पाल्पाली ढाकाको व्यापारमा तिहारले समेत थपेन उत्साह
तानसेन : शीरमा पाल्पाली ढाका टोपी, निधारमा सप्तरंगी टिका, गलामा विभिन्न फूलहरुका माला लगाएर तिहार धुमधामसँग मनाउने परम्परा रहेपनि यसपालि कोभिड १९ का कारण निर्धक्क भएर तिहार मान्ने अवस्था छैन।
दसैँदेखि तिहारसम्म अत्यधिक व्यापार हुने पाल्पाली ढाका यस वर्ष बिकेन। सिजनमा समेत तानसेनका व्यवसायीहरुले ग्राहक कुरेर बस्नु परेको छ। पाल्पामा ढाका कपडाको उत्पादन प्रशस्त भएपनि व्यापार नहुँदा उत्पादित ढाका कपडा उधोगीहरुले गोदाम थन्काउनु परेको छ। प्रत्येक घर परिवारमा तिहार दिदीबहिनीले दाजुभाइ निधारमा सप्तरंगी टिकासँगै शीरमा पाल्पाली ढाका टोपी लगाउने र दाजुभाइले दिदीबहिनीलाई उपहार स्वरुप ढाकाको चोलो पछ्यौरा, सल, लगायतका उपहार आदान प्रदान गर्ने प्रचलनले पाल्पाली ढाकाको व्यापार फष्टाएको थियो। तर यस बर्ष बाहिरी पर्यटकहरु नआएको, आन्तरिक बजारमा समेत ढाका कपडाको अत्यन्तै न्यून रहेको ढाका व्यवसायी हरि रायमाझीले बताए।
पाल्पा घुम्न पुग्ने पर्यटकहरुले पाल्पाली चिनोका रुपमा ढाका टोपी, आस्कोट, सल, चोलो पछ्यौरा, व्यागदेखि साडीसम्म उपहारको रुपमा लैजाने प्रचलन रहेको छ। विगतका वर्र्षहरुमा दैनिक रुपमा पर्यटकहरुको आगमनसँगै शैक्षिक भ्रमण, गोष्ठी, जस्ता विविध कार्यक्रमहरुबाट समेत पाल्पाली ढाकाको व्यापार राम्रो हुँदै आएको थियो। यस वर्ष भने कोभिड १९ महामारीका कारण चाडपर्व समेत विगतको तुलनामा करिब २५ प्रतिशत मात्र व्यवसाय भएको व्यवसायी शीतम भण्डारीले बताइन्।
तानसेनमा मात्र १२ वटा ठुला ढाका उद्योग रहेका छन् भने जिल्लाभरि नै घरेलु तानबाट ढाका बुन्ने संख्यामा दिनहु बढिरहेका छन्। हाल पाल्पाली ढाकाबाट करिब १ हजारले भन्दा बढीले रोजगारी पाएका छन् करोडौको कारोबार हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !