मृत्युको छानबिन माग
इटहरी : नेपाली सेनामा कार्यरत आफ्ना पतिलाई ब्यारेकभित्रै मारिएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाकी एक महिलाले न्याय मागेकी छिन्। न्याय माग्दा प्रहरीले उजुरी नलिएको उनको आरोप छ।
सेनाको २ नं बाहिनी धनकुटामा हुद्दा पदमा कार्यरत सुनसरीको झुम्काका ३८ वर्षीय पर्शुराम भट्टराईको गत जेठ १२ गते विराटनगरस्थित बीएमसी अस्पतालमा मृत्यु भएको थियो। उनलाई जेठ ६ गते नै त्यहाँ ल्याइएको जानकारी बाहिनीका कर्मचारीले परिवारलाई दिएका थिए। तर, गुपचुपमा अपरेसन र पोस्टमार्टम गरिएको श्रीमती कमला बोगटीको आरोप छ।
उनले भनिन्, ‘५ गते लडेर घाइते भएको भन्दै अस्पताल ल्याएको जानकारी ६ गते मात्र पायौं, टाउको फुटेको, आँखामा नीलडाम, हातखुट्टामा चोटपटक देख्यौं।’ अस्वाभाविक चोटपटक हुनु, धनकुटाबाट विराटनगर पुर्याउन्जेल परिवारका कसैलाई जानकारी नदिइनु र अनुसन्धानसमेत नगरिनु शंकास्पद रहेको मृतकका आफन्तको आरोप छ। ‘लडेर मरेको भनेर ब्यारेकले भनेको छ, तर यो हत्या हो, कुटपिट गरी मारेर लडाइएको हो’, कमलाले भनिन्, ‘घटनाको गम्भीर रूपमा छानबिन हुनुपर्छ।’
घटना शंकास्पद रहेको भन्दै उतिखेरै प्रहरीमा जाहेरी दिन खोजे पनि प्रहरीले लिन नमानेको उनको भनाइ छ। सेनाका अधिकारीहरूले विरोध गरे पेन्सनपट्टा नै रोकिने भन्दै डर देखाएको बोगटीले बताइन्। जिल्ला प्रहरी कार्यालय धनकुटाले जाहेरी नलिएपछि गत जेठ १३ गते सरकारी वकिलको कार्यालयमार्फत उजुरी गरिएको थियो।
पछि पूरक उजुरी भने हुलाकबाट पठाएको छ। जसमा बाहिनीपति यामप्रसाद ढकाल, मेजर रामकुमार बस्नेत, पूर्व सुमे तुन्जिङ शेर्पा, बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्कीलगायत १४ जनालाई कसुरदार बनाइएको छ।
असोजदेखि बोगटीले पेन्सन पाउन थालेकी छिन्। ५ वर्षका छोरा र ७ वर्षकी छोरीकी आमा बोगटीलाई आफ्ना श्रीमान् लडेर टाउकोमा घाउ चोट लागेको भन्ने जवाफ अझै चित्त बुझेको छैन। श्रीमान्ले लगाएको सुनको सिक्री अहिलेसम्म फेला नपरेको उनले बताइन्। ‘लडेर मरेको भन्ने कुरा पत्याउनै गाह्रो छ,’ बोगटी भन्छिन्, ‘हर्टअट्याक पनि भएको होइन, ब्यारेकभित्र रक्सी पिउन नपाइने हुँदा मातेर लडेर पनि होइन, कुटेरै मारिएको हो।’
धनकुटा प्रहरी प्रमुख गोविन्द अधिकारीले भने आफू आउनुअघि नै एउटा उजुरी दर्ता भई अनुसन्धान भइरहेको जानकारी दिए। थप उजुरी आवश्यक नरहेको परिवारलाई जानकारी गराएको उनले बताए। ‘नामसहितको जाहेरी बुझाउन खोज्नु भएको रहेछ,’ उनले भने, ‘यो आवश्यक छैन भनेर मैले भनेको हुँ, उहाँहरूले दिनुभएको सूची त्यति विश्वसनीय पनि छैन।’
ब्यारेकले पनि घटनाबारे आफ्नै तरिकाले अनुसन्धान गरिरहेको र ज्यान केस भएकोले सिभिल कोर्टले हेर्ने भएकोले आफूहरूका तर्फबाट अनुसन्धान गरिरहेको अधिकारीले बताए। धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले भने मुद्दा दर्ता गर्न समस्या भएको भन्ने कुरा आफूलाई थाहा नभएको बताउँछन्। ‘घटनाको अनुसन्धान भइरहेको छ, सेनाको कुरा भएकोले प्रक्रिया पुर्याउँदा ढिलो भएको होला’, उनले भने, ‘तर उजुरी दिनै गाह्रो भयो भन्ने कुरा चाहिँ मसम्म आइपुगेको छैन।’
यता नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने भट्टराईको मृत्यु रक्सी खाएपछि लडेर नै भएको आन्तरिक छानबिनको निष्कर्ष रहेको जानकारी दिए। घटना भएको ६ महिनापछि परिवारले शंका गर्नु र बाहिर प्रकाशमा ल्याउनुको कारण आफूले नबुझेको उनले बताए। ‘त्यतिबेलै सकिएको कुरा थियो, अहिले यसरी उठाउनुको कारण बुझ्न सकेको छैन,’ उनले भने, ‘हामीले आन्तरिक छानबिन गरेका छौं, प्रहरीले पनि गरिरहेको छ, उहाँहरूले भनेजस्तो केही देखिँदैन।’