वालिङ्मा जनस्वास्थ्य विपद घोषणा
स्याङजा : कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि वालिङ् नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरेको छ। पालिकाले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी एकहप्ताका लागि जनस्वास्थ्य विपद घोषणा गरेको हो। घोषणासँगै पालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द छन्।
नगरका १४ वटै वडामा सङ्क्रमणको दर बढेको जनाउँदै जोखिम न्यूनिकरण गर्ने उदेश्यले कार्यपालिका बैठकले एक हप्ता बन्द गर्ने निर्णय गरेको हो। वालिङ स्थित गहौं प्राथमिक अस्पतालको ‘र्यापिड रेस्पोन्स टिम’ को बैठक र नगरस्तरीय कोभिड १९ सङ्क्रमण व्यवस्थापन केन्द्र दुबैको सिफारिसका आधारमा कार्यपालिका बैठकले ‘जनस्वास्थ्य विपद’ घोषणा गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए।
‘अन्य महिनाको तुलनामा कात्तिकदेखि संक्रमणको दर बढ्नुका साथै समुदायस्तरसम्म पुगेको छ,' प्रमुख खाँणले भने, 'अहिलेसम्म ३ जनाको कोभिडका कारण मृत्यु भएको छ। हाल २३ जना आइसोलेसनमा छन्।'
एकपटक खाली भएका आइसोलेसन फेरि भरिन थालेका छन्। हालसम्म वालिङमा मात्र एकसय ६९ जना सङ्क्रमितको संख्या पुगेको छ भने एक सय ४३ जना निको भएर घर फर्केका छन्।
जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद घोषणा गरी मानिसहरुको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन्।
नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यहरुमा २५ जनाभन्दा बढी भेला हुन नदिने र कोभिड अस्थायी अस्पतालमा आकस्मिकरुपमा उपचारका लागि औजार तथा उपकरणहरु तत्काल खरीद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भनाइ छ।
चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको संख्या ८४ जना रहेकोमा कात्तिकमा समुदायका ८५ जनामा कोरोना संक्रमण देखिएकोले अझै सङ्क्रमित बढ्न सक्ने भएकाले जोखिम न्यूनिकरणमा सबैले सहयोग गर्न नगरपालिकाले प्रेस बिज्ञप्ति मार्फत आग्रह गरेको छ।