चौरीपालक किसानको संसार नै हिमाली खर्क

चौरीपालक किसानको संसार नै हिमाली खर्क

जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३, तेम्बाथनका जाङ्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । गाउँलेसँग बिरलै भेट हुन्छ । वर्षमा करिब तीन महिना मात्र उनी गाउँलेको सम्पर्कमा हुन्छन् । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने जाङ्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य चौरी र याकसँग मात्र हुन्छ  । 

हरेक वर्षको पुसदेखि कात्तिकसम्मको समय उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौरी पालक किसानसँग मात्र हुने उनी बताउँछन् । आक्कल झुक्कल जंगली जनावरको पनि सामना गर्नुपर्ने जाङ्बु तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने गर्छन् ।

पुस्तौदेखि चौंरी पालन व्यवसाय गर्दै आएका जाङबु मात्र हैन सिन्धुपाल्चोककै पारी गाउँको नामले चिनिने जुगल गाउँ पालिका–३, गुम्बाका दर्जन बढि चौरी पालक किसानको दैनिकी हो यो । उनीहरु अधिकांश समय विकट हिमाली खर्कमा आफ्नो भविष्य खोजिरहेका हुन्छन् । 

सिंगो परिवारको दिनचर्या खर्कमा बित्छ । वर्षमा पाँचभन्दा बढी ठाउँमा चौरीको गोठ मात्र सार्दैनन् आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । 'बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरे, खर्कमै हुर्किएँ, अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ ।' जुगल हिमालको फेदिमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भने, 'चौरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ ।'

खर्कका पुरुष सदस्यहरु रासन सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भएपनि महिला र बालबालिकाको सारा सन्सार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भएपनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् । छ जनामध्ये चारजनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्ष भरी दुःख गरेर दुई साँढे दुई लाख रुपैया आम्दानी हुने बताउँछन् ।

खर्कमा चरिरहेका चौरी।

'आफै बजार पुग्न भ्याइदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ’, पेरोम्जी भन्छन्, 'दुःख धेरै आम्दानी कम भएपनि चित्त बुझाउनु परेको छ ।' पेरोम्जीका पछिल्ला दुई सन्तान आफन्तकोमा बसेर पढ्दै गरेको भएपनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् । 

बाबु आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरुको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उनी चौंरी, खर्क र आफ्नो परिवारको घेरा बाट निस्कन सकेकी छैनन् । 'गाउँ पुग्दा साथीहरुले के के कुरा गर्छन् म त केही बुझ्दिन, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भनिन्, 'बा आमालाई सघाउनु परेकाले गोठमै बस्नुपर्छ गाउँका कुरा के थाहा ?’

तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चौरी पालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमश्रृखलाको वेस क्याम्प पुम्बाशेर्पुसम्म गोठ सार्छन् । सरकारले कृषि क्षेत्रमा बजेट दिन्छ भन्ने गाउँ पुग्दा सुनेपनि आफूहरुले कुनै सहयोग नपाएको मिङ्मार शेर्पा बताउँछिन् । गोठमा चौरी बिरामी भएपनि मान्छे बिरामी भएपनि खर्कमा पाउने जडिबुटी नै उपचारको माध्यम भएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.