स्वप्नशील मान्छेका स्मरणीय योगदान
२०७७ कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जानुहुँदा सबै सँगसँगै हुनुहुन्थ्यो। राजेन्द्र गौतम र परशुराम मेघी गुरुङका साथ प्रधानमन्त्रीको यात्रा टोलीमा एकजनालाई सायद धेरैले मिस गरेको हुनुपर्छ। उहाँ हुनुहुन्थ्यो पूर्वसांसद हरि बैरागी दाहाल। आज उहाँ जन्मिनुभएको दिन यो सन्दर्भले फेरि एकपटक बैरागीको सम्झना गराएको छ। किमाथांका सीमा क्षेत्र, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणस्थल र कोशी–ल्हासा जोड्ने त्रिदेशीय सडक करिडरको अवलोकनमा उहाँ छुट्नुभयो। किनभने २०७६ असोज ३ गते नै उहाँ अकल्पनीय रूपमा बितिसक्नुभएको थियो।
‘हरि बैरागी धेरै छिटो प्रस्थान गर्नुभयो। जलविद्युत् विकासका क्षेत्रमा उहाँ खासमा निजी र सामुदायिक सहभागिताका पक्षका अगुवा अभियन्ता नै हुनुहुन्थ्यो !’ पार्टी केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौंको प्रांगणमा अन्तिमपटक बिदाइ गरेलगत्तै मैले आफ्ना अनुभूति सोसल मिडियामा यसरी लिपिबद्ध र सम्प्रेषण गरेको थिएँ। केही समयअघि उहाँका ‘लाल जोडी’, जलविद्युत् विकास क्षेत्रमै समर्पित अर्का अभियन्ता डेडराज खड्काले केही लेख्न टेलिफोन गर्नुभएपछि पुनः एकपटक सम्झिएँ– बैरागीको बिदाइको त्यस क्षणलाई दुःख, पीडा र शोकमग्न दिन र धेरै शुभेच्छुकले आफ्नो मान्छे गुमाएको अनुभूति गरिरहेको दिनका रूपमा सम्झें !
संखुवासभा मादीका चर्चित दाहालहरूमध्ये उहाँ आफ्नो विशेषता मूलतः सबैसँग घुलमिल र निरन्तर सम्बन्धमा रहने आत्मीय र मिलनसार मान्छे हुनुहुन्थ्यो। उहाँलाई राजनीतिबाट अलग गरेर होइन, सँगसँगै प्रस्तुत गरेर मात्रै सही रूपमा बुझ्न र खास योगदानको स्मरण गर्न र प्रेरणा लिन सकिन्छ । व्यक्तिगत रूपमा उहाँसँग चिनजान भएपछि जीवनपर्यन्त नै कोही रिसायो वा टाढा भयो भन्ने धेरैलाई नलाग्न सक्छ र मलाई पनि लाग्दैन। आफ्नो स्वार्थबाट अलग्गै नरहेर उहाँसँग व्यवहार गर्नेहरूको अनुभव त फरक होला भन्ने अनुमानचाहिँ गर्न सकिन्छ। खासमा सहृदयी र सामान्यपन उहाँलाई सम्झाइरहने विशिष्ट पक्ष थिए।
मादीबाट उच्च शिक्षा अध्ययनका लागि सप्तरीको राजविराज पुगेपछि उहाँ जीवनको नयाँ यात्रामा अघि बढ्नुभयो। तत्पश्चात् नै उहाँको खास भिन्न परिचय र नयाँ मान्छे बन्ने क्रम थालनी भएको थियो। कानुन पढ्नुभएका उहाँले वकालती पेसा त कहिल्यै अपनाउनुभएन, तर जीवनभरि अविराम पैरवीकर्ता बनिरहनुभयो– न्यायप्रेमी जनताको; व्यवस्थित एवं आधुनिक शैक्षिक क्षेत्रको; सामाजिक न्याय र परिवर्तनको; जनताले स्वयं ऊर्जामा लगानी गरी परियोजना बनाउने उदाहरणीय कार्यको र त्यसअनुरूपका नीतिनियम तर्जुमा गर्ने कार्यको। त्यही सिलसिलामा राजनीतिक जीवनको सुरुमा उहाँ वामपन्थी विद्यार्थी आन्दोलनमा संलग्न मात्र हुनुभएन; अनेरास्ववियुको जिल्ला अध्यक्ष नै भएर नेतृत्व सम्हाल्नुभयो। राजविराजमा मण्डलेहरूसँग पटकपटक भिड्ने क्रममा उहाँ दुईतीनपटक जेलसमेत पर्नुभयो।
