अमेरिकी राष्ट्रपतीय निर्वाचन : अन्त्यहीन भएको चुनावी प्रक्रिया कसरी टुङ्गिएला ?
वासिङटन : यस पटकको चुनावमा जो बाइडन विजयी भएको प्रक्षेपण गरिएको केही दिन बितिसक्यो तर डोनल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन्। उनले आफू पराजित भएको स्वीकार गर्ने सङ्केत पनि देखाएका छैनन्।
बरु ट्रम्पले मतदानमा धाँधली भएको र त्यसले परिणामलाई बाइडनको पोल्टामा पुर्याइदिएको 'आधारहीन' आरोप लगाइरहेका छन्।
तर अङ्कगणितले ट्रम्प कैयौँ राज्यमा दसौँ हजार मतले पछि रहेको र चुनावमा सफल हुन उनले अवस्था उल्टाउनुपर्ने देखाएको छ। अधिकांशले त्यस्तो हुन नसक्ने बताइरहेका छन्।
अहिलेको अनिश्चितताको बेला महत्त्वपूर्ण पक्षहरू के गरिरहेका छन् र तिनको कामले कस्तो प्रभाव पार्छ त ?
रिपब्लिकन दल
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ?
अहिले नै पर्दैन। सिनेटमा रिपब्लिकन दलका नेता मिच मक्कनेलले आरोपहरूबारे हेर्ने र कानुनअनुसार पुन: गणनाका लागि अनुरोध गर्ने अधिकार राष्ट्रपतिमा रहेको बताएका छन्।
वास्तविकता
विगत चार वर्षमा रिपब्लिकन नेताहरूले ट्रम्पले जति नै विवादित काम गरेपनि त्यसलाई सामना गर्ने रणनीतिमा निखार ल्याएका छन्।
उनीहरूले केही प्रतिक्रिया नजनाउने, पर्खिने र त्यसले निम्त्याएको तरङ्गलाई जान दिने गर्दै आएका थिए। उनीहरू ट्रम्पले गर्ने एउटै ट्वीटमार्फत् पछि लाग्ने उनका समर्थकको निसानामा पर्न चाहँदैनथे।
पराजित भएपनि यो प्रकरणमा रिपब्लिकनहरू औचित्यहीनजस्तो देखिएको कानुनी चुनौती नटुङ्गिएसम्म र नतिजा प्रमाणित नहुन्जेलसम्म राष्ट्रपतिले आफूले ‘कानुनी मत’ का आधारमा जितिरहेको अडान लिइरहून् भन्ने चाहन्छन्।
रिपब्लिकनहरूले अब आउने डोमोक्र्याटिक दलसँग काम गर्ने र आगामी चुनावमा मध्यमार्गीहरूको समर्थन जुटाउने विषयमा पनि सोच्नुपर्ने हुन्छ।
राष्ट्रपतिले जस्तो उनीहरू प्रतिस्पर्धीलाई लाभ पुग्ने सबै कुरा ध्वस्त गर्ने पक्षमा छैनन्। किनभने उनीहरूको राजनीतिक भविष्य दिन वा हप्तामा नभई वर्षमा नाप्ने गरिन्छ।
त्यही भएर उनीहरू राष्ट्रपतिसँग दाबी गर्ने अधिकार रहेको भन्दै उनलाई आफ्नो निराशा व्यक्त गर्न समय दिइरहेका छन्।
रिपब्लिकनहरू जनवरीमा राष्ट्रपति ट्रम्प बाहिरिने र अमेरिकाले नयाँ राष्ट्रपति प्राप्त गर्ने विश्वासमा छन्।
अमेरिकी महान्यायाधिवक्ता विलियम बार
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ ?
