मिथ्या लाञ्छना र शत्रुतापूर्ण निशाना
मनोमानीपूर्ण ढंगले बाँडिएको ‘अराजनीतिक प्रस्ताव’ स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यहरूको नांगो भ्रष्टीकरण हो।
(सुरुमै यो उल्लेख गर्न चाहन्छु– पार्टीभित्रको बहस संस्कारयुक्त र मर्यादित हुनुपर्छ। पार्टी अध्यक्षको उच्च आसनबाट पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको अराजनीतिक प्रस्तावले त्यसका सबै मानक र मूल्यको उल्लंघन गरेको छ। पार्टीको आन्तरिक बहस र छलफलको विषय बनाउने हिसाबले भन्दा त्यसलाई दुष्टतापूर्वक पार्टीका पहिलो अध्यक्ष र प्रधानमन्त्रीलाई बदनाम गरी एक्स्पोज गर्ने दुराशय बोकेको स्पष्टै बुझ्न सकिन्छ र तदनुरूप मिडियाबाजीसमेत गरिएको जगजाहेर छ। सार्वजनिक रूपमा स्थापित नेतृत्व खुइल्याउन रचिएको त्यस प्रपञ्चको लेखोटलाई सरसर्ति पढेपछि सार्वजनिक रूपमै केही लेख्नुपर्ने महसुस भएर यो आलेख लेखेको स्पष्ट गर्छु। यति गरिमामय पार्टीका सम्मानित अध्यक्षको वैचारिक दिवालियापन र टाटउल्टाइका बारेमा यसरी टिप्पणी गर्नुपरेकोमा आफैंलाई दुःख लागेको छ र पीडाबोध गरेको छु।)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लोपटक सिर्जना गरिएको कृत्रिम बबन्डरले सिंगो देशमा चिन्ता सिर्जना भएको छ। पार्टीका दोस्रो बरियताका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा सहमतिबेगर र मनोमानीपूर्ण ढंगले बाँडेको ‘अराजनीतिक प्रस्ताव’ स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यहरूको नांगो भ्रष्टीकरण हो। समस्याको जड पनि यही बनेको छ।
उहाँको यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन। पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर बैठकमा प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो। यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेकाले अविलम्ब फिर्ता गरिनुपर्छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा यस किसिमको गालीगलौजको प्रवृत्ति नयाँ होइन। इतिहासको संक्षिप्त सिंहावलोकन गर्दा यसका मुख्य प्रवृत्ति र पात्रहरूले विभिन्न समयमा आफ्नो अस्तित्व यसरी देखाएको पाइन्छ ः
‘गद्दार पुष्पलाल’
उहिले २०२७–२०३१ सालतिर कामरेड पुष्पलालको व्यक्तित्वबाट तर्सिएका र हीनताबोधले ग्रस्त लिलिपुटहरूले आनन्दबहादुर क्षेत्रीका नाममा ‘गद्दार पुष्पलाल’ नामक अराजनीतिक दस्ताबेज लेखेर गालीगलौज र बदनामीको मोर्चा नै कसेका थिए। २०३१ सालको चौथो महाधिवेशन त्यसै मोर्चाबन्दीबाट सिर्जित विभाजनकारी धारा थियो र पछि पुष्पकमल दाहाल त्यही धारामा प्रवेश गरेर दीक्षित एक प्रतिनिधि पात्र मात्रै रहेको तथ्य विशेष स्मरणीय छ।
‘गद्दार पुष्पलाल’ का लेखक आनन्दबहादुर क्षेत्री उर्फ मोहनविक्रम सिंहले २०५०÷५१ सालतिर आएर त्यस तथाकथित दस्ताबेजको नाम परिवर्तन गरी ‘क्रान्ति वा भ्रान्ति’ बनाई पुस्तकै छापेर प्रायश्चित गर्नुपर्यो। कम्युनिस्ट आन्दोलनका संस्थापक महामन्त्री र माक्र्सवादी सिद्धान्तका प्रमुख नेपाली नेता कामरेड पुष्पलाललाई गद्दार करार गर्ने आनन्दबहादुरको अक्षम्य गल्तीलाई उहाँकै समूहले पछि मतदानमार्फत नै परास्त र खारेज गरी चित्रबहादुर केसीको नेतृत्वमा सच्याउने निर्णय गरेको थियो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले गालीगलौज प्रकरणमा अर्का अध्यक्षको कर्मप्रति लक्षित गरेर पार्टी सचिवालयकै बैठकमा आफ्नो अनुभूति स्पष्ट राख्नुभएको छ–
‘मैले परिस्थिति गम्भीर देखेको छु। पहिल्यैदेखि भन्ने गरेको छु– यो धम्क्याएको होइन। तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु। यसअगाडि यस स्तरका भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको पाएको थिइनँ।’
‘अराजकतावादी व्यक्तिवाद : अवसरवादको नेपाली आयाम’
चौथो महाधिवेशनको शिक्षादीक्षा अनि सेक्टर काण्डबाट पुष्पकमल दाहालकै नेतृत्वमा चलाखीपूर्ण उदयको सेरोफेरोअघि भरत दाहालले मोहनविक्रम सिंहविरुद्ध २०४२ सालमा ‘अराजकतावादी व्यक्तिवाद : अवसरवादको नेपाली आयाम’ पुस्तिका नै लेखेका थिए। ‘गद्दार पुष्पलाल’ लेखेर स्थापित नेतृत्वलाई खुइल्याउने पुरानै तरिकाको प्रहारमा कालान्तरमा स्वयं आनन्दबहादुर नै पर्नुपर्यो– खुर्सानी रोपेर खुर्सानी फलेजस्तै ! काशीतिर लागेर कुती त पुगिँदैनथ्यो नै। अहिले हरहिसाबले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नसकेर जलन र छटपटीका साथ यस किसिमको बदनाम कार्य गरिएको छ। म, मेरा परिवार, मेरा छोराछोरी, मेरा नातागोता, तेह्र पुस्ताभित्रका भाइबन्धुहरू तथा आफ्ना गुटस्वार्थमा लिप्त व्यक्तिले नै अनुचित आरोपको खेतीमा आफूलाई उतार्नु लज्जाजनक कृत्य नै हो।
अहिले पुष्पकमल दाहालले पार्टी सचिवालयमा स्वेच्छाचारी ढंगले र अनधिकृत रूपमा प्रस्तुत गरेको ‘अराजनीतिक प्रस्ताव’ त्यही बदनाम स्कुलिङ र षड्यन्त्रकारी तेजोबध सिद्धान्तको नयाँ तुरुप मात्र हो। यस्तो तुरुप र संस्कारहीनताले नेपाल कम्युनिस्ट पार्टी त उभो लाग्दैन नै; यसले संक्रमणकालमा रहेको एकीकृत पार्टीलाई ‘भत्केको पार्टी’ मात्रै बनाउने निश्चित छ। एकता नै मन नपरे वा एकताबाट आफ्नो निहित स्वार्थसिद्ध नभएको ठानेमा आफ्नो बाटो लाग्ने स्वतन्त्रता छ। तर नेतृत्वको चरित्रहत्या, शृंखलाबद्ध बदनाम अभियान र लाञ्छनायुक्त झूटको त्यान्द्रो समातेर पार्टी कब्जाको जँघार तर्न खोज्नु किमार्थ राजनीतिक तरिका होइन। यो हाकाहाकी अपराध हो। षड्यन्त्र र अपराध किमार्थ राजनीति होइन र मानिँदैन। वैधानिक प्रावधान, प्रक्रिया र संक्रमणकालीन अभ्यासका हिसाबले यसबाट पार्टी विधान, एकताको सहमति र समझदारीको ठाडो उल्लंघन गरिएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पुष्पकमल दाहालले अख्तियार गरेको प्रतिशोधको बाटो खेलको नियम उल्लंघन र जालझेल हो। यस्ता जालीझेलीले इतिहास र जनताको कठघरामा उभिनैपर्छ।
यस्तो षड्यन्त्रमा सामेल भएका व्यक्तिले पार्टी नेतृत्व गर्ने, अझ एकीकृत पार्टी हाँक्ने ल्याकतको त अब कल्पनै गर्न सकिँदैन। अझ जोसँग पार्टी एकता गरेर विघटन र विसर्जन नै भइरहेको आफ्नो पूर्ववर्ती समूहलाई नेकपाको नयाँ बल, शक्ति र जनाधार प्राप्त गरिएको हो, त्यही नेतृत्वमाथिको यस प्रहारले एकै ठाउँमा सँगसँगै बस्न मिल्ने नैतिक धरातलसमेत समाप्तप्रायः गरेको स्पष्ट छ। नेकपा कसैको निजी क्लब होइन, जहाँ जे पायो त्यही कुण्ठा, असन्तुष्टि र तथ्यहीन गालीगलौजयुक्त ‘अराजनीतिक प्रस्ताव’ छलफलको विषय बनोस् ! यस्तो नीचताको प्रदर्शन देशका दुईतिहाइ जनताबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ऐतिहासिक रूपमै हासिल विजय र जनविश्वास प्राप्त सत्तारूढ दललाई त शोभनीय हुनै सक्दैन। यो लिलिपुटको छटपटीबाहेक अरू केही होइन। समयमै नसुध्रिएमा यस्ता लिलिपुट इतिहासको गर्तमा खलपात्रका रूपमा स्वयं पतन, नांगेझार र समाप्त हुन अनिवार्य छ।
गालीगलौजको लज्जाजनक संस्करण ‘अराजनीतिक प्रस्ताव’
पुष्पकमल दाहालको यो बदनाम ‘अराजनीतिक प्रस्ताव’ र कथित ‘एक्स्पोज’ को दुर्नियत र षड्यन्त्र छर्लंग भइसकेको छ। विभिन्न परिचालित पानी अनलाइन, छोरीबुहारीका पोष्यपात्रका गोजी अनलाइन, स्वघोषित बडीगार्डका मिडिया अनि तथाकथित स्रोतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा योजनाबद्ध रूपमा सार्वजनिक गरिएका र गराइएका झूटमुठका अपराधपूर्ण सम्प्रेषणका साथै सोसल मिडियामा परिचाालित खेतालाका समूहले फेक आईडीबाट गरिरहेका गालीगलौजको सारसंग्रहका रूपमा प्रस्तुत ‘अराजनीतिक प्रस्ताव’ चोर बाटोबाट सचिवालयसम्म पुर्याइएको भन्ने बहानाबाजीसाथ गुट प्रवक्ताका रूपमा दुरुपयोग भइरहेका पात्रमार्फत व्यापक मिडियाबाजी गरिएको छ। पार्टीमा छलफलका लागि प्रस्तुत गरिएको थियो भने जुन कुनै विषयलाई नियत नबांगिएको अवस्थामा यस ढंगले बिस्कुन छरिनुपर्ने त थिएन। यो अर्काे खेदजनक नांगो नाच नै हो।
कात्तिक २२ गतेको लाञ्छनायुक्त निवेदन, त्यसमा लेखिएका गलत विषयमाथि प्रस्ट पार्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले सचिवालयका आठैजना सदस्यलाई गर्नुभएको आन्तरिक पत्राचार, त्यसबाट तिल्मिलाएर पुष्पकमल दाहालले लेख्नुभएको जवाफ र उहाँको ‘अराजनीतिक प्रस्ताव’ तथा दैनन्दिनका गुट बैठक, ब्रिफिङ र डिब्रिफिङका गुटधन्दा सार्वजनिक नै छन्। यी सबै गोप्य पत्राचार र सामग्री कर्तव्यच्युत मानिसहरूबाटै सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री, उहाँलाई साथ दिने मन्त्री, सचिवालयको टिम र नेता–कार्यकर्ताविरूद्ध निरन्तर हुँदै आएको दुस्मनीपूर्ण हमलाको षड्यन्त्रकारी कारखाना कहाँ स्थापना भएर सञ्चालन भएको रहेछ ? यस अपराधकर्मको असली निर्देशक को रहेछ ? यस ‘अराजनीतिक प्रस्ताव’ का लेखकले तिनै षड्यन्त्रमूलक र योजनाबद्ध रूपमा प्रचारित सामग्री सदुपयोग गरेको दृष्टान्तबाट झनै छर्लंग भएको छ।
सरकारलाई असफल र बदनाम गराउन विगत तीन वर्षदेखि छद्म रूपमा को सक्रिय रहेछ ? बिरालोले म्याउँ गरेपछि त सारा कुरा प्रस्ट भएको छ। प्रमुख विपक्षी र अन्य विपक्षी दल तथा तिनका नेतृत्वले समेत गर्न नसकेको प्रधानमन्त्री सरकारमाथिको यस कायरतापूर्ण हमलालाई अब सारा दुनियाँले सहजै बुझ्ने सन्दर्भ र दृष्टान्त मिलेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पुष्पकमल दाहालले अख्तियार गरेको प्रतिशोधको बाटो खेलको नियम उल्लंघन र जालझेल हो। यस्ता जालीझेलीले इतिहास र जनताको कठघरामा उभिनैपर्छ। यो अस्थिरता रुचाउनेहरू, खासमा नौनौ महिनामा सरकार बदल्न बानी परेका तत्वहरूले गरिरहेको जनता र राष्ट्रविरोधी गतिविधि क्षम्य छैन। एकीकृत पार्टीमा मिसाएको आफ्नो हैसियत हेरेर र सम्झेर आफ्नो असलियत बुझ्न, सम्हालिन र अराजनीतिक प्रस्ताव फिर्ता लिनुबाहेक अर्को कुनै उपयुक्त उपाय छैन, अन्यथा हरेक जालझेल र दुष्टताको सप्रमाण जवाफ त आउला नै। खासमा गल्ती गर्नेले नै आफ्नो गलत कार्य सच्याउने जिम्मेवारी हुन्छ, अन्यथा उत्पन्न परिस्थिति र परिणामको भागीदार स्वयंले बन्नुपर्छ र परिणाम भोग्नुपर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको जिम्मेवारी कसैको कृपामा पाउनुभएको होइन। वाम गठबन्धन भएर तत्कालीन नेकपा (एमाले) को समर्थन नपाएको भए पुष्पकमल दाहाल स्वयं चितवनबाट चुनाव जितेर प्रतिनिधिसभामा आउने हैसियत थिएन। खासमा रोल्पा, काठमाडौं र सिरहामा डुल्दै हिँड्न बाध्य आफ्नै पराजयको वास्तविक डरले उहाँ वाम गठबन्धन गर्न तयार भएको तथ्य जगजाहेर छ। अनि यो सरकार बनाउँदा नै बखेडा झिकेर सहमति नगर्दा लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्री नियुक्त गरी २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीले शपथ गर्नुभएको होइन र ? अरूलाई प्रधानमन्त्री बनाएको गुड्डी हाँक्नुभन्दा त्यतिबेला म हुन्छुसम्म भन्न सकेको वा भन्नसक्ने हालत भए त हुन्थ्यो नि ! यस्तो बल, बुता र नैतिक धरातल नै उहाँसँग थिएन। उहाँलाई गठबन्धनमा ४० प्रतिशत उम्मेदवार उठाउन दिँदा २९ प्रतिशत मात्रै सिटमा विजय प्राप्त भएको तथ्यले उहाँको लोकप्रियताको हालत स्पष्ट गर्छ। अहिले अरूको ढाडमा टेकेर केपी शर्मा ओलीका टाउकामा प्रहार गर्ने कृतघ्नता उहिले युद्धकालमा काम लागेको थियो भने पनि प्रतिस्पर्धाको तीव्र जटिलतामा आज कदापि काम लाग्दैन।
संंस्कारहीनता र धुन्धुकारी शैली
फर्केर हेर्दा यस प्रपञ्चको पृष्ठभूमिमा मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, सीपी गजुरेल, डा. बाबुराम भट्टराईहरूको हविगत कस्तो बनाइयो र भयो ? मूलतः पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठहरूका भूमिका जगजाहेर नै छन्। फेरि उहाँहरू दुईजनाको भूमिका यस रूपमा देखिएको छ। तर के स्पष्ट हुन जरुरी छ भने माथिका सबै नाम र केपी शर्मा ओलीबीच निकै अन्तर छ र यस चक्रव्युहलाई परास्त गर्ने सामथ्र्य उहाँ राख्नुहुन्छ। साथै, पृथ्वी उल्टिए पनि कसैका गलत लाञ्छना स्वीकार गर्नुहुन्न। गलत विचार, प्रवृत्ति र रबैयासँग सम्झौता गर्नु हुन्न। पाँच वर्ष सरकार सञ्चालन गरी स्थायित्वको च्याम्पियन नेकपा बन्ने अवसर अझै अन्त्य भएको छैन। आफूलाई लोकप्रिय दाबी गर्नेहरू हरेकले पार्टी महाधिवेशन र आम निर्वाचनका माध्यमबाट प्रमाणित गर्न हिम्मत गर्नु राम्रो हुन्छ। कोठे बैठक, गुटगत सक्रियता र तिनका निष्कर्षहरूका आधारमा चल्न खोज्दा अरूले तिनलाई मानिदिनुपर्ने कुनै बाध्यता हुँदैन। अर्थात्, पार्टी अध्यक्ष बन्न एकता महाधिवेशन र प्रधानमन्त्री हुन आम निर्वाचनमा होमिएर पौरख गर्न सक्नुपर्छ। किनभने, महाधिवेशन र आम निर्वाचनको म्यान्डेट प्राप्त गरेरै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र मुलुकको नेतृत्व प्राप्त गर्नुभएको तथ्य सबैमा स्पष्टै छ। यसमा अन्यथा चोचोमोचो र चाचूँ जरुरी छैन। संस्कारहीनता र धुन्धुकारी शैलीको तथ्य प्रतिवाद गरी सिंगो देशलाई स्पष्ट पार्नु नै पर्छ।
विगतमा गरिएका हरेक विभाजनकारी प्रयास र हर्कतविरुद्ध लड्दै उहाँको नेतृत्वमा मुलुकको कम्युनिस्ट आन्दोलन आजको उचाइमा स्थापित भएको तथ्य र परिणाम निर्विवाद छ। तर पार्टी सञ्चालनको जिम्मेवारीमा आसीन भएर सरकारका राम्रा कामको प्रचारप्रसार गर्नु त के विवाद र बखेडा मात्रै सिर्जना गरेर आत्मनिन्दा र भत्र्सनाको यस शैलीबाट कहाँ पुर्याउँछ ? तसर्थ : दशकौं नेतृत्व ओगटेर बस्दा उल्लेखनीय केही काम गर्न नसकेको यो कुण्ठा, द्वेष र ईष्र्या प्रदर्शन पार्टी, देश र आन्दोलनको हितमा होइन। जनतासँग गरेको स्थायित्व, विकास र समृद्धिको वचनबद्धता एवं सरकारले निर्धारण गरेको राष्ट्रिय आकांक्षा हासिल गर्ने गरी जनभावनाअनुरूप क्रियाशील हुनु नै यतिबेला यस्ता सबैखाले नक्कली समस्या र प्रपञ्चहरूको वास्तविक र सही समाधान हुन जान्छ, अन्यथा विनाशकाले विपरीत बुद्धिले सर्वनाशमा पुर्याउने निश्चितप्रायः नै छ।