बैरागीलाई स्वच्छन्द बगिरहने कर्मयोगी भन्न सकिन्छ। उहाँले देखेका हरेक सपना पूरा नहुन पनि सक्छन्, तर निश्छल, स्वप्नदर्शी र सक्रिय व्यत्तिाmत्व धेरै सन्दर्भ र प्रसंगमा यत्रतत्र छरिएर रहन्छन्।
उहाँले तत्कालीन नेकपा (माले) का तर्फबाट २०४३ सालमा जनपक्षीय हस्तक्षेपअन्तर्गत संखुवासभामा उम्मेदवार भई आम बासिन्दासमक्ष पुग्ने मौका पाउनुभयो। जनताले एक समय त ‘बैरागीको पार्टी’ भनेरै उहाँ आबद्ध पार्टीलाई चिन्ने स्थितिसम्म त्यहाँ थियो भन्दा अतिशयोक्ति हुँदैन। खासमा यो छवि जनपक्षीय उम्मेदवारका रूपमा जनताको माझमा पुग्दा र घुलमिल हुँदा उहाँले जनसेवाबाटै निर्माण गर्नुभएको थियो। यद्यपि, त्यस निर्वाचनमा उहाँ चौथो स्थानमा आउनुभयो र जय–पराजयभन्दा ‘पार्टीको राजनीतिक प्रचार’ मा बढी सक्रिय रहनुभयो।
दिनहुँ झ्याइँकुटी !
२०५१ सालको मध्यावधि निर्वाचनमा उहाँ संखुवासभा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर काठमाडौं आउनुभयो। ३५÷३६ वर्षीय लक्का जवान युवाको जनप्रतिनिधिका रूपमा सिंहदरबार आगमन आफैंमा उत्साह, ऊर्जा र नयाँ भूमिका परीक्षा थियो। त्यसमा अझ सँगसँगै छँदै थियो– बैरागी स्वभाव र कार्यशैली।
मैले उहाँलाई नजिकबाट देखेजानेको त्यही बेलादेखि बढी हो। संखुवासभामा मोटरबाटो पु¥याउनेलगायतका माग राखेर हरेक दिनजसो जिल्लाका दुवैजना सांसद प्रतिनिधिसभामा बेग्लै शैलीमा आवाज उठाउने गर्नुहुन्थ्यो। खड्का र बैरागी दुईजना माननीय त्यतिबेला प्रतिनिधिसभाको ग्यालरी बैठकको प्रवेशद्वारमा दायाँ र बायाँपट्टि पलेटी कसेर बस्नुहुन्थ्यो। यसरी शान्तिपूर्ण र मर्यादित रूपमै आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका माग तथा मुद्दा उठाएर सिंगो देशको ध्यानाकर्षण गराउने गर्र्नुहुन्थ्यो, जो अरूका लागिसमेत उदाहरणीय प्रदर्शन र प्रस्तुति थियो।
मर्यादापालकहरू उहाँहरूलाई ‘झ्याइँकुटी’ पार्दै प्रतिनिधिसभा भवनबाहिर रहेको चौतारासम्म पु¥याएर छाड्थे। त्यसक्रममा माननीय बैरागीलाई मर्यादापालकले झ्याइँकुटी पार्दै बोकेर पुर्याउँथे भने खड्का पछिपछि हिँड्नुहुन्थ्यो। यो क्रम तीनचार दिनसम्मै चलिरह्यो।
आज संखुवासभामा मोटरबाटो पुगेको छ। उहाँहरूको त्यतिबेलाको त्यस भिन्न शैलीको ‘विरोध र अवज्ञा’ को महत्वबोध मोटर चढेर खाँदबारी, चैनपुर वा तुम्लिङटार पुग्नेलाई अहिले नहुन पनि सक्छ। एक समय ‘पूर्वको कर्णाली’ जस्तै विकट रहेको संखुवासभामा तुम्लिङटार–खाँदबारी खण्डमा मात्रै हवाईजहाज र मान्छेले पाटपुर्जा बोकेर लगेका मोटर चलाउनेसम्मको कार्य भएको थियो। पछि मात्रै त्यहाँ मोटरबाटो पुगेर नियमितरूपमा मोटरगाडी चल्ने स्थिति बनेको थियो। जननिर्वाचित सांसदका रूपमा पाँच वर्ष प्रतिनिधिसभामा रहँदा आफ्ना सहयोद्धा खड्कासँग घनिष्ट सहकार्य र संयुक्त प्रयासमा जिल्लाका थुप्रै काममा उहाँले महत्वपूर्ण योगदान गर्नुभएको थियो। यो कुरा संखुवासभावासीले बिर्सेका छैनन् र कहिल्यै बिर्सने पनि छैनन्।
