पुनर्निर्माण तीव्र

पुनर्निर्माण तीव्र

काठमाडौं : ०७२ वैशाखको भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माणले गति लिँदै गएको छ । विश्व सम्पदा सूचीभित्रका १ सय ७० सम्पदा भत्किएकामा १ सय ५ वटाको पुनर्निर्माण भइसकेको छ । तीबाहेक धरहरालगायत भौतिक संरचनाको पुनर्निर्माण पनि तीव्र गतिमा भइरहेको छ । धरहरा १८औं तलाको ढलान हुने क्रममा छ । रानीपोखरी र दरबार हाईस्कुलको पुनर्निर्माण भइसकेको छ ।

काठमाडौं उपत्यकाका हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, पशुपति क्षेत्र, चाँगुनारायण, बौद्ध, स्वयम्भूनाथ संरक्षित स्मारक क्षेत्र विश्व सम्पदामा सूचीकृत छन् । उपत्यकाबाहिर भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा छ ।

हनुमानढोका दरबार क्षेत्रमा ५० भन्दा बढी पुरातात्विक तथा ऐतिहासिक सम्पदामध्ये ११ वटा मठमन्दिर पूर्णरुपमा ध्वस्त भएका थिए । सात वटामा आंशिक क्षति पुगेको थियो । अधिकांश सम्पदामा भूकम्पले केही न केही क्षति पुर्‍याएको थियो । काष्ठमण्डप सत्तल, दशअवतार मन्दिर, माजु देवल, छ्यासिं देग (कृष्णमन्दिर), लक्ष्मीनारायण मन्दिर, विश्वेश्वर महादेव र नगरा घर ध्वस्त भएका थिए ।

कुमारी घर, विश्वेश्वर मन्दिर (ढुंगा), लक्ष्मीनारायण सत्तल, महादेव–पार्वतीको मन्दिर, महाविष्णु मन्दिरलगायतमा आंशिक क्षति भएको थियो । त्यहाँका धेरै सम्पदामा सामान्य क्षति पुगेको थियो । हनुमानढोका क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, छ्यासी देग (कृष्ण मन्दिर), नगराघर, प्रताप मल्लको सालिक पुनःस्थापना तथा तलेजु मन्दिर पुनर्निर्माण गरिएको छ । काष्ठमण्डप, जगन्नाथ मन्दिर, त्रिभुवन सदन पुनर्निर्माण धमाधाम भइरहेको छ । काष्ठमण्डपको काम ७५–८० प्रतिशत पूरा भएको छ ।

स्वयम्भूनाथ क्षेत्रका अनन्तपुर, प्रतापपुरलगायतको निर्माण सम्पन्न भएको छ । भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण र शंकरनारायण मन्दिर पुनर्निर्माण सकिएको छ  । चाँगुनारायण क्षेत्रमा चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण सकिएको पुरातत्व विभागका पुरातत्व अधिकृत डा. सुरेश श्रेष्ठले बताए । उनका अनुसार पाटन दरबार क्षेत्रभित्रका चार नारायण, हरिशंकरलगायत सम्पदाको निर्माण सकिएको छ ।

पाशुपत क्षेत्रका सम्पदाको पुनर्निर्माण पनि तीव्र गतिमा भइरहेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले ५० प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएको जानकारी दिए । बाँकी २० प्रतिशत सम्पदाको पनि प्रक्रिया सुरु भइसकेको सदस्यसचिव डा. ढकालको भनाइ छ । ठूलो सम्पदा विश्वरुप मन्दिरको कार्यरुप तयार भई प्रक्रियामा गइसकेको छ । बाँकी रहेका पञ्चदेवल र ब्रजघरको प्रक्रिया अघि बढेको उनले सुनाए । मृगस्थलीका सत्तल, शिवालयको  यो वर्षसम्म निर्माण हुनेछ ।

विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य स्तूपा पुनर्निर्माण सकिएको छ । सूचना अधिकारीसमेत रहेका डा. श्रेष्ठले विश्व सम्पदा सूचीभित्रका ६५ वटा सम्पदाको पुनर्निर्माण भइरहेको बताए । ‘काम तीव्र गतिमा भइरहेको छ, अर्को वर्षसम्ममा विश्व सम्पदा सूचीभित्रको पुनर्निर्माण सक्ने लक्ष्य छ’, उनले भने । जापान सरकारले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रको देगु तलेजु मन्दिरको निर्माण गरिरहेको छ । पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका ३१ जिल्लाका ९ सय २० सम्पदामा भूकम्पका बेला क्षति पुगेको थियो । यीमध्ये २ सय ९८ वटाको पुनर्निर्माण चलिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले ४ सय ५४ वटा सम्पदाको पुनर्निर्माण भइसकेको जानकारी दिए । उपत्यकामा भत्किएका ४ सय ४ मध्ये १ सय ९४ वटाको निर्माण सम्पन्न भएको छ । उपत्यकाबाहिरका ३ सय ४७ मध्ये १ सय ५५ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । अतिप्रभावित १४ जिल्लाका ७ सय ५३ वटा भूकम्पबाट भत्किएका थिए ।
भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणमा नेपालकै स्रोतका अतिरिक्त विभिन्न राष्ट्रले पनि सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्विटजरल्यान्ड, श्रीलंका, जापानलगायत छन् । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ् एप्लाइड आर्ट्सले पनि सहयोग गरेका छन् ।

सिंहदरबारमै प्रधानमन्त्री कार्यालय

सिंहदरबारको मुख्य भवनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सार्ने तयारी छ । उत्तरी, पूर्वी  र दक्षिण मोहडाको काम सम्पन्न हुन लागेको छ । मंसिरभित्र निर्माण गरी प्रधानमन्त्री कार्यालय सार्ने तयारी भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । उत्तरी, पूर्वी र दक्षिण मोहडाको प्रवलिकरण सकिएर सजावट र सौन्दर्यकरणको काम भइरहेको छ । पश्चिमी मोहडाको पनि ५५ प्रतिशत काम सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.