्छन्। यस्तै कृषकको फार्मबाटै पनि फूल बिक्री हुन्छ। यसले फूलको कारोबार बढाएको छ। दिव्यनगरका दिपक पाख्रिनले १५ वर्षदेखि फूलखेती गर्दै आएका छन्। उनी जिल्लामा फूलखेतीका अगुवा हुन्। उनका अनुसार गत वर्षभन्दा यसवर्ष दोब्बर फूल उत्पादन भएको छ। भारतबाट आउने फूलको प्रयोगमा कमी आउनाले पनि माग बढेको छ। शीतभण्डारमा राखेको भारतीय माला घाममा राखेको केही समयमा नै कालो हुन्छ। यसले ठगिएपछि स्वदेशी उत्पादनको प्रयोग बढेको पाख्रिनले बताए। ‘कोल्डस्टोरमा राखेर बेच्ने भारतीय माला सस्तोमा बेचेर हिडिँहाल्छन्।

सयपत्री फूलमा चितवन आत्मनिर्भर बनेको  छ।  जिल्लाको माग पूरा गरेर अन्यत्र पनि बिक्री हुने गरेको छ। फूलका लागि मुख्य बजार काठमाडौं हो। चितवनमा पदमपुर, पर्सा, भण्डारा, जगतपुर, मंगलपुर, लंकुमा फूलको व्यावसायिक खेती गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.