त्यो अस्पष्ट छ। न्याय मन्त्रालयलाई पठाएको पत्रमा उनले गम्भीर आरोपलाई एकदमै ध्यान दिएर हेर्नुपर्ने भएपनि अनुमानका भरमा वा मनगढन्ते हिसाब सङ्घीय अनुसन्धान अघि बढाइन नहुने बताएका छन्।
वास्तविकता
लामो परम्परा भङ्ग गर्दै सोमबार महान्यायाधिवक्ता बारले राज्यहरूले परिणामलाई प्रमाणित नगर्दै धाँधलीबारेको अनुसन्धान तत्काल थाल्न बाटो खोल्ने एउटा निर्देशन न्याय मन्त्रालयका उच्च अधिकारीहरूलाई थमाएका थिए।
उक्त दस्तावेजले ट्रम्पलाई आफूले हारेका एकभन्दा बढी राज्यका अप्रमाणित धाँधलीका आरोप सरकारले अनुसन्धान गर्न गइरहेको छ भन्ने प्रमाण दिएको छ।
महान्यायधिवक्ताले उक्त मेमोमा कैयौँ सर्त राखेका छन् अनि सावधानी पनि अपनाएका छन्।
तर पनि बारको पत्रले आफूबाट नतिजा खोसिएको अडान लिइरहेका ट्रम्प र उनका समर्थकहरूलाई उत्साह थपेको छ।
चुनावसँग जोडिएका फौजदारी अनुसन्धानमा हस्तक्षेप नहोओस् भन्ने सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू छन्। बारले केही त्यस्ता व्यवस्था हटाएका भएपनि त्यसले धाँधलीको दाबी पुष्टि गर्ने प्रमाण खोजिरहेका राष्ट्रपतिका लागि सघाउला कि नसघाउला भन्ने स्पष्ट छैन।
ट्रम्पको भित्री समूह
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ?
हुँदैन। (स्वीकार्नुपर्ने हुनसक्छ।)
ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्भिसले आफूले राष्ट्रपतिलाई समर्थन गर्ने र विधिको शासन, संविधान र अमेरिकी प्रणालीको पक्षमा उभिँदा आफूलाई गर्व लागेको बताएकी छन्।
वास्तविकता
राष्ट्रपतिसँग लामो समय सँगै रहेका रूडी जुलिआनी मतगणना परिणामलाई चुनौती दिने ट्रम्पको धारणाको पक्षमा छन्।
कतिपयले ट्रम्पको कार्यकाल सकिएसँगै सत्ता र शक्तिमा आफ्नो पहुँच समाप्त हुने भएकाले त्यस्तो गरेको हुन सक्ने बताएका छन् ।
ह्वाइटहाउसकी प्रेस सचिव काइली माक्नानीले आफ्नो पक्ष विजयी भएरै छोड्ने बताएकी छन्।
अरू जस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्रम्पको दोस्रो कार्यकालका लागि सहजै सत्ता हस्तान्तरण हुने प्रतिक्रिया दिएका छन्।
ट्रम्पका दुई छोराले जोडदार रूपमा आफ्ना बुवाको समर्थन गरेका छन्। त्यसको व्यक्तिगत कारण पनि छ किनभने यसमा परिवारको नाम र मान जोडिएको छ। तर केही आशङ्काहरू पनि उत्पन्न भएका छन्। राष्ट्रपतिकी छोरी इभान्का चुनावयता मौन छिन्। उनी र उनका पति ज्यारेड कुश्नरले ट्रम्पले पराजय स्वीकार गर्नुपर्ने समय आएको भन्ठानेको समाचार आएको छ।
ट्रम्पका समर्थकहरू
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ?
उनीहरू राष्ट्रपतिले हार स्वीकार्न नहुने पक्षमा छन्।
ट्रम्पका कएक समर्थकले चुनावमा पूर्ण धाँधली भएको र गणना नभएका मत मृतक र नक्कली मानिसका भएका बताएका थिए।
वास्तविकता
चुनावअघि ट्रम्पका समर्थकहरू आफ्ना नेताले जित्नेमा विश्वस्त देखिएका थिए।
सन् २०१६ को चुनावमा अप्रत्याशित रूपमा पराजित हुनुअघिसम्म हिलरी क्लिन्टनले नै जित्ने ठानिएको थियो।
अनि यो वर्ष अनुमान गरिएभन्दा निक्कै कडा प्रतिस्पर्धा भयो।
मतगणनामा बाइडनको पक्षमा प्रतिस्पर्धा गएको देखाइसक्दा पनि केही परम्परावादीहरू राष्ट्रपतिको पक्षमा उभिएका छन्।
रोएटर्स र आईपीएसओएसले गरेको सर्वेक्षणले करिब ४० प्रतिशत रिपब्लिकनहरूले बाइडनले चुनाव जितेको विश्वास नगरेको देखाउँछ।
ट्रम्पको अभियानले ‘धाँधली रोक्न’ माग गरिएको र्याली देशभरि गर्ने योजना बनाएको छ। ट्रम्पसँग लडिरहने इच्छाशक्ति भए भने उनका समर्थकहरूले साथ दिने देखिन्छ।
जो बाइडन
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ?
पर्छ। बाइडनले ट्रम्पको धारणालाई लज्जास्पद भन्दै त्यसले राष्ट्रपतिको विरासतलाई सहयोग नपुर्याउने धारणा राखेका छन्।
वास्तविकता
शनिबार चुनावको विजेताको रूपमा प्रक्षेपण गरिएपछि जो बाइडनको सङ्क्रमणकालीन समूहले शक्ति हस्तान्तरणको प्रक्रिया सहज र विधिसम्मत रूपमा अघि बढोस् भन्ने सुनिश्चित गर्न सक्दो काम गरिरहेको छ।
उनले सोमबार कोरोनाभाइरस कार्यदलसँग भेटे भने मङ्गलबार संवाददाताहरूसँग कुरा गर्दै आगामी हप्तामा आफ्नो प्रशासनका उच्चस्तरीय नियुक्तिहरू घोषणा गर्ने बताए।
बाइडनले ट्रम्पले हार नस्वीकार्दा आफूलाई अप्ठ्यारो परेको चिन्ता परेको अस्वीकार गरेका छन्।
अनि राज्यका सूचना र कतिपय स्रोतमा राष्ट्रपति-निर्वाचितलाई पहुँच पुग्न समय लाग्नु एकदमै ठूलो हानि नभएको टिप्पणी गरेका छन्।
बाइडनले ‘पदासीन राष्ट्रपतिबाट मध्यम तहको धम्कीको सामना गरिरहेका’ रिपब्लिकनहरूले उनको जित स्वीकार्ने पनि बताएका छन्।
डोनल्ड ट्रम्प
के ट्रम्पले हार स्वीकार गर्नुपर्छ ?
उनको ट्वीटले उत्तर दिन्छ - “जनताले यो धाँधलीपूर्ण चुनावलाई स्वीकार गर्दैनन्।”
वास्तविकता
डोनल्ड ट्रम्पलाई मात्रै थाहा छ कि कैयौँ राज्यमा दसौँ हजार मतले पछि परे पनि किन उनले आफ्नो हार स्वीकार गरिसकेका छैनन्।
सम्भवतः दक्षिणपन्थी सञ्चारमाध्यमका उपभोक्ताका हिसाबले उनी अझै प्रमाणित हुनसक्ने ठूलो तहको धाँधली भएको साँच्चै ठानिरहेका छन्।
त्यस्तो अवस्थामा एकभन्दा बढी अदालतलाई विश्वासमा लिएर नतिजा आफ्नो पक्षमा पार्न सकिने उनको विश्वास हुनसक्छ। कतिपयले राष्ट्रपतिले हारबाट आफ्नो व्यक्तिगत ब्रान्डमा दाग लाग्न नदिन यसो गरेको पनि भनिरहेका छन्।
अझ लामो चुनावी लडाइँ गर्ने हो भने त्यसका लागि चन्दा सङ्कलन गर्न वा त्यस्तो रकम हार बेहोरेको चुनावी अभियानको ऋणजस्ता खर्चमा प्रयोग गर्ने उद्देश्य हुनसक्ने पनि ठानिन्छ।
एउटा बिन्दुमा वास्तविकता प्रकट हुन्छ। राज्यहरूले आगामी हप्ताहरूमा नतिजा प्रमाणित गर्दा इतिहासकै सबैभन्दा ठूलो भवितव्य भएन भने जो बाइडनले कुल ५३८ इलेक्टोरल कलेजमध्ये बहुमत आफ्नो पक्षमा प्राप्त गर्नेछन् र परम्पराअनुसार जनवरी २० मा शपथग्रहण गरी पदभार ग्रहण गर्नेछन्।
त्यसबेला हार स्वीकार गरेपनि नगरेपनि ट्रम्पले पद छाड्नैपर्छ।
तर उनी सन् २०२४ को चुनावमा फेरि सहभागी हुन सक्छन्। अमेरिकी संविधानले लगातारको सर्त नराखी दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था गरेको छ।
(बीबीसीबाट)
प्रतिक्रिया दिनुहोस !