मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बालुवाटारमा
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि सत्तारूढ दल नेकपा सचिवालय बैठकसँग समय मिल्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सचिवालय बैठकसँग समय जुधेपछि ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछाडि सारेका हुन् ।
प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक अगाडि शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ । ओली अहिले शीतल निवासमा राष्ट्रपति भण्डारीसँगको छलफलमा छन् । दिउँसो तय भएको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक अगाडि शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो ।
कात्तिक २८ गतेको सचिवालय बैठकले आज दिउँसो १ बजेका लागि सचिवालय बैठक तय गरेको थियो ।
बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै सचिवालय बैठक बस्न लागेको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ।
ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ । प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस !