आर्थिक पत्रकारिता र यसको जिम्मेवारी
पत्रकारिता अरूजस्तो पैसा आउने पेसा होइन, त्यसैले यो व्यवसायमा टिक्न र परिवारलाई साथै लिएर अघि बढ्न कठिन छ
२०४६ सालको परिवर्तनपछि देशको अर्थतन्त्रबारे जनताले विशेष रूपमा चासो राख्न थालेका हुन्। यो चासो दिनप्रतिदिन तीव्ररूपमा बढ्दै गइरहेको छ। राजनीतिक दल, उद्योग र व्यापार–व्यवसायमा संलग्न व्यक्ति, नागरिक समाज, उपभोक्ता, कर्मचारी, विद्यार्थी अर्थात् समाजका सबै तह र तप्काका मानिस देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी राख्न उत्सुक छन् र हुन्छन्। तर जानकारीको उद्देश्य सबैको एउटै नहुन सक्छ। सत्तासीन दलले आफ्ना पालामा भएका प्रगति अरूलाई जानकारी गराउन अर्थतन्त्रबारेमा जान्न चाहन्छ। प्रतिपक्ष आर्थिक क्षेत्रमा सरकारका कमजोरी र असफलता थाहा पाउन र त्यसको आलोचना गर्न अर्थतन्त्रबारेमा जानकारी राख्न चाहन्छ। उद्यमी–व्यापारी कुन क्षेत्रमा लगानी गर्नु राम्रो होला ? उपभोक्ता मूल्यबारेमा, वैदेशिक व्यापारमा संलग्न व्यापारी विदेशी मुद्राको उपलब्धता र विनिमय दरबारेमा जानकारी लिन चाहन्छन्। यही जनचाहना बुझेर सबै किसिमका सञ्चारमाध्यमले आज आर्थिक सूचना प्रवाह गर्ने कामलाई प्राथमिकता दिएका छन्।
यसरी अर्थतन्त्रका बारेमा जानकारी राख्ने चाहनाको तीव्र विस्तार हुँदै गएको छ। अर्थतन्त्रको जति विस्तार हुँदै जान्छ, त्यस्तो चाहना राख्नेको संख्या पनि बढ्दै जान्छ। सञ्चारमाध्यमले पनि अर्थतन्त्रका विविध पक्षको कभरेज बढाउँदै जान्छ। त्यसैको फलस्वरूप यतिखेर अर्थतन्त्रका सूचना मात्रै प्रवाह गर्ने दुइटा दैनिक पत्रिका विगत एक दशकभन्दा बढी समयदेखि प्रकाशित भइरहेका छन् भने सबै ब्रोडसिटका प्रिन्ट मिडियाले छुट्टै आर्थिक पेज छाप्न सुरु गरेको पनि धेरै भइसकेको छ। सँगसँगै अर्थतन्त्रबारे समाचार संकलन गरी सम्प्रेषण गर्ने, आर्थिक विषयमा स्तम्भ र लेख लेख्ने आर्थिक पत्रकारको जमात पनि ठूलै भएकाले यसको एउटा छुट्टै समाज नै गठन भइसकेको छ। यी सबै सकारात्मक दिशातर्फ अगाडि बढिरहेका विषय हुन्।
२०५३÷५४ सालतिरको कुरा हो, जतिखेर ब्रोडसिट पत्रिकाले भर्खर–भर्खर आर्थिक पेज निकाल्न थालेका थिए। तर सुरुवाती समय भएकाले आर्थिक समाचारहरूको गुणस्तर कमजोर हुन्थ्यो। अखबारका आर्थिक पेज पढ्दा लाग्थ्यो– आर्थिक समाचारको स्तर बढाउन आर्थिक पत्रकारलाई प्रशिक्षण दिइनुपर्छ। यो कुरा महसुस गरी नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकार प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। पत्रकारले उत्साहका साथ त्यस कार्यक्रममा भाग लिएका थिए। त्यसमध्ये केही वरिष्ठ आर्थिक पत्रकार बनिसकेका छन्। गजेन्द्र बुढाथोकीले त नेपाली अर्थतन्त्रका सम्बन्धमा पुस्तक नै लेखेका छन्।
