लिम्पियाधुरा कि ग्रेटर कालापानी : निरर्थक बहस
नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ ‘ग्रेटर कालापानी’ भन्ने विषय उठान गरेपछि त्यस विषयमा विवाद र बहस सिर्जना भएको छ। सीमाविद्, नक्साविद्, कूटनीटिज्ञ क्षेत्र यस विषयमा दुई धारमा विभाजित भएका छन्। दुवैथरी आआफ्ना दलिल दिइरहेका छन्।
श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेत भूभागलाई ग्रेटर कालापानी भन्नुपर्ने तर्क अघि सारेका छन्। ग्रेटर कालापानी (बृहत् कालापानी) मा पूर्वको लिपुलेकदेखि नाभिडाङ, तुल्सिनुराङ कालापानी, काली मन्दिर, गुञ्जी, नाभी, कुटी, पार्वतीकुण्ड, जोलिङकाङ, जन्सकार, लिम्पियाधुरा समावेश हुन्छ। यतिका धेरै नाम लिइरहन झन्झटिलो हुन सक्ने भएकाले ग्रेटर कालापानी भनिएको उनको दाबी छ।
पूर्वटिस्टादेखि काँंगडाजस्तै ग्रेटर नेपालजस्तै लिपुलेकदेखि लिम्पियाधुरा ग्रेटर कालापानीलाई नामांकन गर्न सकिने उनको तर्क छ। अर्काथरीले हिजो कालापानी मात्रै विवाद छ भन्दा नेपालको लिम्पियाधुरा, कुटी, गुन्जी र नाभी पनि नेपालकै हो भन्नेमा आम जनता अनभिज्ञ रहे। त्यसकारण कालापानी मात्रै होइन; भारतले नेपालको लिम्पियाधुरासम्मकै भूभाग मिचेका कारण लिम्पियाधुरा, कालापानी, लिपुलेक शब्दावली नै उपयुक्त हुने अर्काथरीको तर्क छ। भोगाधिकार नहुञ्जेल लिम्पियाधुरा, कालापानी र लिपुलेक नै भन्नुपर्ने उनीहरूको तर्क छ।
जलविज्ञानका ज्ञाता डा. जगतप्रसाद भुसाल सीमा विवादलाई लहडको विषय नबनाउन अपिल गर्छन्। भारतीयकै डिजाइनमा कालापानीको नाम अगाडि आएकाले गुन्जी, नाभी, कुटी, लाङक्यापासलगायतका क्षेत्र ओझेलमा परिरहेको उनको तर्क छ। भारतीय तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी) ले सन् १९६२ देखि कब्जा गरिराखेकाले कालापानीको व्यापक प्रचार छ। भारत–चीनको युद्धपछि त्यहाँ भारतीय फौज बस्दै आएको छ। भारतले कालापानीलाई नक्कली बनाएर यो ठाउँ कब्जा गरिरहेको छ। कालापानी मात्रै प्रचारमा ल्याएर लिपुखोला पश्चिमको कुटी, गुन्जी, नाभी, लाङक्यापासलगायतका क्षेत्र गुमनाम परिएको थियो। कुटी, गुन्जी, नाभीलगायतका क्षेत्र भारतले भौतिक पूर्वाधारदेखि सुरक्षाफौज राख्ने काम निरन्तर गरिरहेको थियो।
‘नेपालको अद्यावधिक नक्साले यी ऐतिहासिक ठाउँ (गुन्जी, नाभी, कुटी लाङक्यापास आदि) नेपालभित्र पारेकाले भारतको ठाउँको दुखाइ हुनु अन्यथा होइन’, नदीविज्ञ भुसाल भन्छन््, ‘यी ठाउँबाट सजिलै भारतीय सुरक्षा फौज हट्लान् भनेर अनुमान गर्नु हतारो हुनेछ। तर तीन करोड नेपालीको निरन्तर आवाज रहिरहँदा नै यी ठाउँबाट भारत हट्न विवश हुनेछ।’ उनी ग्रेटर कालापानी लिम्पियाधुरा–कुटी भन्नुपर्ने सुझाव दिन्छन्।
‘मेरो सुझाब छ– नेपाली जिब्रोमा लिंपियाधुरा–कुटी रहनुपर्छ; कालापानी होइन। उनी भन्छन्, ‘विगतमा जनजिब्रोमा लिंपियाधुरा–कुटी नरहेकाले नक्सा अद्यावधिक गराउन हामी तीन करोड नेपाली आआफ्नो क्षेत्रबाट पापड पेल्नुपरेको नभुलौं।’
उनका अनुसार सुगौली सन्धि १८१६ नै नेपाल–भारतको सीमा निर्धारणको आधार भएकाले धौलीगंगाको उत्तर–पूर्व अर्थात् देब्रे किनार उत्तर क्षेत्रसमेत ब्यास क्षेत्र हो। यस क्षेत्रमा १२ बस्ती रहेकोमा कालीपूर्वका ६ बस्ती कुटी, नाभी, गुन्जी, कावा (माथिल्लो, तल्लो), छांगरु र टिंकर गाउँ सुगौली सन्धिअनुसार नेपालका हुन्। सुगौली सन्धिअगाडि र झन्डै शतक अवधिपछिसम्म कालापानी कुनै महŒवको ठाउँ थिएन। कुनै समयसम्म तातोपानी मूल रहेको र पछि हिउँपहिरोले पुरिएर तातोपानी मूल हराएको ठाउँको करिब ३४० रोपनीको खोला बगर हो (कालापानी)। यो ठाउँ तत्कालीन टेरागड (खोला) र हाल लिपुगड (खोला) को पूर्वमा छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा स्वामित्व स्थापना गर्न, भारतले निर्माण गरिरहेको भौतिक संरचना रोक्न र भारतीय सुरक्षा फौज फिर्ताका लागि दबाब सिर्जना गर्न, सरकार, बुद्धिजीवी तथा नागरिक समाजका अगुवा लाग्नुको विकल्प छैन।
संविधानविद् डा. युवराज संग्रौलाले ग्रेटर नेपालको तर्कसँग सहमत हुन नसकिने धाराणा सार्वजनिक गरेका छन्। बुद्धिनारायणजीले जे भन्नुभयो, त्यो गलत हो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ग्रेटर कालापानी भनेर उहाँले नेपालमा भारतबाट भएको अतिक्रमणलाई शिथिल पार्नुभयो। इतिहास र तथ्यलाई ध्वस्त पार्ने काम नगर्न उहाँलाई अनुरोध छ।’ लिम्पियाधुरा नेपालको सीमा हो भन्ने विवाद नरहेको बताउँदै उनले विवाद भारतले जबर्जस्ती नेपालको भूमि कब्जा गरेको विषयमा भएको धाराणा राखेका छन्। उहाँ नापीको महानिर्देशक हुँदा नै यो नक्सा बन्नुपर्ने थियो, त्यो त भएन। अहिले कुन आधारमा ग्रेटेर कालापानीजस्तो तर्कहीन कुरा गर्नुहुन्छ उहाँ ? संग्रौलाले लेखेका छन्, ‘लिंपियाधुराको दाबी छाड्नुपर्छ भन्ने राम्रो र बेचेर भारतको सेवा गर्ने पारा ग्रेटर कालापानीको तर्क हो।’
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) का अध्यक्ष गुणराज लुइँटेल पनि लिम्पियाधुराको मुद्दालाई विषयान्तर गर्न नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘अब त लिम्पियाधुराबाट पछि हट्ने कुरै हुँदैन। कालापानीको मुख्य प्रवाहलाई नै आधार मानेर नेपालको नक्सा मापन गर्ने र नेपालको भूभाग निःसर्त फिर्ता हुनुपर्छ।’
अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक पुस्तक लेखक एवं अध्येता रतन भण्डारी ‘नक्कली कालापानी’ लाई ग्रेटर कालापानी’ भन्दै मूल मुद्दा ओझेल पार्ने दुस्प्रयास भएको तर्क राख्छन्। उनले यो विषयमा कडा आपत्ति प्रकट गरेका छन्।
‘श्रेष्ठ नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानीको नाम बिगारेर ‘ग्रेटर कालापानी’ भन्दैछन्। उनी सामाजिक सञ्जालमा लेख्छन्, जबकि दार्चुला छांगरुनिवासी पूर्वसहायक रथि गोपालसिंह बोहराले त्यहाँ कालापानी भन्ने ठाउँ नरहेको र भारतले सीमा मिचेपछि ‘तिल्सी’ भन्ने ठाउँलाई ‘कालापानी’ नामाकरण गरी त्यहाँ रहेको पानीको मूललाई महाकालीको मुहान रहेको झूटो प्रचार गर्दै आएको हो भनेर पुस्तक नै लेखेका छन्।’
भारतले ‘तिल्सी’ को नाम परिवर्तन गरी कालापानी नामकरण गरेको उल्लेख गरेका छन्।
‘यतिबेला श्रेष्ठ भारतले न्वारन गरेको नक्कली कालापानीलाई ‘ग्रेटर कालापानी’ भनिरहेका छन्, उन थप लेख्छन्, ‘भारतद्वारा मिचिएको लिम्पियाधुरा–लिपुलेक कालापानी क्षेत्रको क्षेत्रफल चार सय वर्ग किमि बढी छ, बुद्धिनारायण ३७२ वर्ग किमि मात्रै भनिरहेका छन्।’ भण्डारीले लिपुखोलालाई महाकाली नदी भन्ने प्रसंग कोट्याएका छन्।
उता नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठ भौगोलिक नाम, तिनका ऐतिहासिक महत्व, शुद्ध उच्चारण, लेखन आदिसम्बन्धी अध्ययन गर्न एउटा आयोग गठन हुनु अनिवार्य रहेको बताउँछन्। उनले बुद्धिनारायणको फेसबुक स्टाटसमा कमेन्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो जवाफ दिनुभयो, वादविवाद गर्ने यो पो तरिका, आदरणीय अग्रजले गालीगलौजका शब्द प्रयोग नगरी एकापसका असल कुरा उजागर गर्दै जाने हो भने हामी सबै अझ ज्ञानको उचाइमा पुग्छौं जस्तो लाग्छ।’
धेरैजसोले ग्रेटर कालापानीभन्दा कालान्तरमा कालापानी मात्रै स्थापित भई लिम्पियाधुरासम्मलाई नसमेटिने पो हो कि भन्ने चासो र चिन्ता प्रकट गरेका छन्। ग्रेटर कालापानीमा भावना छ, कालापानी–लिम्पियाधुरामा यथार्थ रहेको धेरैको तर्क छ। धेरै भारतको चाकरी गर्न ग्रेटर कालापानीको अवधारणा ल्याएको आरोप पनि सामाजिक सञ्जालमा लगाएका छन्। सुगौली सन्धिअनुसार नेपालको त्रिदेशीय विन्दु लिम्पियाधुरा भएकाले यसलाई विषायान्तर गर्न नहुने अधिकांशको तर्क छ। पूर्वसचिव एवं सम्बन्धित अनुसन्धानकर्ता डा. द्वारिकानाथ ढुंगेललगायतका सीमासम्बन्धी जानकारसमेत यो बहस र विवादमा सहभागी भएका छन्। कतिपयले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमणका समयमा ग्रेटर कालापानीको अवधारणालाई अर्थपूर्णरूपमा हेर्नुपर्ने धारणा राखेका छन्। उनीहरूको भ्रमणको आलोचना भए पनि संवादको ढोका खोल्ने विश्वास भने गरिएको छ।
संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली पनि महाकालीको शिर लिम्पियाधुरा भन्ने सन् १८१६ कै सुगौली सन्धिमै स्वीकार गरिदिएकाले यसलाई विषयान्तर गर्न जरुरी नरहेको बताउँछन्। उनी यसलाई ग्रेटर कालापानी भन्न नसकिने बताउँछन्।
यो विषय सामाजिक सञ्जालमा विवाद छताछुल्ल भएको छ। लिम्पियाधुरा र ग्रेटर कालापानीका पक्षधरबीच यही निहुँ एकअर्काको उछितो काढ्ने कामसमेत सुरुवात भएको छ। भारतले जे चाहेको छ, त्यही काम पहिला नेपालका राजनीतिक दलले गरे, अहिले बुद्धिजीवी गर्न थालेका छन्। यो बेला एकजुट भएर भारतले मिचेको भूमिबाट भारतीय फौज हटाउन दबाब सिर्जना गर्ने र भारतलाई वार्तामा ल्याउन दबाबको खबरदारी गर्ने बेला हो।
नयाँ शब्दावली ल्याएर चर्चाका आउने कामलाई किमार्थ स्वीकार्य गर्न सकिन्न। संवेदनशील विषयमा व्यक्तिगतरूपमा उत्रनु उचित हुँदैन। यो निरर्थक बहस हो। लिम्पियाधुरासम्म भारतले अतिक्रमण गरेकाले यो भूभागमा नेपालको स्वामित्व स्थापित नभएसम्म लिम्पियाधुरा–लिपुलेक–कालपानी भन्ने शब्द नै प्रयोग गर्नुपर्छ। भारतीय पक्षलाई छिटोभन्दा छिटो वार्तामा ल्याएर त्यहाँ उसले गरिरहेको भौतिक निर्माण र भारतीय सुरक्षा फौज फिर्ताका लागि दबाब सिर्जना गर्नेतर्फ नै बुद्धिजीवी र नागरिक समाजका अगुवा लाग्नुको विकल्प छैन।