पिलुवाका परिकल्पनाकार
प्रतिनिधिसभामा रहँदादेखि नै उहाँ जनसहभागितामा बिजुली उत्पादन अर्थात् ‘जनताको लगानीमा हाइड्रोपावर प्रोजेक्ट’ को मोडेल निर्माणमा जुट्नुभयो। नेपालमा विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानीका लागि ढोका खोल्ने कार्यको श्रेय तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यलाई जान्छ। त्यसको व्यावहारिक प्रयोग र विद्युत् उत्पादनको अग्रसरतापछि हरि बैरागीले नै लिनुभएको थियो। उहाँको परिकल्पनामा पहिलो विद्युत् परियोजनाका रूपमा निजी क्षेत्रले पिलुवा खोला जलविद्युत् आयोजना (३ मेगावाट) को निर्माण कार्य सम्पन्न गरेकोे थियो। त्यसैको निरन्तरताका रूपमा निजी क्षेत्रले हाल देशभरि ७३३ मेगावाट बिजुली उत्पादन गरिसकेको छ।
संखुवासभाका क्याम्पसहरूको सञ्चालनमा आर्थिक स्रोतको दिगो व्यवस्थापन मिलाउन उहाँले त्यहाँ निर्मित लघु–साना जलविद्युत् आयोजना सञ्चालनमा जोड दिनुभयो र आवश्यक प्रबन्धसमेत मिलाउन लाग्नुभयो। मलाई अहिले पनि सम्झना छ– नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले डेढ दशकअघि नै यसबारे एकपृष्ठ लामो विशेष रिपोर्ट प्रकाशित गरेको थियो।
उत्साह, ऊर्जा र हुटहुटी उहाँको कार्य–सम्पादनका बुलन्द पक्ष थिए। फलतः उहाँ आफ्नो अध्ययन, जानकारी र पर्याप्त ज्ञान नभएको नौलो र नवीन क्षेत्रमा समेत गति र परिणामका साथ सक्रिय हुन सक्नुहुन्थ्यो। माथिका यी दृष्टान्त त्यस स्वभावकै परिणति थिए।
स्वप्नशील मान्छे
अध्ययन, अनुभव र स्पष्ट आकारमा उहाँ सीमित हुनुहुन्थेन। जनशैली र स्वभाव बेग्लै पक्ष थियो। हल्काफुल्का प्रस्तुति र रोचक रमाइलो तौरतरिका कतिपय विज्ञ–अध्येतालाई सायद मन पर्दैनथ्यो होला। प्राज्ञिक रूपमा आफ्नो धारणा, लेखन र डाटाबेसमा कुरा राख्न उहाँले कहिल्यै ध्यान दिनुभएन। लेख्ने बानी खासै थिएन। सबैमा लेख्ने क्षमता नहुन पनि सक्छ, तर उहाँ स्वप्नशील हुनुहुन्थ्यो, जो स्वतस्फूर्त र बेलगाम रूपमा सोच्ने अनि नयाँनयाँ परिकल्पनामा डुबुल्की मार्ने, सबैको ध्यानाकर्षण गर्नसक्ने भावना, भावुकता र ऊर्जासहितको बेजोड मान्छे हुनुहुन्थ्यो। त्यही जगमा उभिएर उहाँले जुन छवि, व्यक्तित्व र कार्यक्षेत्र बनाउन सफलता हासिल गर्नुभयो, त्यसको उपयोग गरेर कतिपय चलाख व्यक्तिहरू पछि सहजै अगाडि बढ्न सफल भए। अव्यवस्था, अस्तव्यस्तता र भावुकताका कारण ठोसरूपमा आफैं परियोजना विकास र कार्यान्वयनको प्राविधिक र झन्झटिला काममा उहाँ पढेलेखा व्यक्तिहरूजस्तो नाफाकेन्द्रित भएर सक्रिय हुन सक्नुभएन र चाहनु पनि भएनजस्तो लाग्छ।