नेपालमा २०५० सालको दशकको आरम्भबाट सुरु भएको आर्थिक पत्रकारिता यो स्तरमा आइपुगेको छ र यसको गुणस्तरमा पनि उल्लेखनीय प्रगति भएको यस क्षेत्रमा रुचि राख्ने मानिसले अनुभव गरिरहेका छन्। आर्थिक पत्रिका र पत्रिकाका आर्थिक पेज हेर्दा यसमा संलग्न पत्रकारले प्रगति पथमा फट्को मारेका छन्। तर अझै पनि यो क्षेत्रले पूर्णता पाइसकेको छैन र पाउने कुरा पनि होइन। किनभने आर्थिक क्षेत्रमा हरबखत नयाँनयाँ अवधारणा आइरहन्छन्। अर्थतन्त्रमा जटिलता थपिँदै जान्छन् र तिनको अभ्यास पनि भइरहन्छ। यस्ता विषयप्रति पत्रकार सधैं सजग भई सिक्दै जानुपर्छ। नयाँ कुराको अन्त्य नभएजस्तै सिक्ने कुराको पनि अन्त्य हुँदैन।
अवधारणा
अर्थतन्त्र अगाडि बढ्दै जाँदा वा त्यसले जटिलता लिँदै जाँदा नयाँनयाँ अवधारणा र शब्दावली वा जार्गन प्रयोगमा आउँदै जान्छन्। यस्ता अवधारणा र जार्गनहरू अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयका लेख, कार्यपत्र र पुस्तकमार्फत आउँछन्। तिनलाई देशका अर्थमन्त्रालय, केन्द्रीय बैंक, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, वाणिज्य बैंक आदिबाट अभ्यास गरिन्छन्। उदाहरणका रूपमा फिस्कल स्पेस, मिडियम टर्म टार्गेट्स, अक्सन सेलिङ अफ गभर्मेन्ट्स बोन्डस्, रिपो, रिभर्सस रिपो, मनेटरी एग्रिगेट्स, बीओपी, करेन्ट एकाउन्ट, रिजर्ब रिप्वाएरमेन्ट, फोरेन इक्स्चेन्ज रिजर्भ आदिलाई लिन सकिन्छ। यस्ता शब्दावलीको अर्थ आर्थिक पत्रकारले प्रस्टसँग बुझ्न जरुरी हुन्छ।
नियमित राम्रो आम्दानीको बाटो नभएका राजनीति गर्नेहरू खर्चिला भएकैले देशमा भ्रष्टाचार बढेको हो। उनीहरू कतैबाट नाजायज पैसा नलिने भइदिएको भए देशमा यति साह्रो भ्रष्टाचार झांगिने थिएन।
वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका दुई मुख्य समष्टिगत आर्थिक नीति (म्याक्रो–इकोनोमिक पोलिसी) हुन्। यिनै नीतिका आधारमा सबैै देशका अर्थतन्त्र सञ्चालित हुन्छन्। त्यसैले आजका आर्थिक पत्रकारले यी दुवै नीतिका सैद्धान्तिक अवधारणा प्रस्टसँग बुझ्न जरुरी हुन्छ। केन्द्रीय बैंक देशको मौद्रिक अधिकारी हो, जसको मौद्रिक नीति बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी हुन्छ भने अर्थ मन्त्रालय देशको वित्त अधिकारी हो, जसले देशको वित्त नीति बनाउँछ र कार्यान्वयन गर्छ। देशको कुल गार्हस्थ उत्पादन, उपभोग, बचत र लगानी, वैदेशिक व्यापार, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिती, रोजगारको स्थिति, मूल्यवृद्धि, विनिमय दर, ब्याजदर आदि समष्टिगत आर्थिक परिसूचक हुन्। आजका आर्थिक पत्रकारले यी सबै अवधारणाबारेमा प्रस्ट हुन जरुरी हुन्छ। साथै यी सबै अवधारणाअन्तर्गतका शब्दावली (जार्गन) पनि बुझ्नुपर्छ। यी दुवै नीति कार्यान्वयन गर्ने क्रममा केन्द्रीय बैंक र अर्थमन्त्रालयले गर्ने निर्णयमा अन्तर्निहित धारणा र प्रक्रियाबारेमा पनि प्रस्ट हुन उत्तिकै जरुरी हुन्छ।
विश्वसनीयता
कुनै पनि सञ्चारमाध्यमको प्रतिष्ठा र लोकप्रियता उसको विश्वसनीयतामा भर पर्छ भन्ने स्वतः स्पष्ट छ। यसको निमित्त घटना वा स्टोरी सत्यतथ्यमा आधारित हुनुपर्छ भन्ने पनि जगजाहेरै छ। घटना वा स्टोरीको सांगोपांगो खोतल्नुपर्छ र त्यसलाई क्रस भेरिफिकेसन गर्नुपर्छ भन्ने सबैले बुझेकै हो। सत्यतथ्य खोतल्न र क्रस भेरिफिकेसन गर्न पनि त्यो विषयसँग सम्बन्धित सैद्धान्तिक अवधारणा बुझ्नु पनि उत्तिकै जरुरी हुन्छ।
व्यावसायिक सञ्चारमाध्यम समाचारलाई सनसनीपूर्ण बनाउन झुकाउ राख्छ। यसलाई अनुचित भन्न सकिन्न, तर त्यस्ता समाचार सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहित भने हुनुपर्छ। कुनै पनि निकाय वा व्यक्तिलाई खुइल्याउने वा पतन गराउने मनसाय राखेर स्टोरी बनाउने र त्यसको पछि लागिरहनु सञ्चारमाध्यमको निष्पक्षता र विश्वसनीयतामा आँच आउने कुरा हो।
सञ्चारमाध्यमको धर्म घटेका घटना र स्टोरीका विषयमा जनतालाई यथाशक्य छिटो सही जानकारी दिनु हो, जसका आधारमा पाठकले सम्बन्धित घटना र स्टोरीबारेमा आफ्नो धारणा बनाउँछन्। आर्थिक पत्रकारको जिम्मेवारी त अझ ठूलो हुन्छ किनभने सञ्चारमाध्यमबाट प्राप्त जानकारीका आधारमा कतिपय पाठकले आफ्नो भावी कारोबारका योजना, कार्यक्रम र लक्ष बनाउँछन्। यस्तो गम्भीर जिम्मेवारी आर्थिक पत्रकारको हुन्छ। त्यसैले यस्तो जिम्मेवारीलाई आर्थिक पत्रकारले गम्भीरतापूर्वक लिनुपर्छ।
आचारसंहिताका सम्बन्धमा
पत्रकारितालाई नै आफ्नो ‘करिअर’ बनाउने लक्ष भएका पत्रकार आफ्नो व्यावसायिक धर्ममा हरबखत अड्न सक्नुपर्छ। यो काम सजिलो पक्कै छैन। आचारसंहिताले निर्धारण गरेका सीमा नाघ्न मन लाग्ने परिस्थिति पटकपटक आउन सक्छन् तर बच्न सक्नुपर्छ। यसो गर्नु चुनौतीपूर्ण अवश्य छ तर जस्तै परिस्थितिमा पनि सिद्धान्तमा अड्न सक्ने मात्र व्यक्ति अघि बढ्न सक्छन्, अन्यथा बीचमै बहकिन्छन् र आफ्नो करिअर बर्बाद पार्छन्। किनभने त्यतिबेलासम्म हिँडेको बाटो छाडेर नयाँ बाटो लाग्दा धेरै टाढा पुग्न सकिँदैन।
यो बुझ्न सकिन्छ– पत्रकारका पनि परिवार, बालबालिका हुन्छन्, तिनका आवश्यकता पूरा गर्न सजिलो छैन। साथै पत्रकारिता अरू पेसाजस्तो पैसा आउने (लुक्रेटिभ) पेसा पनि होइन। नेपालमा त झनै होइन। त्यसैले नेपालमा यो व्यवसायमा टिक्न र परिवारलाई साथै लिएर अघि बढ्न कठिन छ। यस्तो अवस्थामा जोगिएर अघि बढ्न सजिलो छैन तर असम्भव भने होइन। त्यसका लागि संकल्प, मेहनत, धैर्य, इमानदारी र मितव्ययी हुनुपर्छ। गाह्रो पर्दा छाडिदिऊँ कि क्या हो भनेर धर्मराउन थालियो भने करिअर सकियो भनेर बुझे हुन्छ। मेहनत गर्न पटक्कै गाह्रो नमान्ने र मितव्ययी मान्छेले कहिल्यै दुःख पाउँदैन भनिन्छ।
खर्चिलो बानी भएका मान्छेलाई जति आम्दानी भए पनि पुग्दैन र सधैं अभाव भइरहन्छ। खर्च जुटाउन त्यस्ता मानिसले गर्न नहुने अनेक काम गर्दै जान्छन् र त्यस्ता मानिसको अन्त्य दुःखद हुन्छ। नियमित राम्रो आम्दानीको बाटो नभएका राजनीति गर्नेहरू खर्चिला भएकैले देशमा भ्रष्टाचार बढेको हो। उनीहरू कतैबाट नाजायज पैसा नलिने भइदिएको भए देशमा यतिसाह्रो भ्रष्टाचार झांगिने थिएन। त्यसैले खर्चिलो हुनु दुःख र असफलताको मूल कारण हो भन्न सकिन्छ। त्यसैगरी मेहनतविना कोही पनि सफल हुन सक्दैन भन्ने भनाइ पनि उत्तिकै महत्त्वपूर्ण छ। सूचना संकलन गर्ने, अध्ययन गर्ने र लेख्ने व्यवसाय हुनेका लागि त मेहनती हुन अझ आवश्यक हुन्छ। किनभने कतिपय यस्ता कुरा समय घर्केपछि गरियो भने त्यसले महत्त्व गुमाउँछ। बजारमा पर्याप्त प्रतिस्पर्धा भएको सञ्चार क्षेत्रमा समयमा काम सक्ने विषयले ठूलो महत्त्व राख्छ।