उहाँ कहिले पूर्व–पश्चिम राजमार्गको विकल्प र समानान्तर रूपमा मध्यपहाडी लोकमार्ग, कहिले कोशी–ल्हासा करिडोर, कहिले ग्रेट हिमालयन ट्रेलका अवधारणाको परिकल्पना र प्रचारमा जुट्नुहुन्थ्यो। तीमध्ये केही राष्ट्रिय गौरव र महत्वका योजनाका रूपमा नेपाल सरकारको प्राथमिकतामा परिसकेका छन्।
एकपटक उहाँ मदननगर बल्खुस्थित मेरो कार्यकक्षमा पुगेर ताप्लेजुङदेखि दार्चुलासम्मका उत्तरी जिल्ला जोडेर पर्यटनकेन्द्रित ‘हिमालय हाइ वे’ बनाउन आवश्यक वस्तुस्थिति बुझ्ने प्रयोजनका लागि सम्बन्धित जिल्लाका व्यक्तिहरूको भेला र अन्तरक्रिया संयोजन गर्ने सरसल्लाहमा समेत जुट्नुभएको थियो।
चिनियाँ राजदूतका साथ खाँदबारी
२०६१ सालमा तत्कालीन चिनियाँ राजदूतलाई खाँदबारी लगेर गरिएको कोशी–ल्हासा करिडोरको महत्वबारेको सार्वजनिक घोषणा कार्यक्रममा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र उहाँको सञ्चारविज्ञका रूपमा भाग लिन म पहिलोपटक खाँदबारी, संखुवासभामा पुगेको घटना विशेष रूपमा सम्झिरहेको छु। हामी तुम्लिङटारसम्म हवाईजहाज, त्यहाँबाट खाँदबारीसम्म मोटर र फर्कंदा पैदलै हिँडेर तुम्लिङटारसम्म आएको यात्रा विवरण आफैंमा स्मरणीय रहेको छ।
उहाँ कहिले सबैभन्दा अग्लो बुद्धको मूर्ति त कहिले कृष्णको मूर्ति स्थापना गर्ने सपनाको पछि लागिपरेकोे अवस्थामा भेटिनुहुन्थ्यो। सम्भवतः झापामा सबभन्दा ठूलो र अग्लो बुद्धको मूर्ति स्थापना कार्य साकार हुने क्रममा रहेको छ। संखुवासभामा कृष्णको अग्लो मूर्ति स्थापना गर्नबाट उहाँ आफैं पछि हट्नुभयो कि ? त्यसको कार्यान्वयन नहुनुको कारण जानकारी छैन। उहाँले विकासका बहुआयामिक क्षेत्रमा आफ्ना मौलिक सपना अवश्य देख्नुहुन्थ्यो। त्यस आधारमा उहाँ एकजना स्वच्छन्द बगिरहने कर्मयोगी हुनुहुन्थ्यो भन्न सकिन्छ। उहाँले देखेका हरेक सपना कार्यान्वयन हुनैपर्छ भन्ने थिएन र छैन नै। ती कहिल्यै पूरा नहुन पनि सक्छन्। तर उहाँको निश्छल, स्वप्नदर्शी र सक्रिय व्यक्तित्व यस्ता धेरै सन्दर्भ र प्रसंगमा यत्रतत्र छरिएर रहेका छन्।
अन्त्यमा,
६२ वर्षको छोटो जीवन बाँचेर असामयिक रूपमा अस्ताउनुभएका बैरागीको अवसान राष्ट्रका लागि एउटा अपूरणीय क्षति थियो। जनताका भावना, आकांक्षा र सामथ्र्यमा उभिएर देशको आवश्यकता एवं प्राथमिकता निर्धारण गर्दै विद्युत् विकास कार्यमा अघि बढ्नुपर्छ भन्ने उहाँको मौलिक विशेषता र जोड गर्ने आवाजसहितको क्रियाशील भूमिका रिक्त हुन पुगेको छ। त्यस तहको जनशैली र स्वप्नशील मान्छे यस क्षेत्रमा अर्को कोही देखा परिसकेको छैन। नेपाली समाजले अर्का हरि बैरागी पाउला वा नपाउला ? अहिल्यै ठोकुवा गरेर भन्न सकिँदैन। किनभने उहाँको रिक्तताको अनुभूति लामो समयसम्म गर्नुपर्ने गरी देशले एकजना कर्मयोगी व्यक्तित्व र जनसेवी राजनीतिज्ञ गुमाएको छ।
जे होस्, उहाँ असमयमै दिवंगत हुनुभयो !
अलबिदा, प्रिय सहयोद्धा हरि बैरागी दाहाल !!
हामी तपाईंलाई सदैव सत्कर्म र असल आनीबानीमा
सम्झिरहने छौं !
–थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन्।